close

स्वास्थ्य सामग्री बोकेर घरघर चहार्दै चाँगुनारायणको वडा सरकार

स्वास्थ्य सामग्री बोकेर घरघर चहार्दै चाँगुनारायणको वडा सरकार

Trulli
ADVERTISEMENT

भक्तपुर- कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर निषेधज्ञा जारी भइरहेका बेला चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष स्वास्थ्य सामग्री लिएर नागरिकका घरमा पुग्न थालेका छन् । नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष सन्त वाइवासहितको टोली स्वास्थ्य सामग्री बोकेर जनताको घर-घर पुगेको हो ।


कोभिड संक्रमण भई होम आइसोलेसनमा बसेका बिरामीको स्वास्थ्य अवस्थालाई लक्षित गरी वडाले सो कार्यक्रम ल्याएको र सोहीबमोजिम नागरिकको घरमा स्वास्थ्य सामग्री वितरण गर्दै आएको वडाध्यक्ष वाइबा बताउँछन् । 

 

उनका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि आवश्यक पर्ने सामग्री वितरण गरिएको छ । ‘कहिले बिरामी वा तिनका आफन्तबाट खबर आउँछ । कहिले हामीले खबर पाउनेबित्तिकै उहाँहरूको घरमा जान्छौँ,’ उनले भने, ‘संक्रमितको अवस्था र चिकित्सकको सल्लाहबमोजिम अक्सिजन, डिजिटल थर्मोमिटर, स्यानिटाइजर, साबुन, सिटामोललगायत १२ प्रकारका औषधी निःशुल्क वितरण गर्दै आएका छौँ ।’ 

 

होम आइसोलेसनमा बसेका बिरामीका लागि आवश्यक स्वास्थ्य सामग्री तथा औषधी खरिद गर्न सबैसँग पहुँच नहुने भएकाले वडा आफैंले निःशुल्क स्वास्थ्य सामग्री वितरण गर्दै आएको उनले बताए । विकास योजनाको बजेट कटौती गरी वडाले उक्त कार्यक्रम सञ्चालन गरेको हो ।