close

खाद्यान्नमा २० प्रतिशत सरकारी छुट : सुगममा घुइँचो, दुर्गममा कार्यान्वयनै भएन

खाद्यान्नमा २० प्रतिशत सरकारी छुट : सुगममा घुइँचो, दुर्गममा कार्यान्वयनै भएन

Trulli
ADVERTISEMENT

बाजुरा– कोरोना महामारीको समय सरकारले खाद्यान्न वितरणमा २० प्रतिशत सहुलियत दिने जनाए पनि कोल्टीका नागरिकले छुट नपाएको गुनासो गरेका छन् । निषेधाज्ञाको समय खाद्यान्न बिक्री वितरण भएका संस्थानबाट नागरिकलाई २० प्रतिशत छुट दिने भनिए पनि बाजुराबासीले छुट नपाएको गुनासो गरेका हुन् ।

 

सरकारले देशैभरिका खाद्यान्न संस्थानका शाखा, डिपोबाट बिक्री वितरण हुने चामलमा २० प्रतिशत रकम छुट दिँदै आए पनि कुन्ना क्षेत्रका नागरिकले सहुलियत नपाएको गुनासो गरे । जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य संस्थान बाजुराले सरकारको निर्णयअनुसार चामल बिक्री वितरणमा छुट दिए पनि यस क्षेत्रमा पुरानै मूल्यमा दिइने गरेको स्थानीयले बताए ।

 

सुगम ठाउँमा खाद्य संस्थानले चामल बिक्रीमा २० प्रतिशत छुट दिने गरे पनि दुर्गममा सरकारी सहुलियत नपाउँदा मर्कामा परेको स्थानीयको गुनासो छ । गाडी सहज रूपमा आउजाउ हुने र अन्य सुविधा भएको ठाउँका स्थानीयले सहुलियतमा चामल खान पाए पनि दुर्गमबासीले भने पुरानै मूल्यमा खरिद गरिरहेका हुन् ।

 

चामलमा २० प्रतिशत छुट दिने सरकारको निर्णय सुगम क्षेत्रमा मात्रै लागू भएको र दुर्गममा कार्यान्वयनमा नआएको स्थानीयको आरोप छ । सरकारले चामलमा सहुलियत दुर्गमकालाई दिनुपर्ने सुगम ठाउँकालाई दिएको उनीहरूको गुनासो छ ।

 

सरकारको निर्णयअनुसार नेपाल खाद्य संस्थान बाजुरा शाखाले बिक्री मूल्यमा २० प्रतिशत छुट दिएर खाद्यान्न बिक्री वितरण सुरु गरेको जनाएको छ । सरकारले निषेधाज्ञा अवधिभर २३ जेठदेखि देशभरका खाद्य संस्थानको डिपोबाट चामलको मूल्यमा २० प्रतिशत छुुट दिने घोषणा गरेअनुसार बाजुरा शाखाले निर्णय कार्यान्वयनमा ल्याएको छ ।

 

चामलमा छुुट दिने सरकारी निर्णयपछि बाजुराका खाद्यान्न डिपोमा चामल किन्नेको घुुइँचो लागेको छ । बाजुरामा मोटो चामल प्रतिकेजी ४५ रुपैयाँमा बिक्री गर्दै आएकामा छुटपछि प्रतिकेजी ३६ मा बेच्न थालेको संस्थान प्रमुख मेघराज ओझाले बताए । उपभोक्तालाई नागरिकताका आधारमा ३० केजीको १ कठ्ठा चामल दिने गरेको उनको भनाइ छ ।

 

सदरमुकाम मार्तडीमा २० प्रतिशत छुटमा चामल बिक्री वितरण भए पनि कोल्टीमा छुट उपलब्ध नरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय कोल्टीले बाजुराले बताएको छ । संस्थानमा अहिले पुरानै मूल्यमा चामल बिक्री वितरण भइरहेको खाद्य
संस्थान कोल्टी प्रमुख नवीन आचार्यले जानकारी दिए । ‘संस्थानबाट अहिले मोटो चामल प्रतिकेजी ४८ रुपैयाँमा बिक्री वितरण गरिरहेका छौँ’, उनले भने ।