close

१२ सम्म पाठ्यपुस्तक निःशुल्क, जनक शिक्षाले थाल्यो तयारी

घोषणापछि कक्षा ११ र १२ मा अध्ययनरर्त विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउने

१२ सम्म पाठ्यपुस्तक निःशुल्क, जनक शिक्षाले थाल्यो तयारी

घोषणापछि कक्षा ११ र १२ मा अध्ययनरर्त विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउने

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले बजेट वक्तव्यमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले यसको तयारी सुरु गरेको छ । 


सरकारी प्रतिबद्धता कार्यान्वयनमा लैजान तयारी सुरु गरिएको केन्द्रले जानकारी गराएको हो ।


अर्थमन्त्री विष्णु पौडेलले गत १५ जेठमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेका थिए । 


सरकारले कक्षा १२ लाई विद्यालय तहमा सूचीकृत गरिसकेको छ । घोषणापछि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्नेछन् ।


यसअघि कक्षा १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइँदै आएको छ । सरकारले भनेकै समय पुस्तक उपलब्ध गराइने जनक शिक्षाका महाप्रबन्धक अनिलकुमार झाले बताए ।

 

जनक शिक्षाले हाल कक्षा ११ का नेपाली, अंग्रेजी, सामाजिक विषयका पाठ्यपुस्तक छाप्दै आएको छ । जनक शिक्षाले गत वर्ष पनि कक्षा ११ को अनिवार्य विषयका पाठ्यपुस्तक प्रकाशन गरी वितरण गरेको थियो ।


कक्षा १२ को पाठ्यपुस्तक भने पाठ्यक्रम विकास केन्द्रले छपाइका लागि स्वीकृति दिन बाँकी छ । सरकारले असारबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय यसअघि गरिसकेको छ ।


जनक शिक्षाले हाल सामुदायिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक पर्ने पुस्तक छपाइ पूरा गरेर वितरणको तयारी सुुरु गरेको छ । कक्षा ४ देखि १० सम्म १ करोड ७७ लाख थान पुस्तक छापिएको छ । त्यसका लागि प्रदेश कार्यालयमा पठाइसकिएको महाप्रबन्धक झाले बताए । 

 

हाल जनक शिक्षाका भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, जनकपुर, सुर्खेत र धनगढीमा प्रदेश कार्यालय छन् ।