close

विस्थापित एकल महिलालाई गाउँपालिकाले गर्‍यो सहयोग 

विस्थापित एकल महिलालाई गाउँपालिकाले गर्‍यो सहयोग 

Trulli
ADVERTISEMENT

 

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वर्षाका कारण घर चर्किएपछि विस्थापित एकल महिलालाई आर्थिक सहयोग गरेको छ ।

 

गत ४ देखि ७ असोजसम्म परेको अविरल वर्षाका कारण घर चर्किएर बस्नै नहुने भएपछि विस्थापित भएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका– ३ छोरम्बुकी एकल महिला दहलकुमारी राईलाई आर्थिक सहयोग गरेको हो । 

 

घर चर्किएर बस्नै नमिल्नेगरी कोल्टिएपछि हाल देवरको घरमा बसिरहेकी राईलाई गाउँपालिकाले राहत स्वरूप ३० हजार रुपैयाँ प्रदान गरेको छ । विस्थापित एकल महिलालाई गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बिहीबार घरैमा पुगेर राहत रकम हस्तान्तरण गरेका छन् । श्रीमानको मृत्यु भइसकेको र भएकी एक्ली छोरीको विवाह भएपछि दहलकुमारी एक्लै बस्दै आएकी छन् । 

 

वर्षाका कारण जमिन गलेर भासिँदा दहलकुमारीको घरको बीच भागबाट एक बित्ता फाटेको छ । जमिन भासिएका कारण घरको थाम बाङ्गिनुका साथै घर कोल्टिएको छ ।

 

‘घरको पर्खाल करिब एक बित्ता फाटेको छ, फर्किएर त्यही घरमा बस्न सकिने अवस्था छैन’, गाउँपालिका अध्यक्ष राईले भने, ‘अलिक वर्षा भए जुनसुकै बेला घर ढल्ने खतरा छ । अस्थायी आवास व्यवस्थापनका लागि सहयोग गरिएको हो ।’ 

 

एकल महिलालाई राहत वितरणका लागि प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल, वडा अध्यक्ष इन्द्रबहादुर बस्नेत, कार्यपालिका सदस्य सीता राई, वडा सदस्य तुलसीकुमार राईलगायत पुगेका थिए ।