close

वैकल्पिक विधिबाट विद्यार्थी पढाउँदै डुङ्गेश्वर (भिडियो खबर)

वैकल्पिक विधिबाट विद्यार्थी पढाउँदै डुङ्गेश्वर (भिडियो खबर)

ADVERTISEMENT

दैलेख- कोरोना भाइरसको महामारी सुरु भएसँगै सरकारले वैशाखमा देशभरका विद्यालय बन्द गर्ने निर्णय गर्‍यो । विद्यालय बन्द भएसँगै सम्पूर्ण पढाइलाई वैकल्पिक सिकाइको माध्यमबाट अघि बढाउने गरी शिक्षा मन्त्रालयले देशभरका विद्यालयलाई पत्राचार गर्‍यो । सोही अनुसार विद्यार्थी अनलाईनबाट अहिले कक्षा लिइरहेका छन् । तर, कतिपय विद्यार्थी अझै पनि अनलाइन माध्यमको कक्षा सिकाइमा अब्बल देखिँदैनन् ।

 

यस्तो बाध्यतालाई निरुपण गर्न विद्यार्थीलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने कुरालाई ध्यान दिँदै दैलेखको डुङ्गेश्वर गाउँपालिकाले शिक्षा प्रतिकार्य योजना निर्माण गरेर पालिकाका सबै विद्यालयमा लागु गरेको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिकाको सीता जनसहयोग माध्यमिक विद्यालय अहिले सुनसान छ ।

 

कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले विद्यालय बन्दको घोषणा गरेको भएपनि यहाँका शिक्षक भने घरमै बसेका विद्यार्थीलाई सिकाइ निरन्तरता कसरी गर्ने भन्ने अभियानमा देखिन्छन् । गाउँमा अभिभावक समूह निर्माण गरिएको छ । विद्यार्थी र अभिभावकलाई विषयगत शिक्षकको नम्बर प्रदान गरिएको छ ।

 

विद्यार्थीले समेत फोन गरेर नजानेको कुरा सोध्ने गरेका छन् । यति मात्र होइन कोभिड लगायत अन्य महामारीबाट कसरी जोगिने र सिकाइलाई निरन्तरता कसरी प्रदान गर्ने भन्ने विषयमा पालिकाले प्रतिकार्य योजना निर्माण गरेर कार्यान्वयन सुरु गरेको विद्यालयका प्रधानाध्यापकको भनाइ छ ।

 

पालिकाले अहिले घरमा बसेका विद्यार्थीका लागि सीयूजी सेवा समेत सञ्चालनको तयारी थालेको छ । यसले विद्यार्थीलाई सुरक्षित र घरमै बसेर सहज पढ्न सकिने वातावरण तयार गरेको छ । महामारीका कारण विद्यार्थीमा मनोवैज्ञानिक रूपमा असर परिरहेको छ ।

 

खुला स्थानमा, कक्षामा बसेर पढ्नुको सट्टा घर भित्र थुनिएको अनुभव गर्दै अध्ययन गर्नुपर्ने बाध्यता छ । यो विषयलाई मध्यनजर गर्दै डुङ्गेश्वर गाउँपालिकाभित्र रहेका २९ वटा विद्यालयका ४ हजार ६ सय विद्यार्थीलाई अहिले पालिकाले रकम नै विनियोजन गरेर पढाइरहेको छ ।

 

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, पालिका र विद्यालयको संयुक्त प्रयासमा गरिएको यो कार्यले बालबालिकाको सिकाई अभिवृद्धि हुनुको साथै वैकल्पिक विधिबाट पढाई निरन्तरता कार्य प्रभावकारी बन्दै गएको छ ।