close

हलेसीको आइसोलेसन सेन्टरमा जुट्यो ६४ थान अक्सिजन सिलिन्डर

हलेसीको आइसोलेसन सेन्टरमा जुट्यो ६४ थान अक्सिजन सिलिन्डर

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आइसोलेसन सेन्टरमा ६४ थान अक्सिजन सिलिन्डर जुटाएको छ । 

 

नगरपालिकाको वडा नम्बर ७ महादेवस्थान हलेसीस्थित रोयल होटलमा निर्माण गरिएको ३२ बेडको आइसोलेसन सेन्टरमा १० लिटर, १२ लिटर र ४७ लिटरका ६४ थान अक्सिजन सिलिन्डर व्यवस्था गरिएको हो ।

 

कोभिड-१९ संक्रमण भएपछि आइसोलेसनमा आइपुगेका र अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई दिने गरी अक्सिजन जुटाइएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले बताए । 

 

नगरपालिकामा १७ थान मौजुदा अक्सिजन सिलिन्डर रहेकामा थप ४७ थान अक्सिजन सिलिन्डर जुटाइएको हो । 

 

हाम्रो अक्सिजन ग्यास उद्योग प्रालि ककनी नुवाकोटबाट १२ लिटरका ३२ थान र नवज्योति अक्सिजन उद्योग प्रालि पनौती काभ्रेबाट १२ लिटरका १० थान अक्सिजन व्यवस्था गरिएको हो । अक्सिजन उद्योगमा डिपोजिट गरेर सिलिन्डर फिर्ता गर्ने गरी अक्सिजन ल्याइएको नगरपालिकाले जनाएको छ । 

 

अक्सिजन भरेको शुल्क मात्र तिर्ने गरी अक्सिजन सिलिन्डर ल्याइएको नगरप्रमुख राईले जानकारी दिए ।


‘अक्सिजनका सिलिन्डर रित्तिएपछि फिर्ता गर्ने गरी उद्योगमा डिपोजिट गरेर अक्सिजन ल्याइएको हो,’ नगरप्रमुख राईले भने, ‘रित्ता सिलिन्डर बुझाएपछि हाम्रो डिपोजिट फिर्ता हुन्छ । निश्चित डिपोजिट गरेर अक्सिजन ल्याउँदा नगरपालिकालाई आर्थिक भार पनि कम पर्दो रहेछ ।’ 

 

जुटाइएकामध्ये १० लिटरको ५ थान सिलिन्डर भने व्यवसायी कुमार खरेलबाट प्राप्त भएको नगरपालिकाले जनाएको छ । खरेलले ५ हजार पिस मास्क पनि नगरपालिकालाई उपलब्ध गराएका छन् ।