close

कर्णालीमा घट्याे स्याउ उत्पादन, मूल्य अकासियाे

कर्णालीमा घट्याे स्याउ उत्पादन, मूल्य अकासियाे

Trulli
ADVERTISEMENT

जुम्ला - माथिल्लो कर्णाली जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटमा यो वर्ष स्याउ उत्पादन ह्वात्तै घटेको छ । उत्पादन कम भएपछि बजारमा स्याउको मूल्य बढेको छ ।


स्याउ उत्पादन कम भएपछि यसमा आश्रित किसानले आफूहरूको जीविकोपार्जनमा समस्या परेको गुनासो गरेका छन् । उत्पादन नहुँदा आम्दानी पनि गुमेको उनीहरूको बुझाइ छ ।


कर्णालीमा सबैभन्दा धेरै स्याउ उत्पादन जुम्लामा हुने भए पनि यो वर्ष ५० प्रतिशतले गिरावट आएको हो । जुम्लामा गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएकामा यो वर्ष ५ हजार मेट्रिक टन मात्र उत्पादन भएको हो ।


कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले उत्पादन घटेपछि यसपालि स्याउको मूल्य बढेकोे बताए । ‘जुम्लामा यसपालि प्रतिकिलो ए ग्रेडको स्याउको १ सय ६०, बी ग्रेडको १ सय ५५ र सी ग्रेडको १ सय ५० रुपैयाँ तोकिएको छ’, देवकोटाले भने, ‘उत्पादन घटेका कारण स्याउको मूल्य अझ बढ्न सक्छ ।’


हुम्लामा गत वर्ष साढे १४ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । तर, यो वर्ष भने उत्पादन आधा घटेको छ । गत वर्ष १५ सय मेट्रिक टन स्याउ उत्पादन भएको मुगुमा पनि ७० प्रतिशत उत्पादन घटेको कृषि विकास कार्यालयको तथ्यांक छ ।


गत वर्ष ३ हजार २ सय ९६ मेट्रिक टन स्याउ उत्पादन भएको डोल्पामा पनि यो वर्ष झन्डै ४ सय मेट्रिक टन मात्रै उत्पादन भएको कृषि विकास कार्यालयका सहायक प्राविधिक बुद्धि बुढाथोकीले जानकारी दिए ।


‘कर्णालीका जुम्ला, डोल्पा, मुगु, कालिकोट र हुम्लामा अर्गानिक स्याउ उत्पादन हुन्छ । तर, यो वर्ष भने झन्डै ७० प्रतिशतले स्याउ उत्पादन घटेको छ । स्याउको फूल फुल्ने समय असिना–पानी पर्दा फूल झरेपछि उत्पादनमा कमी आएको हो,’ बुढाथोकीले भने ।


गत जेठ, वैशाखमा परेको असिना,पानी र कालो तुषारोका कारण स्याउ उत्पादन घटेको कृषि विकास कार्यालय जुम्लाका प्राविधिक लक्षीराम महत बताउँछन् । ‘यो वर्ष आफैंमा स्याउ उत्पादन घट्ने वर्ष हो,’ महतले भने, ‘जेठ, वैशाखमा असिना पर्दा आधा उत्पादन घटेको हो ।’ 


उत्पादन घटेपछि गत वर्षको तुलनामा स्याउको मूल्य पनि बढेको छ । ‘गत वर्ष प्रतिकिलो ८०÷९० रुपैयाँमा बिक्री हुन्थ्यो, यो वर्ष १ सय ६० रुपैयाँ पुगेको छ’, उनले भने, ‘उत्पादन घटेका कारण स्याउको मूल्य बढेको हो ।’


स्याउ उत्पादन घट्दा व्यावसायिक किसान भने मर्कामा परेको उनको भनाइ छ । पछिल्लो समय जुम्लाका अधिकांश किसालने व्यावसायिक रुपमै स्याउ उत्पादन सुरु गरेका छन् । 


कर्णालीमा उत्पादित स्याउ सुर्खेत, नेपालगन्ज, पोखरा र काठमाडौंलगायतका सहरमा बिक्री हुन्छ । स्याउ निर्यातका लागि सम्बन्धित जिल्ला कृषि विकास कार्यालय र स्याउ सुपरजोन कार्यालयले कृषकलाई कार्टुन उपलब्ध गराउँदै आएका छन् ।


कर्णालीमा रेड डेलिसियस, गोल्डेन र चक्लेटीलगायत जातका स्याउ खेती गरिँदै आएको छ ।