close

कोरोना नियन्त्रण गर्न तानसेनले बढायो सक्रियता (भिडियो खबर)

कोरोना नियन्त्रण गर्न तानसेनले बढायो सक्रियता (भिडियो खबर)

ADVERTISEMENT

पाल्पा- पाल्पाको तानसेन नगरपालिका पुरानो नगरपालिका मध्येको एक हो । जिल्ला सदरमुकाम तानसेनमा रहेको यो नगरपालिका काठमाडौँ बाहिरको जेठो नगरपालिका हो । काठमाण्डौं, भक्तपुर र ललितपुरपछि मोफसलमा बनेका नगरपालिकाबीच तानसेनले छुट्टै शाख र पहिचान बनाएको छ । तानसेन नगर सरकारले कोरोना महामारीका यो बेला पनि आफ्नो शाख स्थापित गरेको छ । कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको स्वास्थ्य उपचारको लागि नगरले आफ्नो सबै शक्ति महामारीको यो बेला परिचालन गरेको छ । 

 

विश्वव्यापी कोरोना महामारी र देशभर तीब्र गतिमा फैलिएको दोस्रो लहरको संक्रमणबाट पाल्पाको तानसेन नगरपालिका पनि अछुतो रहेन । संक्रमण रोकथामको प्रयास गर्दागर्दै पनि नगरभित्र हालसम्म कोरोनाले ३९ जनाको ज्यान गएको छ । मानवीय क्षति र अप्ठ्याराहरु कम गर्न तानसेन नगरपालिकाले सम्भव भएसम्मका सबैखाले उपायहरु अवलम्बन गरिरहेको छ । नगरले कोरोनाको दोस्रो भेरियन्ट देखिन साथ यसको रोकथाम,न्यूनीकरण र सचेतनाका लागि १४ वटै वडामा वडा स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समिति बनाएर समुदाय स्तरमा कोरोना रोकथाममा जुटेको थियो ।

 

नगरबासीको सुरक्षाका लागि तानसेनको वडा नम्बर १४ अर्गलीको त्रिभुवन माविमा १० शय्याकोे आइसोलेसन सेन्टर निर्माण गरिएको छ । त्यस्तै बढ्दो कोरोनाको संक्रमण र संक्रमितको स्वास्थ्य उपचारका लागि त्रिभुवन बहुमुखी क्याम्पसको अयोध्याप्रसाद प्रधान स्मृति भवनमा पालिकाले १० शय्याको अक्सिजनयुक्त आइसोलेसन सेन्टर सञ्चालनमा ल्यायो । जहाँ डाक्टर झपेन्द्र ढकालसहितको दक्ष स्वास्थ्यकर्मीको टोलिद्वारा २४ सै घण्टा कोभिड संक्रमित विरामीको स्वास्थ्य उपचार हुँदै आएको छ । 


 

जिल्लाका धेरै जसो कोभिड अस्पतालमा चिकित्सकको निगरानीमा बिरामीले स्वास्थ्य उपचार नपाईरहेको बखत तानसेनले डाक्टरसहित नर्स र अन्य स्वास्थ्यकर्मीबाट निरन्तर उपचार सेवा प्रदान गरिरहेको छ । स्वास्थ्यकर्मीलाई संक्रमितको उपचारमा हौसला प्रदान गर्न तलबको सतप्रशित भत्ता, दैनिक दुई हजार भत्ता र खाना खाजाको निशुल्क व्यवस्था गरिएको छ । आइसोलेसनमा अहिले सम्म १७ जना भन्दा बढीले उपचार सेवा लिइसकेका छन् । नगर सरकारले निकट भविष्यमा देखापर्न सक्ने कोरोनाको नयाँ भेरियन्ट वा लहरलाई मध्यनजर गरि स्थायी आइसोलेसन सेन्टर निर्माणको लागि आफ्नै भवन बनाउने तयारी समेत सुरु गरेको छ । 


 

समुदाय स्तरमा बढ्दो कोरोनाको संक्रमणलाई न्यूनिकरण गर्न नगरले टोलटोलमा पुगेर कोरोना परीक्षण गर्दै आएको छ । जिल्ला अस्पतालको सहकार्यमा नगरपालिकाले रुघाखोकी, ज्वरो लगायतको लक्षण देखिएका नगरबासीको स्वास्थ्यलाई ध्यानमा राखि गाउँगाउँमा सुरु गरिएको परिक्षणले नगरबासीमा आत्मविश्वास बढेको छ । समुदायस्तरमा फैलिसकेको कोरोनालाई कन्ट्याक्ट ट्रेसिङ गरेर पालिकाले परीक्षणको दायरा बढाएको छ । अहिलेसम्म विभिन्न वडा र टोलमा गरी निशुल्क एक हजार भन्दा बढी स्थानीय नागरिकले कोरोना परीक्षण गराएका छन् । 



यता, नगरपालिका र चीनको लाशान नगरपालिकाबीच कायम भएको भगिनी सम्बन्धका कारण खोप खरिदको प्रक्रियामा अनुमति प्रदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालायसँग पालिकाले अनुमति माग गरेको छ । स्वास्थय मन्त्रालयले भने पालिकाहरुलाई अनुमति दिन नसक्ने बताउँदै आएको छ । यद्यपि, अन्य परोपकारी संघसंस्थासँग नगर सरकारले आवश्यक स्वास्थ्य सामाग्रीका लागि सहयोग माग गरेको छ र ती सामाग्री आउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।