close

बुटवल उपमहानगरको बालरोग विशेषज्ञसँग परामर्श : सम्भावित अर्को महामारी नियन्त्रणको पूर्वतयारीमा जुट्न

बुटवल उपमहानगरको बालरोग विशेषज्ञसँग परामर्श : सम्भावित अर्को महामारी नियन्त्रणको पूर्वतयारीमा जुट्न

Trulli
ADVERTISEMENT

रूपन्देही– बुटवल उपमहानगरले कोरोना संक्रमणको तेस्रो, चौथो लहरको सम्भावित खतरा र त्यसको जोखिम क्षेत्रमा रहेकाको सुरक्षालगायत विषयमा विज्ञहरूसँग छलफल गरेको छ । खासगरी अब आउने भनिएको लहरले बालबालिकालाई प्रभावित बनाउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले पत्राचार गरेपछि यहाँका बालरोग विशेषज्ञसँग उपमहानगरले छलफल र परामर्श गरेको हो ।

 

महामारीको तेस्रो लहरको पूर्वतयारीस्वरूप बालरोग विशेषज्ञहरूसंग सम्भावित जोखिम न्यूनीकरण र विद्यमान जनशक्तिबारे छलफल गरिएको उपमहानगर प्रमुख शिवराज सुवेदीले बताए ।

 

लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज (युसीएमएस), क्रिमसन अस्पताल, देवदह मेडिकल कलेज, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका बालरोग विशेषज्ञ तथा प्रतिनिधिसँग आइतबार उपमहानगरमा विशेष छलफल भएको हो । 

 

सार्वजनिक, निजी तथा सामुदायिक अस्पताललाई तयारी अवस्थामा रहन आग्रह गर्नुका साथै ३ वटै तहका सरकारबाट आवश्यक सहयोगबारे विज्ञहरूसँगै विशेष छलफल भएको प्रमुख सुवेदीले बताए । आम्दा अस्पताललाई मातृ र शिशु स्याहार केन्द्रका रूपमा विकास गर्ने गरी उपमहानगरले विभिन्न पक्षको सहकार्यमा काम अगाडि बढाएको प्रमुख सुवेदीको भनाइ छ ।

 

महामारीको लहरले सताउने अवस्था आए त्यसको सामना गर्न योजना बनाउन विशेषज्ञलाई सहभागी गराएर छलफल आयोजना गरिएको उनले जानकारी दिए ।

 

छलफलमा सहभागी विशेषज्ञहरूले आउने लहरले बालबालिकालाई नै लक्षित गरेर सताउने भन्ने वैज्ञानिक आधार नभए पनि खोपको पर्याप्तता नहुँदासम्म जुनसुकै उमेर समूहलाई पनि जोखिम कायमै रहेको बताए ।

 

विशेषज्ञहरू डा. राजु काफ्ले, डा. सन्तोष पोखरेल, डा. नेत्रबहादुर राना, डा. अजय श्रीवास्तव तथा डा. हिम श्रेष्ठलगायतका विभिन्न अस्पतालमा कार्यरत बालरोग विशेषज्ञहरूले पूर्वतयारीमा लागिसकेको जानकारी दिए । तर, साधन–स्रोत र जनशक्तिको व्यवस्थापनमा ३ वटै तहका सरकारले विशेष ध्यान दिनुपर्नेमा उनीहरूको जोड छ । 

 

महामारी आइहाल्दा विद्यमान संरचना, साधन–स्रोत र जनशक्तिले मात्रै थेग्न गाह्रो पर्न सक्ने भन्दै विशेषज्ञहरूले उपकरण र केही स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न आग्रह गरे । बालरोगसँग सम्बन्धित विशेषज्ञको सञ्जाल नेपाल पेडियाट्रिक सोसाइटीमार्फत महामारीविरुद्ध बालबालिकालाई जोगाउने विषयमा विशेष पोट्रोकलसमेत तयार भएको उक्त सञ्जालमा आबद्ध रहेका डा. राजु कफ्लेले बताए । 

 

तत्कालै आत्तिइहाल्नुपर्ने अवस्था नरहे पनि सचेतना, सावधानी र पूर्वतयारी जरुरी रहेको विशेषज्ञहरूको भनाइ छ । कोभिडको हालसम्मका लहरमा बालबालिका पनि संक्रमित भएको, उनीहरूमध्ये धेरैमा संक्रमणका लक्षण कम पाइएको र गम्भीर अवस्था पनि नभएको पाइएको विशेषज्ञहरूले बताए । 

 

बालबालिकामा एन्टीबोडी र भाइरसँग जुध्ने क्षमता फरक खालको हुने भएकाले पनि संक्रमितले चाँडो परास्त गर्न सकेको पाइएको विशेषज्ञ डा. सन्तोष पोखरेलको भनाइ छ । 

 

बालरोग विशेषज्ञहरूसँगको छलफलमा उपप्रमुख गुमादेवी आचार्य, विज्ञद्वय बाबुराम भट्टराई, एजाज आलम, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी तथा उपमहानगरका स्वास्थ्य, शिक्षा र जनशंख्या महाशाखा प्रमुख मित्रमणि खनाललगायत सहभागी थिए । विज्ञहरू भट्टराई र आलमले पूर्वतयारीलाई तीव्रता दिनुपर्ने र अफवाहलाई चिर्दै सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

 

उपमहानगरमा भएको छलफलमा सहभागी डा. अरुण पोखरेल, डा. मनोज कुशवाह, डा. लक्ष्मण पौडेल, डा. किरण पन्थी, डा. नारायण पोखरेललगायतले साधन– स्रोत र जनशक्ति व्यवस्थापनमा ध्यान दिन ३ वटै तहका सरकारलाई आग्रह गरे । 

 

उपमहानगरका स्वास्थ्य जनस्वास्थ्य अधिकृत उमादेवी थापाले हालसम्म उपमहानगरमा रहेका बालबालिकामा संक्रमण नदेखिएको र केहीमा ज्वारो आउने समस्या देखिए पनि १–२ दिनमै ठीक भएको रिपोर्ट आएको बताइन् । 

 

नेपालमा तेस्रो र चौथो लहर आउँदा बालबालिकालाई जोखिम हुने भन्दै स्वास्थ्य मन्त्रालयले केही दिनअघि सबै अस्पताललाई अक्सिजन व्यवस्थापनसहित २० प्रतिशत शय्या बालबालिकाका लागि उपयुक्त हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो ।