close

संक्रमितको स्याहार-सुसारमा व्यस्त छन् बुटवलका जनप्रतिनिधि (भिडियो खबर)

संक्रमितको स्याहार-सुसारमा व्यस्त छन् बुटवलका जनप्रतिनिधि (भिडियो खबर)

ADVERTISEMENT

रूपन्देही- कोरोनाको दोश्रो लहर फैलिएसँगै रूपन्देहीको बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि पनि जनताका घरघरमा स्वास्थ्य अवस्था बुझदै हिड्न थालेका छन् । विगत ३ वर्ष पहिलेको चुनावको झल्को दिने गरी अहिले बुटवल उपमहानगरपालिकाका प्रमुख-उपप्रमुख र वडाध्यक्षका साथै स्वास्थ्यकर्मी संक्रमितको घरघर पुग्ने गरेका छन् ।

 

फरक अहिले यत्ति छ, चुनावको बेलामा हातमा ब्यानर, झन्डा, पम्प्लेट हुने गर्दथे भने अहिले हातमा मास्क, सेनिटाइजर, स्वास्थ्यकर्मी र औषधि लिएर बुटवलका नगरप्रमुख शिवराज सुवेदी घरघर हिँडेका छन् । पालिकाभित्र ९ हजार भन्दा बढी संक्रमति भएको भए पनि अहिलेसम्म उनी ६ हजार घरमा पुगेका छन् । 

 

कोभिडको संक्रमणमा परेर बुटवलमा आइसोलेसनमा बसेका नागरिकलाई घरघरमै पुगेर आयुर्वेद ओखती र अक्सिजन दिइएको छ । महामारीलाई जित्ने पहिलो र प्रभावकारी उपाय भनेकै स्वयंको उच्चतम मनोबल हाे भन्दै जनप्रतिनिधि घरमै पुगेर संक्रमितलाई ढाडस दिने गर्छन् ।

 

हालसम्म करिब ६ हजार जनाको घरदैलोमा पुगेर आयुर्वेद ओखती प्रदान गर्नुका साथै स्वास्थ्य अवस्थाको नियमित जानकारी लिने गरिएको छ । समुदायमा स्वास्थ्य समस्याको पहिचान र समाधानका उपायको खोजी, बुटवल र आसपासमा काम गर्न आएका विभिन्न जिल्लाका मजदुरको अवस्थाको सोधीखोजी र उद्धारदेखि राहतवितरणलाई समेत सँगसँगै सञ्चालन गरिएको छ । 


बुटवल उपमहानगरले घरघरमा पुगेर स्याहार र हेरचाह मात्र नभई पालिकामा कोरोना भाइरसको पिसिआर परीक्षणको दायरा पनि बढाएको छ । संक्रमितलाई आवश्यक पर्ने आहार र जनचेतनामुलक कार्यक्रम पनि गर्दै महामारी नियन्त्रणमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न अभियान चलाउँदा स्थानीय दंग छन् । 


उपमहानगरपालिकाले महामारीमा गरेको काम साँच्चै प्रशंसनीय छ । नागरिकका सुख,दुःखमा साथ दिने नै जनप्रतिनिधि र स्थानीय सरकार भएकाले अहिलेको अवस्थामा उनीहरूको प्रमुख दायित्व पनि यही नै हो । यसमा उपमहानगर अब्बल देखिन्छ । महामारीको समयमा विपन्नलाई राहत वितरण गर्न सके अझ उपमहानगरको चर्चा चुलिने अपेक्षा गरिएको छ ।