close

बचेको खोप मात्रै छुटेकालाई...

बचेको खोप मात्रै छुटेकालाई...

Trulli
ADVERTISEMENT

बागलुङ- सरकारले आउँदो २५ जेठदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ । सोहीअनुसार खोप व्यवस्थापन समिति बागलुङले खोपको तयारी गरिरहेको छ ।

 

समितिले गरेको तयारीअनुसार यसअघिको खोप अभियानमा छुटेका ज्येष्ठ नागरिकले भने खोप पाउने छैनन् । ‘माथिबाट तोकिएको उमेर समूहलाई मात्रै हामीले यस पटक खोप लगाउँछौँ,’ समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भने, ‘जिल्ला भित्रिने खोपको डोज बचे माथि कुरा गरेर छुटेकालाई लगाउने हो ।’

 

यसअघि खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले दोस्रो मात्रा खोप पाएका छैनन् । पहिलो चरणमा ज्येष्ठ नागरिकका लागि चलाइएको खोप अभियानमा छुटेकाको संख्या धेरै छ । 

 

खोप लगाउन छुटेकाको तथ्यांकतयार नभए पनि त्रासले खोप नलगाउने ज्येष्ठ नागरिकको संख्या धेरै रहेको स्वास्थ्य संस्थाहरूको आकलन छ ।


पत्रकार महासंघ बागलुङले बिहीबार आयोजना गरेको ‘कोभिड–१९ र वर्तमान अवस्था’ विषयक छलफलमा कार्कीले कोभिड प्रतिकार्यका काम प्रभावकारी ढंगले भइरहेको भन्दै संक्रमणको दर घटेको दाबी गरे ।

 

‘बर्खा लाग्यो । बाढीपहिरोले अक्सिजन ल्याउन अप्ठेरो पर्ला भनेर स्काभेटर तयारी अवस्थामा राखेका छौँ,’ कार्की भन्छन्, ‘निषेधाज्ञा पनि प्रभावकारी बनाउने, जाँच्ने र उपचार गर्ने क्रम चलिरहेकाले अब हामी ठूलो समस्यामा छैनौँ ।’ 

 

छलफलमा सहभागीले निषेधाज्ञा, होम आइसोलेसनको प्रभावकारिता, अस्पतालमा अक्सिजनको पर्याप्तता, एम्बुलेन्स र शव वाहनको उपलब्धतालगायत विषयमा चासो राखेका थिए ।

 

छलफलमा सहभागी धौलागिरि आयुर्वेद औषधालयका प्रमुख डा. सरोजकुमार रायले योग र ध्यानबाट रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता विकास हुने भएकाले योगसम्बन्धी चेतना फैलाइरहेको जानकारी गराए । 


स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले विश्व स्वास्थ्य संगठनले जारी गरेका मापदण्डको पालनमा मात्रै गर्दा संक्रमण दर घट्ने भन्दै सबैको ध्यान एसएमएस विधि पहिलेको र अहिलेको दुवैको प्रयोग आवश्यक रहेको बताए । 

 

धौलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले अस्पतालले आवश्यकताअनुसार शय्या थपेर बिरामीको उपचार गरेको दाबी गरे । 


‘सिलिन्डरको अभाव छैन । फिलिङमा पनि समस्या नआउला,’ विकले भने, ‘अक्सिजनको पर्याप्तताका लागि प्लान्ट निर्माण गर्न टेन्डर आह्वान गरेका छौँ । छिट्टै प्लान्ट निर्माण हुन्छ ।’ 

 

अस्पतालले दैनिक १५० जना बिरामीलाई पुग्ने र १०० वटा सिलिन्डर भर्न मिल्ने गरी १ महिनाभित्रै अक्सिजन प्लान्ट स्थापना गर्ने तयारीमा छ । 


छलफलमा पत्रकारले निषेधाज्ञा र मजदुरको दैनिकीका विषयमा चासो राखेका थिए । मजदुरलाई राहत र व्यवस्थापनको काम स्थानीय सरकारको भएको छलफलमा सहभागीले बताए ।

 

‘अब थपिने निषेधाज्ञा केही खुकुलो हुन्छ, तर अझै केही दिन संक्रमण बढिरहेकाले निषेधाज्ञा थपिन्छ,’ प्रजिअ कार्कीले भने, ‘सरोकारवाला सबैसँग सल्लाह भइरहेको छ । २२ जेठसम्म निधोमा पुग्छौँ ।’