close

कोरोना रोकथाम र उपचारमा अब्बल यी ४० स्थानीय तह, कसले के गरे ?

कोरोना रोकथाम र उपचारमा अब्बल यी ४० स्थानीय तह, कसले के गरे ?

Trulli
ADVERTISEMENT

कोरोना संक्रमणको कहर नभएको भए यतिवेला स्थानीय सरकार आगामी वर्षका लागि नीति तथा कार्यक्रम र बजेट बनाउने तिब्र तयारीमा हुन्थे । तर कोरोना कहरका कारण स्थानीय सरकारको ध्यान यतिवेला महामारीबाट कसरी बच्ने भन्नेमै केन्द्रीत छ । 

 

दोस्रो लहर सुरु भएसँगै गाउँगाउँमा फेलिएको कोरोना नियनत्रणका लागि स्थानीय तहहरु अस्पताल निर्माणदेखि बिरामी बाेकेर स्वास्थ्य संस्था लैजाने काममै मात्र सिमित हुन थालेका छन् । 

 

कोरोना कहर सुरु भएपछि स्थानीय तह यसविरुद्ध कसरी जुट्दैछन् त ? के छ उनीहरुको तयारी ? 


बाजुराका ९ स्थानीय तहमा परीक्षण तिब्र

बाजुराका ९ वटै स्थानीय तहका गाउँ-गाउँमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणका बिरामी रहे पनि पोजेटिभ देखिने डरले स्वास्थ्य संस्था नजाने अवस्था देखिएपछि गाउँ-गाउँ र टोल-टोलमै गएर परीक्षण थालेको छ । 

 

स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तका अनुसार जिल्लाका ९ वटै स्थानीय तहका गाउँ-गाउँमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणका बिरामी रहे पनि पोजेटिभ देखिने डरले स्वास्थ्य संस्था नजाने अवस्था देखिएपछि गाउँ-गाउँ र टोल-टोलमै गएर परीक्षण सुरु भएको छ । 

 

कोरोना परीक्षण गर्दा संक्रमित भएका बिरामीको अवस्था हेरी होम आइसोलेसन, स्थानीय तहका कोभिड अस्पताल र सो ठाउँमा पनि उपचार सम्भव नदेखिए जिल्ला अस्पताल पठाउन सुझाव दिएर टोल-टोलमा स्वास्थ्यकर्मी खटाइएको उनको भनाइ छ । 


तानसेन पुग्यो १४ वटै वडा 

पाल्पाको तानसेन नगरपालिकाले १४ वटै वडाको टोलटोलमा पुगेर बृहत कोरोना परीक्षणलाई तिव्रता दिएको छ । पाल्पा अस्पतालसँगको समन्वयमा घरघरमा पुगेर कोरोना संक्रमित खोज्ने काम भईरहेको छ । 

 

गाउँघरमा परीक्षणको दायरामा नआएका संक्रमितलाई खोजेर सिसिआर परीक्षण गराउने काम तानसेन नगर सरकारले गरेको छ । नगर सरकारका नगरप्रमुख/उपप्रमुख दुबै जना पछिल्लो समय नगर क्षेत्रमा फैलिएको कोरोना परीक्षणलाई न्यूनिकरण गर्न टोलटोलमा पिसिआर परीक्षणको टोली लिएर पुग्ने गरेका छन् ।

 

तानसेन नगर भित्र बढेको कोरोनाको रोकथामको न्यूनिकरणको लागि नगर सरकारलाई बलियो साथ पाल्पा अस्पतालले दिएको छ । पाल्पा अस्पतालले  कोरोना परीक्षण प्रयोगशालाका जनशक्ति सहित पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डे स्वयम स्वास्थ्यकर्मीको टिम नै लिएर गाउँगाउँ जान थालेका छन् ।
 

गाउँघरमा यसरी सुरु गरिएको कोरोनाको तीव्र परीक्षणले तानसेनमा कोरोनाका संक्रिय संक्रमित बढ्नु स्वभाविक हो । सामान्य रुघाखोकी र ज्वरोलाई सामान्य भनि घरमै स्वास्थ्य सावधानी नअपनाई बसेकालाई कमसेकम स्वास्थ्य मापदण्डको दायरमा ल्याउन बृहत टोलटोलमा कोरोना परीक्षणले राहत पुर्याएको छ ।

 

