close

भक्तपुरका संक्रमित होम आइसोलेसनमा, पालिकाका आइसोलेसन रित्तिए (भिडियो खबर)

भक्तपुरका संक्रमित होम आइसोलेसनमा, पालिकाका आइसोलेसन रित्तिए (भिडियो खबर)

ADVERTISEMENT

भक्तपुर- कोरोनाबाट बच्ने एउटा उपाय हो घरभित्रै बस्ने अर्थात् सरकारले जारी गरेको निषेधाज्ञा पूर्ण रुपमा पालना गर्ने । तर, अत्यावश्यक काम गर्दा या त केही कारणले संक्रमित भइहालेमा त्यसको उपचार के ? पक्कै पनि आइसोलेसन अर्थात् एकान्त बास बस्ने नै हो ।

 

पछिल्लो समय संस्थागत आइसोलेसनमा र होम आइसोलेसनमा संक्रमित बसिरहेका छन् । अस्पतालमा शय्या अभाव भइरहँदा अप्ठ्यारो नपरेका संक्रमित घरमै बसेर संक्रमण मुक्त हुने गरेका छन् । 

 

स्थानीय सरकारले घरमा बस्न असहज हुने संक्रमितका लागि आइसोलेसन पनि बनाएका छन् । तर, संक्रमित भने होम आइसोलेसनलाई नै पहिलो प्राथमिकता दिइरहेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि मूलुकभरका स्थानीय तहले आआफ्नै ढंगले उत्कृष्ट कार्य गर्दै आइरहेका छन् । 

 

संक्रमण रोक्न मात्रै होइन संक्रमितको उपचार गर्नका लागि पनि स्थानीय तह आफैले आइसोलेसन निर्माण देखि अस्पताल निर्माणको लागि समेत गर्दै आएका छन् । जति सक्दो धेरै क्षमताको आइसोलेसन निर्माण गरी जनताको सेवामा स्थानीय तह जुटेका छन् । तर ती आइसोलेसनमा सोचे जस्तै संक्रमित जान सकेका छैनन् । 

 

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लाका कुल संक्रमितमध्ये ९५ प्रतिशत होम आइसोलेसनमै बसेर उपचार गर्दै आएका छन् । ती बाहेक बाँकी ५ प्रतिशत मात्रै पालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्रमा बस्दै आएका छन् ।

 

भक्तपुरका चार स्थानीय तह रहेको भत्तपुरमा सूर्यविनायक नगरपालिका बाहेक भक्तपुरले २५ एचडियु सहित ७५ शय्या, चाँगुनारायण ५० शय्या र मध्यपुर थिमि नगरपालिको ५० शय्या क्षमताको आइसोलेसन सहित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा संक्रमितको उपचार समेत गर्दै आइरहेको छ । तर केही दिनयता संक्रमित दर घटेसँगै अस्पतालमा विरामी पनि घटेका छन् । 

 

संक्रमितको अवस्था अनुसार होम आइसोलेसन, आइसोलेसन या अस्पतालमा राखेर उपचार गर्ने गरेका छन् पालिकाहरुले । घरमा शौचालय, कोठा र अवस्था सामान्य भएमा संक्रमित होम आइसोलेसन र सो सुविधा नभएमा आइसोललेसनमा बस्दै आएको पाइन्छ । सूर्यविनायक नगरपालिकामा पनि आइसोलेसन सञ्चालनमा आएको छ ।

 

नगर अस्पातल निर्माणलाई तीव्रता दिएको पालिकाले केही दिनमा अस्पतालमा सञ्चालन गर्ने बताउँदै आएको छ । त्यसको लागि आवश्यक पूर्वाधार तयारी भइरहेको छ । करिव २९ सय जना संक्रमित भएको पालिकामा हाल १५ सय संक्रिय संक्रमित छन् । त्यस मध्ये अधिकांश होम आइसोलेसनमा बस्दै आएका छन् भने गम्भीर अवस्था भएकालाई भक्तपुर अस्पतालमा उपचारको लागि पठाउने गरिएको छ । 

 

कोरोना संक्रमितको लागि भक्तपुरको स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा दिँदै आइरहेक छन् । संक्रमितलाई आइसोलेसन, अस्पताल र घरमा लैजानु परेमा पालिकाले सञ्चालन गरेको एम्बुलेन्सले ओसारप्रसार गर्दै आइरहेको छ ।