close

वडाध्यक्षद्वारा महिलामाथि दुर्व्यवहार र कुटपिट

वडाध्यक्षद्वारा महिलामाथि दुर्व्यवहार र कुटपिट

Trulli
ADVERTISEMENT

धनुषा - पद र शक्तिको ध्वंस देखाउँदै जनकपुरधाम उपमहानगरका एक वडाध्यक्षले महिलामाथि कुटपिट र दुर्व्यवहारसमेत गरेका छन् । जनकपुरधाम उपमहानगर वडा नम्बर ८ का वडाध्यक्ष रमेश ठाकुरले आफूहरूमाथि दुर्व्यवहार गरेको पीड़ित महिलाहरूले आरोप लगाएका  छन् ।


बिहीबार बैंकको बाँकी बक्यौता लिन वडाध्यक्ष ठाकुरको घर पुगेका महिलाहरूलाई उनले कुटपिट गर्दै दुर्व्यवहार गरेको पीडितको दाबी छ ।


महिला समूहले सञ्चालन गरेको बैंकबाट एक वर्षपूर्व ठाकुरकी भाउजूले लिएको ३ लाख रुपैयाँ समयमा नदिएपछि महिलाहरू उक्त रुपैयाँ लिन वडाध्यक्षको घर पुगेका बेला उक्त घटना भएको हो ।


पीडित महिलाका अनुसार सामाजिक विकास मन्त्रालयमा कार्यरत एक महिला अधिकारी निर्मला मिश्रसहितको टोलीलाई वडाध्यक्ष ठाकुरले दुर्व्यवहार र कुटपिट गरेको स्थानीय रुपा कर्णले जानकारी दिइन् ।


‘हामी बैंकको पैसा माग्न वडाध्यक्षको घरमा पुगेका बेला हामीमाथि हातपात र दुव्र्यवहार भएको हो’, कर्णले भनिन् । जनप्रतिनिधिले महिलालाई संरक्षण गर्नुको साटो महिलासँग दुव्र्यवहार गर्नु अनुचित भएको महिला अधिकारी निर्मला मिश्रको तर्क छ ।


‘वडाध्यक्षलाई गाली र कुटपिट नगर्नू भन्दा  ठाकुरका घरपरिवारका अन्य सदस्यहरूले ममाथि समेत हातपात गरे । कुटपिटबाट केही महिला घाइते भएका छन् । प्रहरीलाई खबर गर्दा वडाध्यक्षलाई पक्राउ गरिएन,’ मिश्रले भनिन् ।


दुर्व्यवहारपछि आक्रोशित महिलाहरूले दिएको अभिव्यक्तिसहितको भिडिओ अहिले सामाजिक सन्जालमा भाइरल भएको छ । घटनापछि महिलाहरूले रामानन्द चोकमा वडाध्यक्षविरुद्ध नाराबाजीसहितको प्रदर्शन गरेका थिए । स्थानीयका अनुसार यसअघि पनि वडाध्यक्ष ठाकुरले टेलिफोन बुथ चलाउँदै आएका एक युवकलाई हातपात गरेका थिए ।

महिलामाथि दुर्व्यवहारको आरोप लागेपछि वडाध्यक्ष अहिले फरार भएका छन् । धनुषा प्रहरीका अनुसार घटनाबारे अहिलेसम्म कुनै लिखित उजुरी नआए पनि मौखिक उजुरीका आधारमा प्रहरी परिचालन गरी घटना सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले बताए ।


वडाध्यक्ष ठाकुर भने आफूले कुनै महिलालाई दुर्व्यवहार नगरेको बताउँछन्  । ‘महिलाहरूले घरमै आएर तोडफोड़ गर्न खोजेपछि रोकेको मात्र हुँ । कुनै महिलालाई कुटपिट वा दुर्व्यवहार गरेको छैन । बिरामी भाउजूलाई कुट्न थालेपछि रोकेको मात्र हो,’ ठाकुरले भने ।