close

मैवाखोलाकोे कृषि कोष, अब गाउँपालिकाले नै दिनेछ कृषि ऋण

मैवाखोलाकोे कृषि कोष, अब गाउँपालिकाले नै दिनेछ कृषि ऋण

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको मैवाखोला गाउँपालिकाले किसानहरुलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन कृषि कोष बनाउने भएको छ ।

निर्वाहमुखी कृषि प्रणालीलाइ व्यवसायिक र आधुनिकीकरण गर्न यो कोषमार्फत किसानलाइ सहुलियतपूर्ण ऋण उपलब्ध गराइने गाउँपालिका अध्यक्ष राजनकुमार थक्लुङले जानकारी दिए ।

कोष सञ्चालन तथा व्यवस्थापनकोकार्य कार्यविधिले स्पष्ट गर्ने थक्लुङले बताए । कोषमार्फत सहुलियतपूर्ण ऋण उपलब्ध हुने छ भने यसबाहेक गाउँपालिकाले किसानलाइ खाद्यान्नमा आत्मनिर्भर बनाउन समेत योजना तय गरेको छ ।

जसअन्र्तगत उन्नत जातका बीउ बिजन र कृषि उपकरण सामग्री निःशुल्क रुपमा बितरण गरिने छ । किसानलाइ प्रयोगात्मक कृषि पाठशाला सञ्चालन गरी व्यवसायिक ज्ञान र सीपको हस्तान्तरण गरिने छ ।  

माटो सुहाउँदो ठानिएको अकबरे खोर्सानीको उत्पादन र बजारीकरणलाई गाउँपालिकाकै एक मुख्य उत्पादनको रुपमा विकास गरिने छ ।

अकबरे खोर्सानीलाइ पूर्णतया अग्र्यानिक उत्पादन गर्ने प्रवन्ध मिलाइने छ । बाँझो जग्गाहरुमा दन्ते ओखर, एभोकाँडो, अंगुर, सुन्तला, कागती र किवी प्रजातिका फलफुल लगाउन किसानलाई प्रोत्साहित गरिने छ ।

भकारो सुधार कार्यक्रममार्फत जैविक मल उत्पादन गर्न किसानलाइ पशुपालनतर्फ समेत केन्द्रित गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिए ।

‘अलैंची बगानमा कृषि प्राविधिक’ अभियान सञ्चालन गरी अलैंचीमा लाग्ने रोग र बगान व्यवस्थापनका कार्यमा कृषकलाई स्थलगत सहजीकरणको प्रवन्ध गरिएको गाउँपालिकाले जनाएको छ ।

अलैंची खेतीलाई थप व्यवस्थित र नयाँ बगान व्यवस्थापनका लागि ‘एक वडा, एक नर्सरी केन्द्र’ स्थापना गरिने छ । सोही नर्सरीमार्फत गाउँपालिकाका ६ वटै वडाका अलैंची किसानहरुलाई नयाँ बिरुवा बितरण गरिने योजना बनाइएको गाउँपालिकाले जनाएको छ । आलु खेतीमा टिस्यु कल्चर प्रविधि अपनाउने घोषणा गाउँपालिकाले गरेको छ ।