close

जुम्लामा पनि सुरु भो खाद्यान्नमा २० प्रतिशत छुट

जुम्लामा पनि सुरु भो खाद्यान्नमा २० प्रतिशत छुट

Trulli
ADVERTISEMENT

जुम्ला- खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय जुम्लाले निषेधाज्ञा अवधिभर खाद्यान्नमा २० प्रतिशत छुट रकम कार्यान्वयन ल्याएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा उल्लिखित छुट तथा सहुलियतको कार्यान्वयन गरेको हो ।

 

अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबीच भएको बैठकमा सरकारले बजेटमार्फत निषेधाज्ञा अवधिभर छुट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण सर्वजनिक गरेको हो ।


सोको मूल्य तथा बिक्री हुने स्थानको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी गराउने निर्णय भएबमोजिम खाद्यन्नमा २० प्रतिशत छुट रकम कार्यान्वयनमा ल्याएको शाखा प्रमुख तिलक सुनारले बताए । 


उनले भने, ‘सहुलियत दरमा उपलब्ध गराइएको खाद्यान्न सामग्री खरिद गर्ने ग्राहकको पहिचान खुल्ने कागजातसहितको विवरण र प्रतिपरिवार १ बोरा चामल मात्र उपलब्ध हुनेछ ।’ 

 

बजेटमा निषेधाज्ञाभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा ग्यासमा २० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो । 


छुट सुविधा प्रदान गरिने ग्राहकलाई उपलब्ध गराउने उपभोग्य सामग्रीको मासिक कोटा निर्धारण गर्ने, कोटा निर्धारण गर्दा ५ जनाको परिवारलाई एक इकाइ मानी सहुलियत सामग्री पहिलो पटक १ महिनाका लागि खाद्य तथा व्यापार कम्पनीबाट ३० केजी चामल र २ केजी सिमीको दाल सहुलियतमा उपलब्ध गराउने निर्णय भएको प्रमुख सुनारले बताए ।

 

त्यस्तै, साल्ट ट्रेडिङबाट २ केजी पिठो, २ केजी चिनी, २ केजी नुन, १ लिटर भटमास खानेतेल र खाना पकाउने ग्यास १ सिलिन्डर सहुलियत दरमा उपलब्ध गराउने निर्णय भएको छ । सहुलियत दरमा उपलब्ध गराइएका सामग्री खरिद गर्ने ग्राहकको पहिचान खुल्ने कागजातसहितको विवरण पेस गर्नुपर्नेछ ।