close

यस्ताे बन्दै छ भरतपुरकाे सिटी हल (भिडियो खबर)

यस्ताे बन्दै छ भरतपुरकाे सिटी हल (भिडियो खबर)

ADVERTISEMENT

चितवन- देशभर कोरोना भाइरसको संक्रमण बढेसँगै निषेधाज्ञा जारी भएको छ । मानिस घरबाट बाहिर निस्कन पाएका छैनन् । विकास निर्माण अघि बढ्न सकेका छैनन् । कतिपय आयोजना रोकिएका छन् । कामदारमा संक्रमण देखिएपछि कति काम स्थिर छन् । संक्रमणको डर कायमै रहँदा सरकारले पनि निर्माण क्षेत्रमा जारी काम हाललाई रोक्न भनिरहेको छ । तर, निषेधाज्ञाका बीच पनि चितवनमा भने सिटी हलको निर्माण धमाधम भइरहेको छ ।

 

सर्वसाधारण घरभित्रै सीमित हुँदै गर्दा सिटीहलमा कामदार धमाधम काममा जुटेका हुन् । निर्माणाधिन सिटी हलमा दैनिक ६० जनाले काम गरिरहेको छ । निषेधाज्ञाअघि १ सय ५० हाराहारी कामदारले काम गरिरहेका थिए । गत पुस ६ गतेबाट शुरु भएको सिटीहलको हालसम्म १६ प्रतिशत काम सम्पन्न भएको छ ।

 

सिटीहल निर्माण समयमा नै सक्ने लक्ष्यका साथ काम भइरहेको छ । बालुवा, गिट्टी, रड, सिमेन्टजस्ता निर्माण सामग्रीको अभाव छैन भने दैनिक बिहान ७ देखि राति १० बजेसम्म काम हुने गरेकाे छ । भरतपुर महानगरपालिकाले पनि निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यका साथ आवश्यक सम्पूर्ण सहयोग गरिरहेको छ ।

 

भरतपुर महानगरपालिका–१ ठिमुरामा क्रसर स्थापना गरेर सबै समयमा काम गर्नका लागि सहजीकरण गरिएको छ । आयोजना देशकै गौरवको आयोजना भएकाले समयमै सम्पन्न गर्न सबैको साथ र सहयोगको पनि अपेक्षा महानगरले गरेको छ । स्थानीय प्रशासनबाट निर्माणको काममा आवश्यक सहजीकरण गरिएको छ । २७ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी गत वर्षको मङ्सिर १८ गते निर्माण कम्पनी इन्डो सगुन रौताहा जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

 

जिल्ला समन्वयन समितिको भवन पछाडि रहको चार बिघा चार कठ्ठा जग्गामा सरकारको बहुवर्षीय योजना अन्तर्गत सिटीहल निर्माण भइरहेको हो । दुई हजार जना क्षमताको ठूलो सभाहल तथा ३०० जना क्षमताको सानो हलसहित अति विशिष्ट कक्ष निर्माण गरिने छ । मूल्य अभिवृद्धि करबाहेक बोलपत्र रकम रु एक अर्ब छ करोडको रहेकोमा रु ७७ करोड ७७ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ । दुईवटा भर्‍याङ, दुईवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहनेछन् ।

 

मुख्य ब्लक सात हजार वर्गमिटरमा हुनेछ । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुडल्याण्ड, बगैँचा हुनेछ । सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङस्थल रहनेछ । देशकै मध्यभागमा भएकाले सभाहल बनेसँगै यहाँ ठूला कार्यक्रम हुने अपेक्षा गरिएको छ ।