के गर्दैछन् सिन्धुपाल्चोकका १२ पालिका ?
कोरोना रोकथामका लागि सिन्धुपाल्चोकका स्थानीय तह सक्रिय बनेका छन् । कोभिड १९ को दोस्रो भेरियन्ट भयानक रूपमा भित्रिएपछि नागरिक जोगाउन स्थानीय तह लागि परेका हुन् । 

 

सिन्धुपाल्चोकका तीन नगरपालिका र नौ गाउँपालिकाका जनप्रतिनिधि नागरिकको स्वास्थ्य समस्याबारे चिन्ता व्यक्त गर्न थालेका छन् । जनताको मतबाट आफू विजयी भएकाले उनीहरुकै सेवामा लाग्नुपर्ने भन्दै जनप्रतिनिधिले गाउँबासीको स्वास्थ्यबारे चासो लिएका हुन् । 


नागरिक जोगाएपछि मात्रै राजनीति सम्भव हुने भएकाले जनप्रतिनिधि जनताको स्वास्थ्य समस्या बुझ्न टोल टोलमा समेत पुग्छन् । जिल्लाका कुनै स्थानीय तहमा औषधिसहितका डाक्टरलाई जनताको घर आँगनमा जनप्रतिनिधिले पठाएका छन् भने कतै स्वास्थ्य सामग्री र पोषणयुक्त खानेकुरा लिएर संक्रमितकै घरमा जनप्रतिनिधि पुग्ने गरेको पाइएको छ ।


चौतारा साँगाचोकगढी नगरपालिकाले कोरोनाको दोस्रो लहरमा नगरपालिकाका सबै वडामा पुगेर नागरिकको पिसिआर सहित स्वास्थ्य जाँच गर्ने गरेको छ । हालसम्म चौतारा साँगाचोकगढीले करिब तीन हजार पाँच सयको पिसिआर परीक्षण गरिसकेको छ भने संक्रमित भएका व्यक्तिलाई आइसोलेसनसम्म ल्याउन निःशुल्क एम्बुलेन्सको पनि व्यवस्था गरेको छ । 

 

इन्द्रावती गाउँपालिकाले टोलटोलमा पुगेर विरामी खोज्न थालेको छन् । इन्द्रावतीले औषधिसहित डाक्टर लगेर गाउँवासीको स्वास्थ्य जाँच गर्न थालेका हुन् । कोरोना संक्रमति भएकाहरुलाई आवश्यक औषधि दिने, संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गर्ने र अन्य रोगीहरुको समेत घरमै गई स्वास्थ्य जाँच गर्न थालिएको हो । इन्द्रावतीले अक्सिजनसहितको ३० बेडको आइसोलेसन निर्माण गरेको छ । 

 

चीन सँग सीमा जोडिएको भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधि पनि कोभिड नियन्त्रणका लागि जुटेका छन् । भयानक बन्दै गएको कोरोनाका दोस्रो लहरमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले संक्रमित भएकाहरुको घरमै पुगेर स्वास्थ्य अवस्था बुझ्ने गरेका हुन् । उनले दैनिक आवश्यक पर्ने टावेल, टुथपेस्ट, साबुन, मास्क, सेनिटाइजरलगायत सामग्री बोकेर संक्रमितको घरमा पुगेको गाउँपालिकाले जनाएको छ । 

 

भोटेकोशीका ७ स्थानमा आइसोलेसन निर्माण गरिएको छ । गाउँपालिका प्रवेश गर्ने स्थानहरुमा हेल्थ डेस्क राखिएको छ ।

 


स्थानीय तहले संक्रमित भएकाहरुका लागि क्वारेन्टाइन र आसोलेसनको समेत आफैले व्यवस्था गरेको छ । जिल्लाभर हाल दुई सय ११ बेडको आइसोलेसन तयारी अवस्थामा छ । त्यहाँ मापदण्डसहितको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


विभिन्न संघ संस्था तथा व्यक्तिहरुले पनि स्वास्थ्य सामग्री सहयोग गर्ने क्रम पनि बढेको छ । अक्सिजनसहित आसोलेसन निर्माण गरिएको छ । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा अहिले एक सय ६४ वटा अक्सिजन सलिण्डर छन् । ती  मध्ये ९० प्रतिशत मात्रै भरिएको छ । बाँकी सिलिण्डरमा अक्सिजन भर्न बाँकी छ ।

