close

कोरोना जितेका जनप्रतिनिधि भन्छन्ः तातो झोल खानूस्, नआत्तिनूस्

कोरोना जितेका जनप्रतिनिधि भन्छन्ः तातो झोल खानूस्, नआत्तिनूस्

Trulli
ADVERTISEMENT

खोटाङ- छिमेकी पालिकामा कोभिड-१९ को संक्रमण दिनानुदिन फैलिरहेको थियो । अन्य पालिकामा संक्रमित भेटिन थाले लगत्तै संक्रमण फैलिन नदिन खोटाङको रावाबेँसी गाउँपालिकाले सिमा नाका सिल गर्यो । 


गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला कोभिड-१९ बाट बच्न र बचाउन स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने, आवत-जावत बन्द गर्ने, एन्टीजेन परीक्षण गर्नेलगायतका महामारी विरुद्धका अभियानमा कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित निस्किए । 

 

कोभिड-१९ बाट ‘अरुलाई बच्नुपर्छ’ भन्दाभन्दै गाउँपालिका अध्यक्ष नै संक्रमित भए । ज्वरो आउने, खोकी लाग्ने लगायतका स्वास्थ्य समस्या देखिएपछि एन्टीजेन परीक्षण गर्दा अध्यक्ष निरौला पनि संक्रमणबाट अछुतो रहेनन् । गत ६ जेठमा संक्रमण पुष्टि भएका अध्यक्ष निरौला करिब दुई हप्तामा कोभिड-१९ लाई पराजित गरेर नियमित काममा फर्किसकेका  छन् । 


गाउँपालिका अध्यक्ष निरौलाको अनुभवमा संक्रमण भएपछि भोक लाग्न छाड्यो । खान मन नलाग्ने, खाएको खानाको स्वाद केही थाहा नहुने, उल्टी आउन खोज्ने, घाँटी दुख्ने, खोकी लाग्ने जस्ता समस्या देखा पर्‍यो ।


थोरै चिसो पानी मुखमा पर्‍यो भने पनि टन्सिल हुन खोज्ने शारीरिक समस्या निम्तियो । कोभिड-१९ को संक्रमणबाट मुक्त हुनका लागि के-के विधि अपनाउनु भयो त ? उनले उत्तर दिए, ‘नियमित तातो पानी पिउने नै रहेछ । धेरै झोलिलो खानेकुरा खाइरहनु पर्छ । मुख कुल्ला गर्दा पनि तातो पानी प्रयोग गर्नु पर्छ ।’ 

 

गाउँपालिका अध्यक्ष संक्रमित भएपछि साविकको भन्दा बढी झोलिलो खानेकुरा बढी खानुपर्ने निष्कर्षमा छन् ।  दिनमा पाँच÷छ लिटर तातो पानी पिएपछि भोक लाग्न थालेको अनुभव छ । 

 

कोरोना जित्ने अध्यक्षको टिप्स


रोगले शरीर शिथिल बनाएको छ । श्वास बढेजस्तो हुने समस्या देखियो । खानपानमा अझै पनि ख्याल गर्नुपर्ने अवस्था छ । असपतालको सट्टा घरमा बस्दा पनि कतिपयलाई सहज हुन्छ जस्तो लागेको छ । 


साथीभाई छरछिमेकले बोलाइ रहने, हाइहेल्लो गर्ने, स्वास्थ्य लाभको कामना गर्ने गर्दा पनि मनोवल बढ्दो रहेछ । आफै संक्रमित हुँदा पनि गाउँपालिकाको कामकाजका क्रममा गर्नुपर्ने फोन सम्पर्कले ‘बिरामी छु’ भन्ने अनुभूति नै भएन मलाई ।

 

होमआइसोलेसनमा बस्दा फोनमार्फत गाउँपालिकाकै काममा अलमल भयो । आज स्वास्थ्यकर्मी फलानो ठाउँमा जाने, सुरक्षाकर्मीले के गर्दैछ ? आज गाडी खोल्ने की नखोल्ने ? यस्ता कुराले अलमलायो । नकरात्मक कुरा मात्रै नसोचेर सकरात्मक कुरा भइरहने वातावरण बन्यो ।

