close

बजेटमा समेटियो भक्तपुरको भौतिक विकास (भिडियो खबर)

बजेटमा समेटियो भक्तपुरको भौतिक विकास (भिडियो खबर)

ADVERTISEMENT

भक्तपुर- १५ जेठमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९का लागि बजेट सार्वजनिक गरे । बजेटमा स्थानीय तह तथा केन्द्रीय सरकारबाट हुने विकास योजनाका लागि आवश्यक अर्थ सार्वजनिक गरेको छ । बजेटबाट भक्तपुरका चार वटै स्थानीय तहलाई समेटेको छ ।

 

बजेटले भक्तपुरको भौतिक विकासलाई मात्रै नभई मानवीय विकाससँगै स्वास्थ्य क्षेत्रलाई समेत प्राथमिकता दिएको छ । भक्तपुरका स्थानीय तहलाई दिइएको अनुदान रकमप्रति स्थानीय सरकार सन्तुष्ट त देखिएका छन् । तर, स्थानीय तहका जनप्रतिनिधि भने सरकारले बजेट जारी गरे पनि स्थानीय तह स्वयंले बजेट आँकडा बनाउनुपर्ने बताउँछन् । 


लामो समयदेखि अन्योलमा परेको भक्तपुरको चाँगुनारायण नगरपालिकाको दुवाकोटमा गौरवको आयोजनाका रूपमा अन्तर्राष्ट्रिय स्तरको वीर अस्पतालको नयाँ भवन निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटले बाटो खुलाएको छ । बजेटमा नगरपालिकाको वडा नम्बर १, २ र ४ मा फैलिएको जग्गामा अबको ३ वर्षभित्रै अस्पताल निर्माण सम्पन्न गर्ने योजना छ ।

 

३ वर्षभित्र निर्माण सम्पन्न हुने गरी सेवा सञ्चालन गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदनलगायत पूर्वतयारी सम्पन्न गरिने भएको छ । भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन एकैसाथ पूरा गरी अस्पताल सञ्चालनमा ल्याइने भएको छ  । यसलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी छुट्टै आयोजना कार्यालयमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइने भएपछि नगरपालिका खुसी भएको छ । 

 

चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमि, शंखरापुर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका ४ स्थानमा स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित गरी सार्वजनिक निजी साझेदारीमा नयाँ सहर निर्माण अगाडि बढाइने भएको छ । घरेलु हिंसामा परेका बेवारिसे महिलालाई संरक्षण गर्न भक्तपुरको सूर्यविनायकमा मंगला सहाना पुर्नस्थापना केन्द्र निर्माण गरिने भएको छ ।

 

भक्तपुरमा सरकारी स्तरबाट बालसुधार गृह सञ्चालन गरिने घोषणा बजेटमा परेको छ । भक्तपुरको सूर्यविनायकमा निर्माणाधीन राष्ट्रिय प्राणी उद्यानको निर्माण कार्य सम्पन्न गरिने, भक्तपुरमा मेलम्चीको पानी विवरणका लागि पाइपलाइन वितरण गरिने, सल्लाघारीको ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने कार्यक्रम आगामी आवको बजेटमा परेका छन् ।

 

सरकारले बजेट जारी गरे पनि स्थानीय तह स्वयंले बजेट आँकडा बनाउनुपर्ने जनप्रतिनिधि बताउँछन् । प्रदेश सरकारले बजेट दिएपछि स्थानीय तहले आफ्नो लागि उपयुक्त बजेट ल्याउनेछ । यससँगै भक्तपुरका स्थानीय तहका योजनालाई बजेट विनियोजन गरिएको छ । स्थानीय तहलाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदानमार्फत बजेट विनियोजन गरेको छ ।

कुन पालिकाको भागमा कति बजेट ?

चाँगुनारायण नगरपालिकाः ५४ लाख ३६ हजार
भक्तपुर नगरपालिकाः ६१ लाख ७७ हजार
मध्यपुर थिमि नगरपालिकाः ४४ लाख ६७ हजार
सूर्यविनायक नगरपालिकाः ५१ लाख २६ हजार

 

वजेट बक्तव्यले सरकारी कर्मचारीको कार्यालय सहयोगीदेखि सचिवसँगै शिक्षकहरुको समेत तलब वृद्धि गरेको छ । विद्यालयसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई आएको छ । त्यसैले बजेट वक्तव्यमार्फत भएको तलब वृद्धिले स्थानीय तहको जिम्मेवारीसँगै खर्चसमेत बढाएको छ । 

 

कोरोना नियन्त्रणमा बढी केन्द्रित भएको भनिएको बजेटमा स्थानीय सरकारका पनि असीमित असन्तुष्टि समाधानको प्रयास गरिएको छ । स्थानीय तहलाई १ खर्ब १३ अर्ब ९ करोड ससर्त अनुदान दिने मात्र नभई स्थानीय तहमा स्वास्थ्य बिमा सञ्चालन गर्न साढे ७ अर्ब विनियोजन गरिएको छ । यसबाहेक स्थानीय तहलाई केन्द्रित गर्दै ल्याइएको बजेटप्रति स्थानीय सरकार पनि खुसी छन् ।