 

 भेन्टिलेटर बाँढ्दै काठमाडौं महानगर 

काठमाडौं महानगरपालिकाले कोरोना महामारीका कारण अभाव खेपिरहेका विभिन्न ९ अस्पताललाई ४५ थान भेन्टिलेटर उपलब्ध गराएको जानकारी दिएको छ । 

 

हानगरले त्रिवि शिक्षण अस्पताललाई १०, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल-कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्रनारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रस्ट काठमाडौं मोडल अस्पताललाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरेको छ ।

 

महानगरले अस्पतालमा अक्सिजन अभावका कारण उत्पन्न असहज अवस्थालाई ध्यानमा राखेर ३०९ बेडको आइसोलेसन र विशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।

 

चाँगुनारायणको अक्सिजन प्लान्ट

भक्तपुरको चाँगुनारायण नगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पतालमा प्लान्ट जडान गरिन लागेको हो । 

 

प्लान्ट जडान गर्न नगरपालिकाले चाँगुनारायण फाउन्डेसनसँग सम्झौता गरेको छ । करिब १ करोड ५७ लाख रुपैयाँ बराबरको लगानीमा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिनेछ । त्यसका लागि फाउन्डेसनले ६० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत रकम बेहोर्ने समझदारी भएको छ । 

 

फाउन्डेसनका अध्यक्ष मणिराज खत्रीले चाँगुनारायण अस्पताललाई व्यवस्थित बनाएर नगरबासीलाई स्वस्थ राख्न यो महामारीमा आ-आफ्नो ठाउँबाट सहयोग गर्ने अभियान थालेर नगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न लागिको उनले बताए ।

 

सिद्धिचरणले पनि भेन्टिलेटर किन्ने 

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले मेयर कप भलिबल प्रतियोगिता गर्न विनियोजन गरेको बजेट कोरोना महामारीमा खेल आयोजना हुन नसकेपछि रकमान्तर गरेर भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको छ । नगरपालिकाले विकासका कामसमेत नहुने अवस्था देखेपछि जिल्लामा १ थान भेन्टिलेटर ल्याउने निर्णय गरेको हो ।

 

मोलुङका जनतालाई भिटामिन

मोलुङ गाउँपालिकाले कोरोना संक्रमितलाई भिटामिनलगायत औषधी घरघरै पुगेर वितरण थालेको छ । होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता बढाउने ओखती वितरण सुरु गरेको हो ।

 

चम्पादेवीले किन्यो एन्टिजेन्ट किट 

चम्पादेवी गाउँपालिकाले पनि एन्टिजेन्न किट खरिद गरेर कोरोना परीक्षण सुरु गरेको छ । कोरोना संक्रमण समुदाय स्तरमा नफैलिँदासम्म चुपचाप बसेका स्थानीय संक्रमित दैनिक बढ्न थालेपछि भने केही तातेका छन् । 

 

ओखलढुंगामा हालसम्म ५६८ जना कोरोनाका सक्रिय संक्रमित छन् भने ३ जनाको मृत्यु भइसकेको छ । जिल्लामा एक सरकारी र एक सामुदायिक अस्पताल छन् । अक्सिजनसहितका शय्या भए पनि भेन्टिलेटरसहितको सेवा भने छैन । 

 

उदाहरणीय हरिवन 

जनताको लागि काम गर्ने जनप्रतिनिधिको उदाहरण बनिरहेको छ, सर्लाहीको हरिवन नगरपालिका ।

 

जनताको दुःख, सुखको सारथि नै स्थानीय सरकारको हो भन्ने भनाइको चरितार्थ गरिरहेको छ, नगरपालिकाले । नगरपालिकाले आफ्नै पहलमा संक्रमितलाई अस्पताल लैजाने र उपचार गराउने गरेको छ ।

 

नगरले अक्सिजनसहित सय बेडको आइसोलेसन निर्माण भएको छ । पालिकाले कोरोना लक्षण देखिएका नगरवासीको स्वाब संकलनलाई प्राथमिकतामा राखेको छ । कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको नगरले जनाएको छ । 

 

गोडैता विकासमा पनि सँगसँगै 

सर्लाहीको गोडैता नगरपालिकाले पनि यस वर्ष कोरोनासँग जुध्दै विकास निर्माण अगाडि बढाइरहेको छ ।