 

मोबाईल मात्र कोट्याएर बस्यौं भने पनि चिन्तित हुने रहेछौँ । साथीभाईसँग हाइहल्लो गर्ने, फोनबाटै काम लगाएको लगायै गर्ने गर्दा रोग लागेको बिर्सँदाे रहेछ । 


म त बिरामी छु भनेर बसिन । फोनबाटै जहिल्यै काममा तैनाथ रहेँ । त्यसबाट पनि मलाई बिरामी छु जस्तो अनुभुति भएन । धेरै कामकै तनाव लिइराखियो । बिरामी छु भनेर तनाव लिन नहुने रहेछ ।

वडाध्यक्षको चाही यस्तो छ टिप्स 
 


जनप्रतिनिधिका नाताले हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई आफ्नो वडाबासीलाई संक्रमणबाट ‘बच्ने र बचाउने’ विधिका बारेमा सचेत गराउँदै खटिइरहेका बेला संक्रमित भए ।


भटाभट आफ्नै वडाबासीलाई संक्रमण देखिन थाल्यो । महामारीका रुपमा फैलिरहेको संक्रमणबाट सावधानी अपनाउँदा अपनाउँदै वडाध्यक्ष राई पनि अछुतो रहन सकेनन् । 


संक्रमण पुष्टि भएपछि बालबच्चालाई अलग्गै बस्न बेँसीको घर गोठमा राखे उनले । संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीसँगको सम्पर्कमा रहेर होम आइसोलेसनमा बसे । स्वास्थ्यकर्मीले सिफासिस गरेको औषधि र घरेलु उपचार विधि अपनाएर वडाध्यक्ष राई दुई हप्तापछि संक्रमण मुक्त बनेका छन् । 

 

वडाध्यक्ष राईले उच्च मनोवलका साथ कोरोनासँग जुध्ने हिम्मत गरे । ‘म संक्रमित छु वा बिरामी छु’ भनेर कहिल्यै सोचेनन् । थचक्क बस्नुजस्तो गरी नशा दुख्थ्यो उनको । बोराभित्र हालेर कुटेझैं गरी शरीर दुख्थ्यो । उस्तैगरी नाक थुनिन्थ्यो । खानामा अरुची हुन्थ्यो । तर, उनले सँधैझैँ घाँसदाउरा मेलापातको काम गरिरहे । 


शरीरबाट पसिना छुट्नेगरी काम गर्ने अनि नुहाउने गरे । होमआइसोलेसनमा बसेकोबेला सबैभन्दा बढी तातो पानी पिएको वडाध्यक्ष राई बताउँछन् । बिहान र बेलुका बेसार मिसिएको तातो पानी पिए उनले । अन्यबेला भने पटक-पटक अधिक मात्रामा तातो पानी मात्र पिए । तातो पानी पिउन मन नलागे चिनी, मिस्त्री वा नुन हालेर लिए । 


कोदोको पिउन मिल्ने खोले, गहतको टर्रो झोल, गेडागुडीको झोल बनाएर खाए । गहतको टर्रो झोल, कोदोको खोले र गेडागुडीको झोल बनाएर पनि खाए । पसिना आउनेगरी काम गरिरहेँ । पसिना छुटेपछि नुहाएँ ।


दैनिक २० देखि २५ मिनेट हिँडे । गन्ध थाहा नपाउनेगरी थुनिएको नाकबाट मात्र श्वास फेर्ने अभ्यास गरेँ । थुनिएको नाक खोल्न तातो पानी हालेर दैनिक सफा गरेँ । उनी यतिवेला कोभिडको संक्रमणसँग जुध्नेक्रममा फोनमार्फत अन्य संक्रमितलाई आफुले अपनाइरहेको स्वास्थ्य सुरक्षा विधिका बारेमा जानकारी दिइरहेका छन् ।