close

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्वपरीक्षण उडानका लागि तयार 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्वपरीक्षण उडानका लागि तयार 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेसन फ्लाइट (पूर्वपरीक्षण उडान) का लागि तयार भएको छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावन मार्ग, टावरलगायत क्षेत्रमा जडान भएका उपकरणले काम गरे-नगरेको भनेर परीक्षण गर्ने विधि हो । 

 

यसका लागि जहाजै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना आईसीबीटुका प्रमुख प्रवीण न्यौपानेले बताए ।  चैत दोस्रो सातामै विमानस्थलको टावर, धावनमार्गलगायत क्षेत्रमा आवश्यक सबै विद्युतीय उपकरण जडान गर्ने काम भएको उनले जानकारी दिए । 


‘क्यालिब्रेसन फ्लाइटलका लागि आवश्यक तयारीमा जुटेका थियौँ तर यहीबीचमा कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै अहिले रोकिएको छ । हामी अहिले पनि निरन्तर क्यालिब्रेसन फ्लाइटका लागि आवश्यक जहाज र विदेशी प्राविधिक कसरी ल्याउन सकिन्छ भन्नेतर्फ प्रयास गरिरहेका छौँ’, उनले भने ।


न्यौपानेका अनुसार विद्यमान अवस्था र अन्तर्राष्ट्रिय उडान सहज हुनेबित्तिकै काम सुरु हुनेछ । जडान भएका उपकरणले काम गरेको या नगरेको, विमानका पाइलटले टावरसँग सम्पर्क गर्दा निर्देशन राम्ररी सुने-नसुनेकोलगायतका कुरा क्यालिब्रेसन फ्लाइटबाट थाहा हुन्छ । 

 

आईसीपीटु को निर्माण जिम्मेवारी पाएको थाइल्यान्डको एरोथाई कम्पनी हो । विमानस्थलमा अहिले कोरोना भाइरस संक्रमणका बीच पनि स्वदेशी र विदेशी गरी १२० कामदारले काम गरिरहेका छन् । उनीहरूलाई कार्यक्षेत्रमै रहने व्यवस्था गरी काम भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले बताए । 

 

विमानस्थल क्षेत्रमा अहिले २० चिनियाँ, १८ भारतीय र ८० बढी नेपाली कामदार एवं प्राविधिक कार्यरत छन् । अधिकारीका अनुसार अहिले टर्मिनल बिल्डिङको प्रस्थान र आगमन कक्षको इन्टेरियर, डेकोरेसन, फर्निसिङ, फल्स सिलिङ, एअर कन्डिसन जडान गर्ने काम भइरहेको छ ।

 

त्यसैगरी गार्डेनिङ, ल्यान्डस्केप, पेन्टिङ, मार्किङका काम भइसकेका छन् । ‘एउटा एक्सरे मेसिनबाहेक विदेशबाट आउनुपर्ने त्यस्तो कुनै महत्त्वपूर्ण उपकरण छैनन्’, उनले भने । धावनमार्गका लाइट, कन्ट्रोल टावर, कन्भेएर बेल्ट मेसिन, ब्यागेज ह्यान्डलिङ सिस्टमलगायतका सबै काम सकिएका छन् । विमानस्थल क्षेत्रभित्रका अन्य पूर्वाधार निर्माण कार्य, विद्युतीकरणलगायत सबै काम सकिएका छन् । तारबार सम्पन्न भएको छ भने पेरीफेरी रोड 


(इनर) निर्माण भएको छ । बाह्य सडक निर्माण भइरहेको छ । आयोजना प्रमुख अधिकारीले बाह्य सडक निर्माणमा अहिले कोरोनाका कारण जनशक्तिको समस्या परेको बताए । 


२०२३ मा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्न चिनियाँकम्पनीको नर्थ वेस्ट सिभिल एभिएसन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैया“मा ग्लोबल टेन्डरबाट आईसीबी जिरो वान प्रोजेक्ट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो । पहिलो चरणको अधिकांश काम सकिएसँगै अहिले दोस्रो चरणको काम चलिरहेको छ ।