close

राजीनामा दिने शिक्षकलाई सूर्यविनायकको प्याकेज

राजीनामा दिने शिक्षकलाई सूर्यविनायकको प्याकेज

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले राजीनामा दिन चाहने शिक्षकलाई डेढ लाखदेखि साढे ३ लाख रुपैयाँसम्मको प्याकेज दिने भएको छ । नगरभित्र सञ्चालित सामुदायिक विद्यालयमा दरबन्दी मिलान तथा व्यवस्थापन कार्य सम्पन्न गर्न नगरपालिकाले यस्तो प्याकेज ल्याएको हो ।

 

नगर उपप्रमुख जुना बस्नेतका अनुसार पालिकाभित्रका सामुदायिक विद्यालयमा शिक्षकको संख्या बढी भएकाले अवकाश लिन इच्छुकका लागि उक्त प्याकेज ल्याइएको हो । 

 

नगरपालिकाले अनिवार्य अवकाश हुन सेवा अवधि बाँकी भएका प्राथमिक तहमा कार्यरत स्थायी शिक्षकलाई स्वेच्छिक अवकाशका लागि प्रोत्साहन गर्न सो प्याकेज ल्याइएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

 

शिक्षा, युवा तथा खेलकुद शाखाकी उपनिर्देशक सरस्वती कोइरालाले स्वेच्छिक अवकाश लिन चाहने शिक्षकलाई १५ दिनभित्र नगरपालिकामा निवेदन दिन सक्ने बताइन् । 

 

नगरपालिकाले १ वर्ष सेवावधि बाँकी भएका शिक्षकका लागि १ लाख ५० हजार, १ वर्षभन्दा बढी २ वर्षसम्म सेवावधि बाँकी भएकालाई २ लाख, २ वर्षभन्दा बढी ३ वर्षसम्मको अवधि बाँकी भएकालाई २ लाख ५० हजार, ३–४ वर्षसम्म सेवावधि बाँकी भएकालाई ३ लाख र ४ वर्षभन्दा बढी सेवावधि बाँकी भएका शिक्षकलाई ३ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

 

सो प्याकेजमा समावेश हुन चाहने शिक्षकबाट निवेदन माग गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । शाखाका अनुसार निवेदनमा नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, स्थायी नियुक्तिपत्रको प्रतिलिपि र राजीनामा–पत्र संलग्न गरिएको
हुनुपर्नेछ ।

 

३४ सामुदायिक विद्यालय रहेको नगरपालिकामा २४ वटा आधारभूत विद्यालय छन् । शिक्षा शाखाकी अधिकृत उल्झन अधिकारीका अनुसार ती आधारभूत विद्यालयमा जम्मा २२४ स्थायी दरबन्दी र ११ वटा राहत दरबन्दीका शिक्षक छन् । सो संख्या प्राथमिक तहमा कायम रहेको दरबन्दी हो ।