close

सर्वसाधारणको सेयर हिस्सा बढाउँदै नेपाल टेलिकम 

सर्वसाधारणको सेयर हिस्सा बढाउँदै नेपाल टेलिकम 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल टेलिकमले सर्वसाधारणको सेयर हिस्सा बढाउने योजना अगाडि सारेको छ । सरकारले नेपाल दूरसञ्चार कम्पनीको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न कम्पनीका मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा उपभोग गर्ने सर्वसाधारणलाई कम्पनीको थप २२ प्रतिशत सेयर विनिवेश गर्ने बजेटमा वक्तव्यमा उल्लेख छ ।

 

तत्काल कम्पनीको सेवा उपयोग गरिरहेका र २०७८ पुस मसान्तसम्म थप हुने ग्राहकले समेत सेयर खरिद गर्न सक्नेछन् । यसका लागि सरकारले आउँदो असोज मसान्तसम्म विस्तृत प्रक्रिया र सेयर मूल्यको विवरण टुंग्याउने रणनीति अगाडि सारेको छ । 

 

गत माघमा आयोजित १७औँ वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री पार्वत गुरुङले टेलिकममा जनसहभागिता विस्तार गर्न सेयर संरचना समीक्षा गर्नुपर्ने बताएका थिए । सरकारले बजेट वक्तव्यमा अंकै तोकेर आवश्यक प्रक्रिया सम्पन्न गर्न टेलिकममा सर्वसाधारणको सेयर हिस्सा वृद्धि गर्ने योजना अघि सारेको हो । 

 

टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । यसमध्ये ९१.४९ प्रतिशत सेयर नेपाल सरकारसँग छ । बाँकी स्वामित्वमा ४.५ प्रतिशत कर्मचारीको, ३.९८ प्रतिशत अन्य सर्वसाधारणको र ०.०३ प्रतिशत सेयर नागरिक लगानी कोषको छ । 

 

बजेटको ४२८ नम्बर बुँदामा भनिएको छ, ‘नेपाल दूरसञ्चार कम्पनीको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न कम्पनीका मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा उपभोग गर्ने प्राकृतिक व्यक्तिलाई कम्पनीको २२ प्रतिशत शेयर विनिवेश गरिनेछ ।’

 

बजेटमा उल्लेख भएअनुसार सरकारले अहिले आफूसँग भएको ९१.४९% बाट कुल चुक्ता पुँजीको २२ प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ,’ कम्पनीका सञ्चालक समिति सदस्य अम्बिकाप्रसाद पौडेलले भने, ’यसो गर्दा सरकारी हिस्सा करिब ७० प्रतिशतमा आउनेछ र सर्वसाधारणको ३० प्रतिशतमाथि पुग्नेछ ।’

 

हाल टेलिकमको कुल चुक्ता पुँजी १५ अर्बमध्ये सरकारसँग १३ अर्ब ७२ करोड ३५ लाख रुपैयाँको सेयर छ । यो रकमबाट करिब २२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ । यसपछि नेपाल टेलिकममा सरकारको स्वामित्व ७० प्रतिशतभन्दा कम हुनेछ ।

 

कसले पाउँछन् सेयर ?

 

बजेटमा टेलिकमको सेयर बिक्रीसँगै सर्वसाधारणले कसरी पाउने र त्यसको मूल्य निर्धारणको प्रक्रिया तथा अवधिको विषय पनि उल्लेख छ । हाल कम्पनीको सेवा उपयोग गरिरहेका र आगामी २०७८ पुस मसान्तसम्म थप हुने ग्राहकले समेत टेलिकमको सर्वसाधारणका लागि थप बिक्रीमा राखिने सेयर खरिद गर्न पाउने बताइएको छ ।

 

सेयर पाउने आशामा ग्राहक संख्या बढ्ने भएकाले टेलिकमको बजार विस्तारमा पनि सहयोग पुग्नेछ। नेपाल दूरसञ्चार प्राधिकरणले फागुन २०७७ सम्मको विवरणअनुसार नेपाल टेलिकमसँग भ्वाइस सेवाका कुल २ करोड १७ लाख ११ हजार ५ सय बढी ग्राहक छन् । 

 

टेलिकमको फिक्स्ड सेवाअन्तर्गत ल्यान्डलाइन ग्राहक संख्या ५ लाख ८२ हजार पाँच सय ४९ जना छन् । वायरलेस लोकल लुप (डब्लूएलएल) को ग्राहक एक लाख १७ हजार ८७० छन् । मोबाइल सेवाअन्तर्गत जीएसएम प्रयोगकर्ता १ करोड ९२ लाख १३ हजार ९ सय बढी रहेको प्राधिकरणले जनाएको छ । उल्लिखित ग्राहक संख्यामध्येबाट नदोहोरिने गरी सरकारले सर्वसाधारणलाई थप बिक्री गर्ने सेयर टेलिकमका ग्राहकले पाउने निश्चित छ ।