close

सिद्धार्थनगरका मुख्य सडकमा ठड्याइँदै बुद्धमूर्ति 

सिद्धार्थनगरका मुख्य सडकमा ठड्याइँदै बुद्धमूर्ति 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रका मुख्य सडकको डिभाइडरमा धमाधम बुद्धमूर्ति राख्न थालिएको छ । भैरहवाको बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अगाडिसम्म मूर्ति राखिन थालेको हो ।
 
पहेँलो धातुले लेपन गरिएका मेटलका मूर्ति सडकको बीच भाग (डिभाइडर) मा ठड्याउन सुरु गरिएको छ । यसले नगरको सौन्दर्य थप सुन्दर बनाउँदै लगेको छ । लुम्बिनी प्रदेश सकार पर्यटन मन्त्रालयअन्तर्गत पर्यटक डिभिजन कार्यालयले उपलब्ध गराएको ७५ लाख रुपैयाँबाट अहिले मूर्ति राख्ने काम भइरहेको हो ।
 
कार्यालयले बुद्धमूर्ति उपभोक्ता समिति गठन गरेर अहिले धमाधम मूर्ति राखिरहेको छ । उपभोक्ता समिति अध्यक्ष भरतकुमार पोखरेलले चालू आर्थिक वर्षभित्रै बुद्ध चोकदेखि गौतमबुद्ध विमानस्थलसम्म १९ वटा बुद्धमूर्ति राखिने जानकारी दिए । उनले भने, ‘सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियानअन्तर्गत अहिले मूर्ति राख्ने काम जारी छ । यसले नगरको सुन्दरता थप गर्नेछ ।’


 
पोखरेलका अनुसार कोरोना महामारीले मूर्ति राख्न केही ढिलाइ भए पनि आवभित्रै सबै मूर्ति राख्ने गरी दु्रत गतिमा काम भएको छ । ‘डेढ महिनाअघि मात्रै उपभोक्ता समिति गठन भएको हो । ‘निषेधाज्ञाले काममा केही ढिलाइ भएको हो । तर, हामीले रातदिन नभनी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गरिरहेका छौँ’, उनले भने ।


 
अहिले मूर्ति राख्न पिलर बनाउने काम अन्तिम चरणमा पुगेको छ । काठमाडौंको पाटनमा मूर्ति धमाधम तयार भइरहेका छन् । ६ वटा मूर्ति भैरहवा ल्याएर जडानको काम जारी छ । ‘बाँकी मूर्ति पनि आवभित्रै तयार हुन्छन् । त्यसपछि हामीले यहाँ ल्याएर जडान गर्नेछौँ’, उपभोक्ता समितिका कोषाध्यक्ष कृष्ण भट्टराईले भने ।


 
अघिल्लो आर्थिक वर्षमा सिद्धार्थनगर नगरपालिकाले बुद्धमूर्ति व्यवस्थापन उपभोक्ता समिति गठन गरेर भैरहवाको अञ्चलपुरदेखि बेलहियाबाइपास सडकसम्म बुद्धमूर्ति राखेको थियो । उक्त समितिको पनि अध्यक्ष भएर पोखरेलले काम गरेका थिए ।

 

त्यसबेला नगरले ४६ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने उपभोक्ता समितिले विभिन्न संघ-संस्था र उद्योगी-व्यवसायीसँग सहकार्य गरी २५ लाख रुपैयाँ सहयोग उठाएर मूर्ति व्यवस्थापनको काम गरेको थियो ।


 
उक्त रकमबाट अघिल्लो वर्ष १९ वटा बुद्धमूर्ति सडक डिभाइडरमा राखिएको छ । सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले नगरलाई बुद्धमय बनाउने अभियानअनुसार मूर्ति राख्ने काम भइरहेको जनाए । उनले भने, ‘यो शान्तिभूमि, पर्यटकीय नगर हो । यहाँ जति सौन्दर्यकरण गर्न सक्यौँ, यसले नगरको गरिमा मुलुकमा मात्रै नभई देश-विदेशमा पनि जान्छ ।’


 
सहज अवस्थामा बेलहिया नाका हुँदै लाखौँ विदेशी पर्यटक नेपाल भित्रिन्छन् । नाकाबाट आउने पर्यटकले पहिलो पाइला नगरमै टेक्ने भएकाले यहाँ बुद्ध चिनारीका कुनै वस्तु नहुँदा बुद्धभूमि आएको थाहा पाउँदैनथे । अहिले बुद्धमूर्ति राखिएपछि पर्यटकले नाकामा आउनेबित्तिकै बुद्धभूमिमा आएको महसुस गर्न सक्ने अधिकारीले बताए ।


 
उपभोक्ता समिति अध्यक्ष पोखरेलले भैरहवालाई शान्ति र सुन्दर नगरी बनाउन चाहेको र सोहीअनुसार जनप्रतिनिधिसँग हातेमालो गरेर काम गरिरहेको जानकारी दिए ।


‘सिद्धार्थनगर भनेको बुद्धस्थल हो । नेपाल आउने पर्यटकले शान्तिको सन्देश लिएर जानुपर्छ । सिद्धार्थनगर, लुम्बिनी र नेपालप्रति पर्यटकको माया थप बढोस् । उनीहरूले बुद्धको ज्ञान संसारभरि छरुन् भन्ने उद्देश्यले मूर्ति राखिएको हो’, पोखरेलले भने ।