close

आइसोलेसनलाई भकुन्डेबेँसी जेसिजको सहयोग

आइसोलेसनलाई भकुन्डेबेँसी जेसिजको सहयोग

Trulli
ADVERTISEMENT

काभ्रे– कोभिड–१९ को महामारीलाई लक्षित गर्दै काभ्रेको नमोबुद्ध नगरपालिकाबाट भकुन्डेबेँसीमा सञ्चालित आइसोलेसन केन्द्रका लागि दाताबाट आवश्यक स्वास्थ्य सामग्री प्राप्त हुने क्रम बढ्दै गएको छ । सोही क्रममा भकुन्डेबेँसी जेसिज र भकुन्डेबेँसी जुनियर जेसिजले अत्यावश्यक स्वास्थ्य सामग्री आइसोलेसन केन्द्रका लागि हस्तान्तरण गरेका हुन् । 

 

आइसोलेसन केन्द्रका लागि जेसिजले ५० हजार रुपैयाँ बराबरको अत्यावश्यक औषधी, मास्क, पिपिई, अक्सिमिटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आइसोलेसन केन्द्रमा आयोजित कार्यक्रममा भकुन्डेबेँसी जेसिज वर्ष २०२१ का अध्यक्ष सुदर्शन चिमौरियाले नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

 

कार्यक्रममा मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, भकुन्डेबेँसी जेसिजका पूर्वअध्यक्ष हरिहर अधिकारी, केबी तिमल्सिनालगायत उपस्थित थिए । 

 

मेथिनकोट अस्पतालका अध्यक्ष खनालले सबैको सहयोगमा कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणमा लागिपरेको बताउँदै जेसिजको सहयोगले थप हौसला मिलेको धारणा व्यक्त गरे । मेथिनकोट अस्पताललाई नमुना अस्पतालको रूपमा विकास गर्ने लक्ष्य लिइएको र यसमा सबै पक्षको सहयोग आवश्यक रहेको पनि उनको भनाइ छ ।

 

नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले संकटका बेला जेसिजले गरेको सहयोगले कोरोना रोकथाम र नियन्त्रणको अभियानलाई हौसला मिलेको बताए ।

 

नमोबुद्ध वडा नम्बर ४ स्थित जनक बहुमुखी क्याम्पसमा नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्त रूपमा ४० बेडको आइसोलेसन केन्द्र सञ्चालन गरिरहेका छन् । केन्द्रमा हाल कोभिड १९ बाट संक्रमित ७ जना बिरामी रहेको आइसोलेसन केन्द्रकी इन्चार्ज मथुरा सत्यालले जानकारी दिइन् ।

 

सत्यालका अनुसार आइसोलेनि केन्द्रमा हालसम्म ४१ जना कोभिड–१९ बाट संक्रमित बिरामी भर्ना भइसकेका छन् । त्यसमध्ये २८ जना डिस्चार्ज, ५ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ भने १ जनाको निधन भएको छ ।

 

आइसोलेसन केन्द्रका लागि यसअघि प्रारम्भ सामाजिक संस्था, आनी छोइङ डोल्मा फाउन्डेसनलगायत दाताले स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।