 

चालु आर्थिक वर्षमा विकास निर्माणमा विनियोजित २४ करोड रकममध्ये ९० प्रतिशत खर्च भइसकेका छ । कोभिड नियन्त्रणका लागि पहिलादेखि नै ३५ लाख रकम विनियोजन गरेर रोकथामको प्रयासमा लागेको छ । 

 

नगरले २५ वेडको अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ । यहाँ स्वाब संकलन र कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको छ । गौडेतामा २० जना सक्रिय संक्रमित छन्  । जिल्लाभर भने १ हजार ५८ सक्रिय संक्रमित हालसम्म सक्रिय छन् । 

 

विरामी बोक्न घरघरमै पुग्छ रम्भा

पाल्पाको रम्भा गाउँपालिका वडा नं १ हुँगीमा निर्माण भएको कोभिड अस्पतालमा उपचारत नागकिरलाई हौसला प्रदान जनप्रतिनिधिहरु  व्यस्त हुन्छन् ।

 

गाउँपालिकाले कोरोनाको रोकथाम र नियन्त्रणको लागि १० बेडको अक्सिजनयुक्त आइसोलेसन सञ्चालनमा ल्याएको छ । रम्भा गाउँपालिकाले वडा नं १ हुँगीको जनकल्याण माविको पुरानो भवनमा ५ बेड र रम्भा मावि वडा नं ५ ताँहुमा ५ आइसोलेसन सञ्चालनमा ल्याएको छ ।

 

हुँगी स्वास्थ्य चौकीका डाक्टर पुजन श्रेष्ठको नेतृत्वमा आइसोलेसनमा संक्रमितको उपचार र हेरचाह हुँदै आएको छ । डा . पुजनको नेतृत्वमा होम आइसोलेसनमा बसेका देखि स्वास्थ्य चौकी हुँगी र कोभिड अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्य उपचारमा खटिदै आएका छन् । 

 

जिल्लाका धेरै जसो स्थानीय तहले डाक्टर विना नै कोभिड संक्रमितको उपचार गरिराखेको बखत रम्भाले डाक्टर सहित कोभिड संक्रमितको उपचार र हेरचाह गरिरहेको छ । 

 

रम्भा गाउँपालिकाले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, पिसिआर र एन्टीजेन्ट परीक्षणलाई घरघरमा पुर्‍याएको छ । कोभिड पोजेटिभ भएको तर होम आइसोलेसनमा स्वास्थ्य समस्या नआई बसेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्न रम्भाका स्वास्थ्यकर्मी डाक्टर सहित घरघरमै पुग्ने गरेका छन् ।

 

रम्भा गाउँपालिकाको वडा नं १ सघाँहा, अर्सेदी, साविकको वडा नं ७, वडा नं २ को फोकसीङकोट, पिपलडाँडा, वडा नं ५ को ताँहु बजार लगायतका क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमा तीव्र रूपमा फैलिएको छ । यी ठाउँमा पालिकाले समुदाय स्तरमा परीक्षणको दायरलाई विस्तार गरेको छ ।

 

रम्भाले कोरोना संक्रमणको न्यूनिकरणसँगै सामाजिक उत्तरदायित्वलाई समेत सँगसँगै अघि बढाएको छ । पालिकाले कोरोना संक्रमणका कारण निधन भएका परिवारलाई काजकिरिया खर्चबापत ५० हजार दिने निर्णय गरिसकेको छ । यस्तै संक्रमितलाई आइसोलेसन सेन्टर, अस्पताल र घरसम्मको सहजताको लागि दुईवटा एम्बुलेन्स सहित भाँडामा दुईवटा गाडी लिएर सेवा प्रदान गरेको छ । 

 

वडावडामा पुगेर परीक्षण गर्दै सिरिजंघा

समुदाय स्तरमै कोरोना संक्रमण फैलन थालेको आशंकामा ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले वडा-वडामै पुगेर परीक्षण सुरु गरेको छ । 

 

एन्टिजेन परीक्षणमार्फत वडा तहमै पुगेर कोरोेनाको मिल्दोजुल्दो लक्षण देखिएका र संक्रमितसँग नजिक रहेकाहरूको परीक्षण गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

 

गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ परीक्षण गर्ने स्वास्थ्यकर्मीको टोली लिएर पालिकाभित्रका वडा-वडा पुग्न थालेका हुन् । उनका अनुसार १० जेठको गाउँ कार्यपालिकाको बैठकले एन्टिजेनमार्फत शंकास्पद बिरामीमा परीक्षणको दायरा बढाउने र आवश्यकताअनुसार वडा-वडामै पुगी परीक्षण गर्ने निर्णय लिइएको थियो । 

 

वडामै पुगी परीक्षण गर्दा दुई विषयमा एकसाथ फाइदा पुग्ने गाउँपालिकाको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार पहिलो समुदाय स्तरमै फैलिइसकेको हो भने संख्या पत्ता लगाई नियन्त्रण गर्न सहज हुनेछ ।


टोलटोलमा गल्याङ

कोरोना संक्रमणको उच्च जोखिममा गल्याङ नगरपालिकाको टोली गाउँबस्तीमै पुग्न थालेको छ । गल्याङको बजार क्षेत्रमा कोरोना प्रभाव कम हुँदै गए पनि ग्रामीण भेगमा अझै नियन्त्रणमा नआएपछि नगरपालिकाको टोली गाउँ पुगेको हो ।


 गल्याङ नगरप्रमुख भूपराज अधिकारीको नेतृत्वमा वडा नम्बर ११ जिमुहामा पुगेको टोलीले महामारीको सामना गर्न स्थानीयलाई आग्रह गरेको छ । 

 

कोरोना संक्रमण थप फैलिन नदिन नगरपालिकाको सबै ध्यान केन्द्रित गरेको नगरप्रमुख अधिकारीले बताए । महामारीको सामना गर्न भीड नगर्ने र स्वास्थ्य मापदण्डको पालना गर्नु नै कोरोनाबाट जोगिने उपाय रहेको उनको सुझाव छ ।

 

नगरप्रमुख अधिकारीले समस्या परे नगर अस्पताल वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न नागरिकलाई आग्रह गरे । उनले भने, ‘नगर अस्पतालमा निःशुल्क बेड र अक्सिजन व्यवस्था गरिएको छ । थप उपचार गर्नुपर्ने भए अन्य अस्पताल पठाउने व्यवस्था गरेका छौं ।’


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जिमुहा क्षेत्रबाट संक्रमितलाई गाडीमा लैजाने व्यवस्था गरिएको र सो क्षेत्रमा एन्टिजेन परीक्षणको तयारी भइरहेको जानकारी दिए ।


महाकुलुङमा धमाधम एन्टिजेन्ट परीक्षण

सोलुखुम्बु महाकुलुङ गाउँपालिकाले ७ सय थान एन्टिजेन्ट परीक्षण गर्ने किट खरिद गरेको छ ।  एक सय थान एन्टिजेन्ट परीक्षण गर्ने किट गैरसरकारी सङ्घ÷संस्थाबाट पनि पालिकालाई सहयोग मिलेको छ ।

 

७ सय थान किट र अन्य स्वास्थ्य सामाग्री खरिद गरी पालिकाले कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका सम्पूर्ण नागरिकहरूको पहिचान गरी गाउँगाउँमा गएर एन्टिजेन्ट परीक्षण गरिरहेकोे गाउँपालिकाका अध्यक्ष सागर किराँतले जानकारी दिए ।

 

दूधपोखरीमा निषेधाज्ञा

लमजुङको  दूधपोखरी गाउँपालिकामा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको छ । भौगोलिक विकटता र हिमाली भूभाग भएको यो पालिकामा कोरोना भइरसको उच्च जोखिम बन्दै गएको छ ।

 

कोरोना प्रभाव पालिकामा परेसँगै स्वास्थ्य सामाग्रीको अभाव र विकास निर्माणको सबै काम ठप्प भएको गाउँपालिका उपाध्यक्ष कमल प्रसाद धिताल बताउँछन् । पालिकामा कोरोनाको प्रभाव परेसँगै टेन्डर, केन्द्रीय लाइन निर्माण आदि सबै विकास निर्माणको कामहरू बन्द भएको पनि धितालले जानकारी दिए ।

 

पालिकामा निषेधाज्ञा लगाइएको छ । वडा कार्यालय र पालिकाको कार्यालयबाट दिने अति आवश्यक काम बाहेक सबै सेवा बन्द भएको छ । पहिलो जनसमुदायमा लक्षण नदेखिएको तर हाल वडा नं. १, २ र ३ मा बसोबास गर्ने धेरै नागरिकहरूमा कोरोना भाइरसको लक्षण देखिएको उपाध्यक्ष धिताल बताउँछन् ।


