close

किसानका दुःख : दूधको भुक्तानी नपाउँदा चुह्लो बाल्न सकस

किसानका दुःख : दूधको भुक्तानी नपाउँदा चुह्लो बाल्न सकस

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङको जैमिनी नगरपालिका वडा नम्बर १ कुश्मीसेराका प्रेम पौडेल व्यावसायिक पशुपालक किसान हुन् । उनको घर खर्च चलाउने मुख्य स्रोत नै दूध तथा दुग्धजन्य पदार्थको बिक्रीबाट आउने पैसा हो । माघपछि पौडेलले बिक्री गरेको दूधको पैसा आएको छैन ।

 

सहकारीमा आबद्ध भएर दूधको उत्पादन र बिक्री वितरण गरिरहेको उनी सुनाउँछन् । उनीजस्तै कुश्मीसेराको टुनीबोट, खौर, किसेक, बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरको टाकुरी, सरंगी गाउँका किसानले लामो समयदेखि दूध बिक्रीबापतको भुक्तानी नपाएका हुन् । 

 

कुश्मीसेराको टार र बागलुङ नगरपालिका वडा नम्बर १४ को नारायणस्थानका किसानको पनि समस्या उस्तै छ । मुख्य आयस्रोत दुधको भुक्तानी नै रोकिएपछि किसान मर्कामा छन् । दूध उत्पादनकै लागि पालिएका गाईभैँसीलाई खुवाउने दाना र घर खर्च चलाउनसमेत कठिन भएको किसानहरू बताउँछन् । 

 

यहाँ उत्पादित दूध बागलुङ र पर्वतका विभिन्न दूध डेरीले खरिद गर्छन् । बागलुङको दक्षिणमा रहेका ४ वटा दुग्ध उत्पादक सहकारीको साझा बिक्री केन्द्र गठन गरेर सहकारीले दूध बिक्री गर्दै आएका छन् ।

 

कालीगण्डकी, पल्लोपाखा, नवनमुना र बलेवा नारायणस्थान दुग्ध उत्पादक सहकारी संस्थाको सहभागिता रहेको संयुक्त बिक्री केन्द्र छ ।बिक्री केन्द्रमार्फत दूध खरिद गरेका कतिपय डेरी पसलले अघिल्लो वर्षको असारदेखिको पैसा भुक्तानी गरेका छैनन् ।

 

‘हाम्रो दूध लिने बागलुङको न्यु लक्ष्मी डेरीले अघिल्लो असारपछिको पैसा दिएकै छैन । पटक–पटक ताकेता गर्दासमेत पैसा नआएपछि हामी प्रक्रियामा जाँदै छौँ,’ संयुक्त बिक्री केन्द्रका अध्यक्ष लीलाधर पौडेलले भने, ‘डेरीहरूले रकम रोकिदिँदा सहकारीले किसानलाई उपलब्ध गराउन सकेनन् ।’ 

 

पौडेलका अनुसार कुश्माको शीतल डेरी, मोदीकाली डेरी, न्यु कालीगण्डकी डेरी र बागलुङको अभिषेक डेरीलगायतले किसानको रकम भुक्तानी नदिएका हुन् । ‘झन्डै २५ लाख रुपैयाँ उठ्न बाँकी छ । केहीको १ वर्ष पुग्यो । केहीले ४–५ महिनादेखि रोकेका छन्,’ पौडेल भन्छन,् ‘यता सहकारीले आफ्नै स्रोतबाट किसानको रकम भुक्तानी गर्न सक्ने अवस्था छैन ।’

 

बिक्री भएको दूधकै पैसा नआएका कारण किसानलाई समयमा भुक्तानी दिन कठिन भएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले बताए । यहाँका डेरी पसलले भुक्तानी समयमा नदिएपछि अहिले ४ वटै सहकारीबाट उत्पादित दूध पोखराको लभकुश डेरीमा पठाउन थालिएको छ । ४ वटा सहकारीले दैनिक १ हजार लिटर दुध उत्पादन गर्छन् । 

 

‘पोखराको डेरीबाट हाम्रै दूध ल्याएर बेचेका छन् तर हाम्रो पुरानो पैसा दिँदैनन्,’ पौडेल भन्छन्, ‘वैशाखयता पोखरा गएको दूधको भुक्तानी भने रोकिएको छैन ।’ 

 

सहकारीको संयुक्त बैठकले १ पटक आग्रह गर्ने र भुक्तानी नपाए कानुनी प्रक्रियामा जाने निर्णय गरेको अध्यक्ष पौडेलले सुनाए । सिजनमा दूध होलिडे गर्न लगाउने र बेसिजनमा खरिद गर्ने गरेका डेरी पसलले किसानको दूधको भुक्तानीमा भने आलटाल गर्दै आएका छन् । समयमा भुक्तानी नपाउँदा किसान भने पेसाप्रति नै निरास हुने गरेका छन् ।