close

कोरोनाको तेस्रो, चौथो लहरले बालबालिका पिरोल्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

कोरोनाको तेस्रो, चौथो लहरले बालबालिका पिरोल्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

Trulli
ADVERTISEMENT

काठमाडौं– स्वास्थ्य मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहर नेपाल आउन सक्ने बताएको छ । सोही कारण अहिलेदेखि नै रोकथाम र नियन्त्रणका तयारी थाल्न मन्त्रालयले सरोकारवालालाई सुझाएको छ ।

 

कोरोना संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने भन्दै सबै अस्पताललाई कम्तीमा २० प्रतिशत शय्या बालबालिकाका लागि छुट्याउन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमणको दोस्रो लहरजस्तै तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबाट बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै अस्पताललाई शय्या छुट्याउन आग्रह गरेको हो ।

 

मन्त्रालयका अनुसार कोरोनाको पहिलो लहर नियन्त्रणोन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाएको पनि उल्लेख गरेको छ । दोस्रो लहर पनि नियन्त्रणमै रहेको दाबी मन्त्रालयको छ । तर, अब तेस्रो र चौथो लहर आउन सक्ने भएकाले पूर्वतयारी गर्नुपर्ने मन्त्रालयले बताएको हो ।

 

‘पहिलो र दोस्रो लहरले अत्यधिक मात्रामा वृद्धवृद्धा र युवाहरू संक्रमित भएको हुँदा व्यवस्थापन तयारी वृद्धवृद्धा र युवा लक्षित मात्र हुन पुगेको छ । दोस्रो लहरजस्तै तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी संक्रमित हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नुहुन अनुरोध छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले बेलैमा अक्सिजनको व्यवस्थापनसमेत गर्न सबै अस्पताललाई आग्रह गरेको
छ ।