घरमै बस्नुस् भन्छ नरहरिनाथ 

कालिकोटको नरहरिनाथ गाउँपालिकाले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका नागरिकलाई घरमा सुरक्षित बस्न भनिरहेको छ ।  होम आइसोलेसनमा बसेको नागरिकको स्वास्थ्य समस्या भए पालिकाले बनाएको आइसोलेसनमा राख्ने व्यवस्था मिलाएको गाउँपालिकाकी उपाध्यक्ष मनसोभा बुढा बताउँछिन् । 

 

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई उनीहरूको स्वास्थ्य अवस्था बुझ्नको लागि पालिकाले समूह गठन गरी घरघरमा पुग्दै आएको छ ।

 

पालिकामा हालसम्म १ सय जना कोरोनाबाट संक्रमित भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

 

लालझाडीका संक्रमित विद्यालयमा  

कञ्चनपुरको लालझाडी गाउँपालिकामा हालसम्म ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भइसकेको छ ।

 

कोरोना संक्रमण पुष्टि भएका सबै संक्रमितहरुलाई हरेक वडाको विद्यालयमा राख्ने व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष मदन सेन बडायले जानकारी दिए । भौगोलिक बिकटता र बस्ती धेरै पातलो भएको कारण विद्यालयमा संक्रमितहरुलाई राख्ने व्यवस्था मिलाएको अध्यक्ष बडायको भनाई छ । आफ्नो पालिकामा अहिले कोरोनाको उच्च जोखिम नरहेको उनले बताए ।

 

पालिकामा अक्सिजनको अभाव छ । सामान्य अक्सिजनको आपूर्ति गरी सबै स्वास्थ्य संस्थामा एक एक ओटा अक्सिजन सिलिण्डर राखेको पनि अध्यक्ष बडायले जानकारी दिए ।

 

पालिकाले एन्टिजेन्ट परीक्षणबाट कोरोना लक्षण देखिएकाहरुलाई परीक्षण गर्दै आएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाको स्वाब सङ्कलन गरी पीसीआरको लागि धनगढी पठाउने र यसको रिपोर्ट करिब ५ दिनमा आउने गरेको अध्यक्ष बडायले जानकारी दिए ।


ललितपुर महानगरमा निःशुल्क आइसोलेशन 

ललितपुर महानगरपालिकाले कोरोना नियनत्रण र रोकथामका लागि सुनाकोठी र बागडोलमा निःशुल्क आइसोलेशनको सुविधा दिइएको छ । कोरोनाका बिरामीको स्वास्थ्यलाई ध्यानमा राखी महानगरपालिकाका यी दुई स्थानमा निःशुल्क सुविधा दिइएको हो । 

 

ललितपुरमा बस्ने आर्थिक अवस्था कमजोर भएका तथा संयुक्त परिवारमा रहँदा बिरामीका लागि छुट्टै कोठा अनि शौचालयको प्रयोग गर्न सम्भव नभएका मानिसलाई दृष्टिगत गरी सुनाकोठीस्थित पोषण पुनस्र्थापना गृह र बागडोलस्थित ज्यापू समाजको भवनमा विना शुल्क आइसोलेशनको सुविधा दिइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । 

 

२ लाख खोप खरिद गर्दै धरान उपमहानगर

धरान उपमहानगरले आफ्ना नागरिकका लागि कोभिड खोप खरिदको पहल थालेको छ । धरान उपमहानगरभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको हो । 


उपमहानगर प्रमुख तिलक राईका अनुसार पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौं, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगरमा बोधार्थ उल्लेख गरिएको छ । 


कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै प्रमुख राईले १८ वर्षमाथिका १ लाख नागरिकलाई उपमहानगरको आफ्नै स्रोतबाट खोप लगाउने योजना बनाएको राईले बताए । 
१ लाख नागरिकको पहिलो र दोस्रो मात्राको खोप लगाउन २ लाख मात्रा खोप धरानमा आवश्यक पर्ने हुँदा प्रमुख राईले स्वीकृति प्रदान गर्न माग गरिएको उल्लेख गरे । 


