close

खोटाङमा कोरोनाविरुद्धका स्वास्थ्य सामग्री जुट्ने क्रम जारी 

खोटाङमा कोरोनाविरुद्धका स्वास्थ्य सामग्री जुट्ने क्रम जारी 

Trulli
ADVERTISEMENT

खोटाङ- कोभिड–१९ को महामारी नियन्त्रणका लागि खोटाङमा आवश्यक स्वास्थ्य सामग्री जुट्ने क्रम जारी छ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार र कतिपय व्यक्तिगत सहयोगमा स्वास्थ्य कार्यालय खोटाङलाई स्वास्थ्य सामग्री जुटिरहेको हो ।

 

स्वास्थ्य कार्यालयको माग एवं जिल्लाका जनप्रतिनिधि तथा दलका नेताको पहलमा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई गाउन, मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री भित्रिने क्रम जारी छ । 

 

मंगलबार मात्र प्रदेश १ का सामाजिक विकासमन्त्री उषाकला राईमार्फत ठूलो मात्राको स्वास्थ्य सामग्री जिल्ला आइपुगेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरबाट ५० लिटरको १५ पिस अक्सिजन सिलिन्डर, ४ थान अक्सिजन कन्सन्ट्रेटर, ४ थान अक्सिमिटर, १० हजार सेट एन्टिजेन किट, २० पिस इन्फ्रारेड थर्मोमिटर, ३२० सेट गाउन, १ हजार ६ सय पिस सर्जिकल मास्क, ५ सय एमएलको ५४ पिस हेन्ड स्यानिटाइजर, २५० पिस एन९५ मास्कलगायत स्वास्थ्य सामग्री जिल्ला ल्याइएको हो ।

 

स्वास्थ्य सामग्री लिएर आएकी सामाजिक विकासमन्त्री राईले मंगलबार स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई सरोकारवालाको उपस्थितिमा हस्तान्तरण गरिन् । मन्त्री राईले विराटनगरबाट गत ३० वैशाखमा पनि स्वास्थ्य सामग्री पठाएकी थिइन् । 


यस्तै, ११ जेठमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत ४ सय थान पिपिई गाउन, ४ सय थान एन९५ मास्क, २० लिटर स्यानिटाइजर, ४ हजार थान सर्जिकल मास्क, १ हजार सेट एन्टिजेन किट, ४० लिटरको १५ पिस अक्सिजन सिलिन्डर र २ सय पिस भिटिएम ल्याइएको थियो ।

 

प्रतिनिधिसभा सदस्य भट्टराई काठमाडौंबाट गत ३० वैशाखमा पनि स्वास्थ्य सामग्री लिएर आएका थिए । 

 

व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री प्रदान 

गत १० जेठमा हवाई क्याप्टेन सुवास रिजालले पनि स्वास्थ्य कार्यालय खोटाङलाई ५० हजार १०० बराबरको स्वास्थ्य सामग्री प्रदान गरे । खोटेहाङ गाउँपालिकाको सावाकटहरे मावली घर र विराटनगर घर भएका क्याप्टेन रिजालले स्वास्थ्य कार्यालयलाई १० थान पल्स अक्सिमिटर, १५० ग्रामको १५० थान सेनीटाइजर, ५ सय ग्रामको २ थान स्यानिटाइजर, १० थान थर्मोमिटर र थ्री लेयरको २ हजार ५ सय थान सर्जिकल मास्क प्रदान गरेका हुन् ।

 

यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा कार्यरत मेडिकल अधिकृत डा. जितेन्द्रप्रसाद साहले जन्तेढुंगा गाउँपालिकालाई ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

 

कोभिड–१९ को महामारीविरुद्ध स्वास्थ्यकर्मीका रूपमा गाउँपालिकासँग कार्यरत मेडिकल अधिकृत साहले ४ जेठमा गाउँपालिकालाई १० थान पिपिई सेट, १० थान फेससिल्ड, २ सय थान एन९५ मास्क, ५ सय थान सर्जिकल मास्क र १० थान सुज कभर प्रदान गरेका थिए ।