close

रुकुम पूर्वका ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य वस्तु छोइनसक्नु

व्यापारीले कोरोनालाई वहाना बनाएर बढाए मूल्य

रुकुम पूर्वका ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य वस्तु छोइनसक्नु

व्यापारीले कोरोनालाई वहाना बनाएर बढाए मूल्य

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको माथिल्लो तथा दुर्गम क्षेत्रमा रहेका ग्रामीण बस्तीमा व्यापारीले दैनिक उपभोग्य खाद्यान्न वस्तुमा मनोमानी मूल्य बढाएको स्थानीयले गुनासो गरेका छन् । निषेधाज्ञाको वहाना बनाएर व्यवसायीले स्थानीयलाई बिक्री गर्ने उपभोग्य सामानको मूल्य बढाएका हुन् । 

 

कोरोना महामारीको चपेटामा परेका नागरिक यही समय दैनिक उपभोग्य खाद्यान्न सामग्रीमा मूल्यवृद्धि हुँदा झनै समस्यामा परेको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ मैकोटका धलबहादुर पुन मगरले गुनासो गरे ।

 

‘कोरोना संक्रमणको जोखिमले जनता एकातिर त्रसित छन्,’ पुन मगरले भने, ‘अर्कोतिर हरेक दिन चाहिने सामानलाई महँगोमा किनेर खानुपर्ने बाध्यता छ । सोधीखोजी गर्ने निकाय मौन छन् ।’

 

मैकोटमा अहिले ३० किलोको सोना मन्सुली १ बोरा चामललाई २ हजारदेखि साढे २ हजार रुपैयाँ पर्ने गरेको छ । सोही चामलको मूल्य अस्थायी सदरमुकाम रुकुमकोटमा १ हजार ४०० सय रुपैयाँ पर्ने गरेको छ ।

 

माथिसम्म पुर्‍याउँदाको केही भाडा जोडेर नाफा निकालिए पनि अहिलेको मूल्य अत्यधिक महँगो भएको स्थानीय बासिन्दाको दुखेसो छ । अहिले १ किलो आयुडिन नुनलाई ५० रुपैयाँमा पसलेले बिक्री गर्ने गरेका छन् ।

 

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ का चेतकुमार सेनले अत्यावश्यक सामग्रीको मूल्य अकासिएपछि दैनिकी चलाउनै मुस्किल भएको बताए । चामल र नुनको मात्र मूल्यवृद्धि नभएर दाल, खानेतेल, लत्ताकपडा, रिचार्ज कार्डमा समेत पसलेले मूल्यवृद्धि गरेका छन् । 

 

सिस्ने र भूमे गाउँपालिकाका ग्रामीण क्षेत्रमा पनि निषेधाज्ञा भएदेखि व्यापारीले मूल्य बढाएर उपभोक्तालाई ठग्दै आएको स्थानीय सुनाउँछन् । मुख्य बजारमा मात्रै अनुगमन हुने गरेको तर ग्रामीण क्षेत्रका पसलमा अनुगमन नहुँदा व्यापारीको मनोमानी चलिरहेको उनीहरूको भनाइ छ । 

 

जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र बुढाक्षेत्री महामारीको समय कोरोना रोकथाम र नियन्त्रणका लागि सबै आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा अनावश्यक मूल्य बढाएर उपभोक्ता ठगी गर्नेमाथि कारबाही गरिने बताउँछन् ।

 

सडक सञ्जालमा नजोडिएका जिल्लाका विभिन्न दुर्गम ठाउँका पसलमा छिट्टै अनुमगन गरिने उनले जानकारी दिए ।