close

नगर विकास कोष अब निगम

नगर विकास कोष अब निगम

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले नगर विकास कोषलाई नगर वित्त निगमको रूपमा पुनर्संरचना गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा यस विषयलाई समेटेको छ । 


कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले आफ्नो कार्यकाल सम्हालेलगत्तै कोषलाई निगमको रूपमा पुनर्संरचना गर्ने र त्यसको लागि नगर विकास कोष तयारी अवस्थामा रहेको बताउँदै आएका थिए ।


पालिकाखबरसँग कुरा गर्दै निर्देशक सापकोटाले सरकारको यो निर्णयले देशभरका नगरपालिकामा आफ्नो उपस्थिति बनाउन सहज हुने र नगरको विकासमा समेत महत्त्वपूर्ण योगदान गर्न सकिने बताए ।


२०७८/७९ को बजेट वक्तव्यको बुँदानम्बर ३३८ मा भनिएको छ, ‘नगर विकास कोषलाई नगर वित्त निगमको रूपमा पुनर्संरचना गरी पुँजी वृद्धि गरिनेछ । निगमलाई नगर क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि प्राविधिक सहायता र अनुदान मिश्रित वित्त परिचालन गर्ने संस्थामा विकास गरिनेछ ।’

 

नगरपालिकालाई पूर्वाधारयुक्त र समृद्ध बनाई नगरबासीलाई प्रत्यक्ष रूपमा लाभ हुने खानेपानी, व्यावसायिक भवनजस्ता क्षेत्रमा कोषले ऋण तथा अनुदानमार्फत सहायता गर्दै आएको छ ।