close

दाताको सहयोगमा जुम्लामा भित्रियो अक्सिजन सिलिन्डर

दाताको सहयोगमा जुम्लामा भित्रियो अक्सिजन सिलिन्डर

Trulli
ADVERTISEMENT

जुम्ला- वर्ल्डभिजन र किडार्क नेपाल जुम्लाले अक्सिजनसहितको स्वास्थ्य सामग्री जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई उपलब्ध गराएका छन् । 

 

जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निर्णयअनुसार राहत तथा स्वास्थ्य सामग्री एकद्वार प्रणालीमार्फत वितरण गर्ने भनिएपछि वर्ल्डभिजन र किडार्क जुम्लाले उक्त सामग्री प्रदान गरेका हुन् ।


वर्ल्डभिजन र किडार्क नेपाल जुम्लाको साझेदारीमा सञ्चालित नेपाल कभर परियोजना चरण २ अन्तर्गत कोभिड १९ व्यवस्थापनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको किडार्क जुम्लाका संयोजक रेशम शाहीले बताए । 


उनले भने, ‘४६ लिटरको अक्सिजन सिलिन्डर ७० थान, पल्स अक्सिमिटर ७० थान, थर्मल गन ७० थान, पिपिई सेट ७० थान, स्यानिटाइजर, सर्जिकल माक्स, एन९५ मास्क, ह्यान्डवाससहित २२ लाख ६४ हजार ७२८ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको हो । 


जिल्ला कोभिड संकट व्यवस्थापन समितिको अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार जिल्लामा एकद्वार प्रणालीमार्फत स्वास्थ्य सामग्री वितरण गर्ने गरी दाताबाट सहयोग आइरहेको छ ।


उनले भने, ‘कोरोना माहामारीमा अक्सिजन सिलिन्डरसहित अन्य स्वास्थ्य सामग्री वर्ल्डभिजन र किडार्क जुम्लाको सहयोगमा प्राप्त भएको छ । यसलाई आवश्यकताका आधारमा स्थानीय तह र अस्पतालमा पठाइनेछ ।’


जुम्लामा कोरोना संक्रमितको संख्या ४२८ पुगेको छ भने १८९ जना निको भएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले पिसिआर, एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दै आएको छ । 

 

रेडक्रसको स्वास्थ्य सामग्री सहयोग
नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाले कोरोना माहामारी रोकथाम तथा नियन्त्रण गर्न आवश्यक स्वास्थ्य सामग्री जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई प्रदान गरेको छ । जिल्ला कोडिभ संकट व्यवस्थापन समितिको निर्णयअनुसार एकद्ववार प्रणालीमा स्वास्थ्य सामग्री वितरण गर्ने भएपछि रेडक्रसले समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । 


नेपाल रेडक्रमले १ वर्षदेखि कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिका लक्षित गरी कोभिड पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो स्वास्थ्य सामग्री नेपाल रेडक्रसलाई चीन रेडक्रसबाट सहयोग भएको हो । 


सर्जिकल मास्क २६ हजार थान, एन९५ मास्क ८५० वटा, पिपिई सेट २० लगायते स्वास्थ्य सामग्री जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको रेडक्रस शाखा जुम्लाले जनाएको छ । 


यस्तै, सर्जिकल मास्क १०००० थान, पिपिई सेट २० र बाँकी स्वास्थ्य सामग्री नेपाल रेडक्रस सोसाइटी जुम्लाले यहाँका उपशाखामार्फत स्थानीय तहका प्रतिनिधिको उपस्थितिमा समुदाय स्तरमा वितरण गरिनेछ । रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले विभिन्न स्थानमा सञ्चालन भइरहेका क्वारेन्टाइनको सहयोगका लागि १०० परिवारलाई पुग्ने गैरखाद्य सामग्रीसमेत केन्द्रीय कार्यालयसँग माग गरिएको रेडक्रस जुम्ला मन्त्री इन्द्र राज डाँगीले बताए ।