close

गुठीचौरलाई पनि कोरोनाले लपेट्यो (भिडियो खबर)

गुठीचौरलाई पनि कोरोनाले लपेट्यो (भिडियो खबर)

ADVERTISEMENT

जुम्ला- जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिकामा पनि कोरोना संक्रमण फैलिसकेको छ । समुदाय स्तरमै फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय सरकारले सक्रियता बढाउदै आएको छ । कोरोना संक्रमणकै कारण गाउँपालिकाका जेष्ठ नागरिक एक पुरुष र एक महिनाको मृत्यु भइसकेको छ । गुठिचौर गाउँपालिकामा ६५ जना कोरोना संक्रमति मध्ये ५७ जना निको भइसकेका छन् ।

 

अहिले स्थानीय सरकारले निर्माण गरेको आइसोलेसनमा ७ जना सक्रिय संक्रमित बसेका छन् । ति सबैको हेरचाह र स्याहार पालिकाले गरिरहेको छ । समुदायस्तरमै फैलिएको कोरोना संक्रमणबाट बचाउनका लागि जुम्लाको गुठीचौर गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नका लागि सचेतीकरण गर्दै आएका छन् । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जनस्वास्थ्य कार्यालय जुम्लाको समन्वयमा स्थानीय स्तरमै पीसीआर परीक्षणका लागि स्वाब संक्रमण र एन्टीजेन परीक्षण गर्दै आएको छ ।

 

कोरोना परीक्षणबाट संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई छुट्टै आइसोलेन कक्षमा राख्ने गरेको छ । गाउँपालिकाले पाँच शय्याकोे अक्सिजनसहितको अस्थायी कोभिड अस्पताल र आइसोलेसन कक्ष बनाएर कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रियता बढाउदै आएको हो । 

 

गाउँपालिकाको प्रवेशद्वार दानसाँघुमा हेल्थडेक्स निर्माण गरेको छ । गाउँपालिका प्रवेश गर्ने नागरिकको तामक्रम (ज्वरो) नाप्ने र आवश्यक सल्लाह सुझाब दिने गरिएको छ । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबै स्थानीय तहमा चिकित्सक परिचालन गरेको छ । सवै वडास्तरमा पुगेर कोरोना परीक्षण गर्ने र त्यहाँका नागरिकलाई स्वास्थ्य सुरक्षा सम्वन्धी सचेतीकरण गरिँदै आएको छ । 

 

गाउँपालिकामा पाँच बेडको अस्थायी कोभिड अस्पताल बनाइएको छ । ३० थान अक्सिजन सिलिन्डरको पनि व्यवस्थापन गरिएको छ । त्यसैगरी आइसोलेसन कक्ष पनि बनाइएको छ । संक्रमित सबैलाई संस्थागत आइसोलेसनमै बस्ने व्यवस्थापन गरेको छ । 

 

अहिले पालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्ने जस्ता सचेतीकरण पनि गर्दै आएको छ । पालिकाले संक्रमण न्यूनिकरणका लागि चाहिने सबै जनशक्ति र स्रोतको परिचालन गरेर भएपनि महामारी नियन्त्रणमा ल्याउने अठोट लिएको छ । र, प्रतिबद्धता अनुसारको काम पनि भइरहेको छ ।