close

घोडाको ठाउँमा गाडी भएको भए, गोजीमा ९ लाख भएको भए बाँच्थे होलान् सुनार

घोडाको ठाउँमा गाडी भएको भए, गोजीमा ९ लाख भएको भए बाँच्थे होलान् सुनार

Trulli
ADVERTISEMENT

हुम्ला- कोरोना संक्रमणबाट हुम्लामा २० जेठमा एकजनाले ज्यान गुमाए । सर्केगार्ड-२ का ५५ वर्षका टोप्ले सुनार कोरोनाले ज्यान गुमाउने हुम्लाका पहिलो व्यक्ति हुन् ।

 

किट अभावमा समयमा परीक्षण गर्न नपाउँदा निकै ढीला गरी सुनारमा कोरोना संक्रमण भइसकेको पुष्टि भयो । विरामले सिकिस्त बनाएपछि उनलाई उपचारका लागि अस्पताल लैजान खोजियो ।

 

तर, वाटो नभएकाले सवारी साधनमा बोक्ने सम्भावना थिएन । न कसैले उनको तिव्र उद्धारका लागि हेलिकोप्टरको प्रवन्ध नै गर्न सक्यो । अन्तत घोडामा बोकेर उपचारका लागि सदरमुकाम लैजादा लैजादै उनले ज्यान गुमाए ।

 

सुनारको सिघ्र उपचार गराउन नपाएकै कारण मृत्यु भएको रिप स्वास्थ्यचौकीमा कार्यरत अहेब चन्द्रसिंह कार्कीले जानकारी दिए ।


‘किट अभावका कारण परीक्षण हुन सकेको थिएन, कोरोना सँग लक्षण मिल्ने विराम वढ्न थालेपछि थप उपचारका लागि घोडामा जिल्ला अस्पताल सिमकोट ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गयो,’ उनले भने ।

 

संक्रमित सुनारकोे अक्सिजनको लेवल ४० भन्दा तल गइसकेको थियो । ‘गाउँको स्वास्थ्य चौकीमा विद्युत अभावका कारण अक्सिजन दिने अवस्था भएन, सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीले पनि नसक्ने भए पछि थप उपचारको लागि जिल्ला अस्पतल ल्याउने क्रममा दुल्ली कुनाको खुँगाडामा पुगेपछि ज्यान गएको हो, ’ रिप स्वास्थ्य चौकीका इन्चार्जसमेत रहेका कार्कीले भने ।

 

लामो समयदेखि दम रोगबाट पीडित सुनारको थप थप उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्न खोज्दा रकमको जोहो नभएकाले घोडामै सिमकोट लैजान खोजिएको थियो । 


‘हेलिकोप्टरको लागि धेरै प्रयास भयो, तर ९ लाख ५० हजार रकम पहिला जम्मा नगरे हेलिकोप्टर कम्पनीले आउन नमान्ने र उनको आर्थिक अवस्था निकै नाजुक भएकाले अन्तिममा घोडाबाट जिल्ला अस्पताल लैजान लागिएको थियो, वाटेमा ज्यान गयो, कार्कीले भने ।