close

स्थानीयले गरे निषेधाज्ञा उल्लंघन, पसल व्यवसाय खोल्ने चेतावनी

स्थानीयले गरे निषेधाज्ञा उल्लंघन, पसल व्यवसाय खोल्ने चेतावनी

Trulli
ADVERTISEMENT

रुपन्देही- लुम्बिनी साँस्कृतिक नगरपालिकाको वडा नं १ का स्थानीयले निषेधाज्ञामा सर्वसाधारण माथि कडाई गरिएको भन्दै विरोध प्रदर्शन गरेका छन् । वडा नं १ स्थित खुनगाई चौराहामा स्थानीयहरुले टायर बालेर विरोध गरेका छन् भने आज नगरपालिका घेराउ गरिने बताएका छन् ।

 

लामो समयदेखिको निषेधाज्ञाले स्थानीयलाई जिविका चलाउन गाह्रो भइरहेको भएपनि स्थानीय प्रशासनले निषेधाज्ञालाई अझै कडा बनाउँदै लगेको उनीहरुको आरोप छ ।

 

खुुनगाई चौराहाका स्थानीयले निषेधाज्ञा उल्लंघन गर्ने चेतावनी दिएका छन् । उनीहरुले विरोधस्वरुप आज नगरपालिकाको कार्यालय घेराउ गर्ने भएका हुन् ।


विरोधमा उत्रिएका अर्जुन कुर्मीले भने, ‘आजबाट पसल, व्यवसाय खोल्ने र त्यसपछि नगरपालिकाको कार्यालय घेराउ गर्ने कार्यक्रम छ ।’ उनले निशेधाज्ञाको नाममा स्थानीयालाई त्रसित पार्ने काम भएको आरोप लगाए ।

 

जनता पूर्वाग्रही भएः नगरप्रमुख


यता नगरपालिकाले भने पूर्वाग्रह राखेर केही व्यक्तिहरुले विरोध गरेको बताएको छ । नगरप्रमुख मनमोहन चौधरीले माटो खन्न नदिएको झोकमा केही व्यक्तिले निषेधाज्ञाको नाममा रजानीति गरेको बताए ।

 

‘जेसीबी लगाएर माटो खनिरहेका बेलामा प्रशासनले रोकेपछि केही व्यक्तिहरुले विवाद निकालेका हुन् । देशभर जस्तै निषेधाज्ञा यहाँ पनि जारी छ । त्यसको उल्लंघन भएमा कानुन अनुसार जरिमाना हुन्छ ।’

 

उनले जनस्वास्थ्यलाई हेरेर सरकारले लागु गरेको निषेधाज्ञालाई केही व्यक्तिहरुले पूर्वाग्रह राखेर विरोध गर्न नहुने बताए । उनले भने–‘सबैको स्वास्थ्यसँग जोडिएको कुरा हो । कसैले विरोध गर्न पाउँदैन ।’ उनले विरोध गर्नेहरुसँग सम्पर्कमा रहेको बताउँदै समस्याको समाधान निकाल्ने बताए ।