धरानमा रहेका सरकारी कर्मचारी तथा ज्येष्ठ नागरिकले भने खोप लगाइसकेका छन् । धरानमा कोरोनाको दोस्रो भेरियन्ट आएयता १६८६ जनामा संक्रमण देखिएको छ । 


हलेसीले जुटायो ६४ थान अक्सिजन सिलिण्डर

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आइसोलेसन सेन्टरमा ६४ थान अक्सिजन सिलिण्डर जुटाएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थान हलेसीस्थित रोयल होटलमा निर्माण गरिएको ३२ बेडको आइसोलेसन सेन्टरमा १० लिटर, १२ लिटर र ४७ लिटरको ६४ थान अक्सिजन सिलिण्डर व्यवस्था गरिएको हो । 

 

कोभिड-१९ को संक्रमण भएपछि आइसोलेसनमा आइपुगेका र अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई दिनेगरी अक्सिजन जुटाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । नगरपालिकामा १७ थान मौजुदा अक्सिजन सिलिण्डर रहेकामा थप ४७ थान अक्सिजन सिलिण्डर जुटाइएको हो । 


हाम्रो अक्सिजन ग्यास उद्योग प्रालि ककनी नुवाकोटबाट १२ लिटरको ३२ थान र नवज्योति अक्सिजन उद्योग प्रालि पनौति काभ्रेबाट १२ लिटरको १० थान अक्सिजन व्यवस्था गरिएको हो । अक्सिजन उद्योगमा डिपोजिट गरेर सिलिण्डर फिर्ता गर्नेगरी अक्सिजन ल्याइएको नगरपालिकाले जनाएको छ । 
    
बर्दिबासका घरघरमा स्वास्थ्यकर्मी 

महोत्तरीको बर्दिबास नगरपालिकाले जिल्ला मै पहिलो इमरजेन्सी कोभिड अस्पतालको स्थापना गरेको छ ।  कोरोना रोकथाम तथा नियन्त्रणका लागी बर्दिवास नगरपालिकाले बनाएका संयन्त्र मध्ये घर-घरमा स्वास्थ्यकर्मीको परिचालनलाई निक्कै नै सकारात्मक ढङ्गले चर्चा परिचर्चा हुन थालेको छ ।

 

गाउँभरी कोरोनासग मिल्दोजुल्दो लक्षण देखिएको र स्थानीयले त्यसलाई लुकाएर हिडिरहेको जनगुनासो तीव्र रूपमा बढीरहेको बेला स्वास्थ्यकर्मीलाई घर-घरमा नै परिचालन गरी चेकजाँच गर्ने गरेको छ ।

 

स्वास्थ्यकर्मीले गाउँ-गाउँमा पुगेर संक्रमितको अवस्था, सर्वसाधारणको स्वास्थ्य अवस्था र प्रत्यक्ष रूपमा ज्वरो नापेर त्यसको तथ्याङ्क संकलन गरेर नगरपालिकालाई बुझाउने गरेका छन् । नगरपालिकाले आवश्यक परे तत्काल स्वास्थ्यकर्मी खटाइ घर-घरमा नै पुगेर स्वाव संकलन गर्ने ब्यवस्था मिलाएको छ ।

 

स्वास्थ्यकर्मीहरुले टोल-टोलमा पुगेर संक्रमितलाई आवश्यक औषधि प्रदान गर्नेदेखि ज्वरो आएका बिरामीको तथ्याङ्क संकलन तथा जनचेतना जगाउने काममा ब्यस्त छन् । घर-घरमा पसेर जनचेतना दिने देखि संक्रमितको अवस्थाबारे जानकारी लिनु र सम्भावित बिरामीको ज्वरो नाप्ने जस्ता कार्य स्वयमका लागी निक्कै जोखिम हुदाहुदै पनि पेशागत जिम्मेवारी निर्वाह गर्न पाउँदा स्वास्थ्यकर्मी खुसी छन् । 

 

कोरोना रोकथाम तथा नियन्त्रणका लागी संघ-संस्थाले पनि सक्रिय भूमिका निर्वाह गरेका छन् । कोरोना रोकथाम तथा समस्यामा परेकाको सहयोग गर्न नागरिकले नै कोभिड व्यवस्थापन समिति देखि फुड बैंकको स्थापना गरेर समस्यामा परेकालाई सहयोग गर्दै आएका छन् ।