close

कोरोना संक्रमितले दूध बेचेको सुइँकोले पत्ता लाग्याे उद्याेगीकाे बदमासी

कोरोना संक्रमितले दूध बेचेको सुइँकोले पत्ता लाग्याे उद्याेगीकाे बदमासी

Trulli
ADVERTISEMENT

भक्तपुर- संक्रमितलाई दूध बिक्री गर्दा कोरोना फैलिएको गुनासोपछि भक्तपुर नगरपालिका अनुगमनमा निस्किएको छ । नगरपालिकाका अनुसार संक्रमित व्यक्तिले दूध बेच्दा संक्रमण महामारी फैलिएको गुनासो आएपछि औद्योगिक क्षेत्रको ४ वटा पसल अनुगमन गरिएको हो ।


भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नम्बर ३ नम्बरका वडाध्यक्ष राजकृष्ण गोराका अनुसार कोरोना पोजिटिभ भएकाहरुले पनि दूध वितरण गर्दै हिँडेको गुनासो आएका डेरीमा अनुगमन गरेको हो ।

 

अनुगमन टोलीले कामदार र वितरकलाई पिसिआर परीक्षण गराई स्वस्थ व्यक्तिलाई मात्र काममा लगाउन, दहीमा लेबल नभएकाले लेबल राखेर मात्र बिक्री वितरण गर्न र नगरपालिकामा दर्ता प्रमाणपत्र, बिलबिजक नदेखाएकाले उक्त कागजात लिएर ३ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

 

शिवम् डेरी प्रालि, भक्तपुर डेरी प्रालि, सञ्जीवनी डेरी उद्योग र जगदम्बा डेरी एन्ड वेभरेज प्रालिमा अनुगमन गरिएको उनले जानकारी दिए ।


अनुगमनमा शिवम् डेरी प्रालिमा दूधमा ल्याक्टो बढाउन मिसाउने दूधको पाउडरमा मुसाको लिँड भएको, बरफ बनाउने भाँडा र पानी ट्यांकीको पानीभित्र पनि प्रशस्त मात्रामा मुसाको लिँड भेटिएकाले सरसफाइमा ध्यान दिन र म्याद नाघेको कलर फुड १५ बट्टा, चोको पाउडर १ प्याकेट, मुसाको लिँड भएको दूधको पाउडर १ बोरा बरामद गरी नष्ट गरिएको छ ।

 

अनुगमनमा भक्तपुर नगरपालिका स्यानिटेसनका वडा निरीक्षक रामकृष्ण प्रजापति, कर उपशाखाका अर्जुन खाइतु, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक प्रेमराज महरा, उद्योग वाणिज्य संघका विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग संघका प्रेमकृष्ण खर्बुजा सहभागी थिए ।