close

'विकास बजेट कटाएर भएपनि पालिकावासीको स्वास्थ्य रक्षा गरेका छौँ' (भिडियाे वार्ता)

'विकास बजेट कटाएर भएपनि पालिकावासीको स्वास्थ्य रक्षा गरेका छौँ' (भिडियाे वार्ता)

ADVERTISEMENT

सोलुकुम्बु जिल्लाको लुखुपिके गाउँपालिकाका अध्यक्ष हुन् डम्बरबहादुर बस्नेत ।  विकास निर्माण र चालु खर्चको २० लाख रकम र विभिन्न शीर्षकमा रहेका काट्न मिल्ने रकमलाई काटेर ४० लाख हाराहारीको रकम पालिकाले अहिले स्वास्थ्य क्षेत्रमा लगाइरहेको अध्यक्ष बस्नेत बताउँछन् । तर, राजश्व बाँडफाँटबाट प्राप्त हुने अनुदान प्रदेश र केन्द्रबाट उपलब्ध नहुँदा पालिकामा समस्या भएको बस्नेतको गुनासो पनि छ । साथै बस्नेतसँग कोरोनाले पारेको प्रभाव, नियन्त्रण गर्न पालिकाले खेलेको भूमिका र अन्य विकास निर्माणमा पालिकाको प्रगतिका विषयमा पालिकाखबर बुलेटिनमा करिस्मा कार्कीले गरेको कुराकानी:

 

धेरैले सोलुखुम्बुमा महामारीले आक्रान्त पार्न नसक्ने आकलन गर्दा गर्दै हिमाली जिल्लामा पनि कोरानो संक्रमित पुष्टि भए । लिखुपिकेको अहिलेको अवस्था के हो ? कसरी कोरोना फैलियो ? 
हाम्रो गाउँपालिकाले दोस्रो लहरको महामारी नियन्त्रण गर्ने, सवाधानी अपनाउने प्रक्रिया अघि बढाउँदा बढाउँदै केही लिखुपिकेवासीको काठमाडौंबाट आवतजावत हुँदा संक्रमण फैलियो । अहिले २४ जना संक्रमित छन् । १३ जना उपचार पद्दतीबाट निको हुनुभएको छ । अन्यको हामीले स्वास्थ्य शाखालाई पूरा अधिकार दिएर नियन्त्रण ल्याउने प्रयास गरिरहेका छौँ । 

 

सक्रिय संक्रमित कति जना हुनुहुन्छ ? 
अहिले ९ जना मात्रै सक्रिय संक्रमित छन् ।

 

स्थानीय तहले महामारीमा तयारी गर्न नसक्दा अवस्था भयावह हुन पुग्यो । तपाईका लागि पनि छोटो समय मात्रै मिल्यो । महामारी नियन्त्रण गर्न भूमिका के खेल्नुभयो ? अहिलेसम्म केके गर्नुभयो ? 
हामीले गत वर्ष र अहिले गरेर ९ वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्‍यौँ । १४ शय्या आइसोलेसन बनायौँ । हिमालयन प्राजेक्टसँगको समन्वयमा हामीलाई स्वास्थ्य सामग्री र अक्सिजन ४० लिटर उपलब्ध भयो । औषधि जति सबै कार्यपालिकाबाट निर्णय गरेर खरिद गरेर पाँच वटै वडामा रहेका स्वास्थ्य इकाइमा आवश्यक सबै सामग्री पुर्‍याएका छौँ । 

 

आइसोलेसन निर्माण देखि संक्रमितलाई घरमै गएर उपचार सेवा लगायतका काममा तपाईहरूको बजेट कति खर्च भयो ? विकास निर्माणमा गर्नुपर्ने खर्च महामारी नियन्त्रणमा हुँदा भोलि अरु योजनामा शोधभर्ना कसरी गर्नुहुन्छ ? 
अहिले हामीले गत वर्षकै नीति कार्यक्रममा विपद् न्यूनिकरणका लागि ५० लाखको कोष बनाएका थियौँ । अहिले विकास निर्माण र चालु खर्चको २० लाख रकम काटेर स्वास्थ्य क्षेत्रलाई दिएका छौँ । ४० लाखको हाराहारीमा विभिन्न शीर्षकमा रहेका रकमलाई, काट्न मिल्ने रकमलाई काटेर उपलब्ध गराएका छौँ । विकास निर्माणका योजनालाई अप्ठ्यारो छैन । तर, राजश्व बाँडफाँटबाट प्राप्त हुने अनुदान चाहिँ प्रदेश र केन्द्रबाट रकम उपलब्ध नहुँदा झन्झट बोकिरहेको छौँ । 

 

यो महामारीका बीचमा पूर्वाधार निर्माणमा त असर प¥यो होला । अहिले गत वर्षका योजना कति पूरा भए । नयाँ आर्थिक वर्ष सुरु हुन लाग्यो । बजेट ल्याउने चटारो पनि होला । के तयारी गरिरहनुभएको छ ? 
आगामी वर्षको नीति कार्यक्रम बनाउन मातहतका कार्यालय र वडाध्यक्षलाई भनेका छौँ ।गत वर्ष प्रक्रियामा रहेको योजना मध्ये ८५ प्रतिशत सफल भइसकेका छन् । १५ प्रतिशत निर्माण अध्ययनमा छन् । प्रधानमन्त्री रोजगार जस्ता कार्यक्रम प्रक्रियामा छन् । गाउँपालिकाले वडा र स्वास्थ्यका लागि गर्नुपर्ने नीतिगत काम गरिरहेका छौँ । 

 

अन्त्यमा, तपाईको कार्यकालमा यो पटक आउने बजेट अन्तिम होला । किनभने स्थानीय सरकारको कार्यकाल सकिँदैछ । योबीचमा तपाईले तपाईको पालिकाका लागि के गर्नुभयो, के गर्न पाउनुभएन ? समीक्षा गर्नसक्नुहुन्छ ? 
सबै जनताको आधारभूत चाहना अुनसार, सल्लाह अनुसार चार बजेट खर्च गर्‍यौँ । त्यो क्रममा दुई काम हुन सकेनन् । तर, एउटा काम एक हप्ता भित्र हुँदैछ । जग्गाको विवादले हामीले जग्गा नपाउँदा गाउँपालिकाको जमिनमा आफ्नो भवन भने बनाउन सकेका छैनौँ ।