close

वडा कार्यालयले एन्टिजेन किट जुटाएपछि टोल–टोलमै परीक्षण 

वडा कार्यालयले एन्टिजेन किट जुटाएपछि टोल–टोलमै परीक्षण 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ जालपा वडा कार्यालयले आफ्नै पहलमा एन्टिजेन किट जुटाएर कोभिड–१९ परीक्षण सुरु गरेको छ ।

 

समुदाय स्तरमा फैलिइसकेको कोभिड–१९ संक्रमण भए–नभएको पहिचान गर्दै संक्रमण थप फैलिन नदिन वडा कार्यालयले आफ्नै पहलमा किट जुटाएर एन्टिजेन परीक्षण सुरु गरेको हो ।

 

विभिन्न संघ–संस्था, स्वदेश तथा विदेशमा रहेका वडाबासीको सहयोगमा १ हजार ३ सय थान किट जुटाएर वडाको टोल–टोलमा एन्टिजेन परीक्षण भइरहेको वडाध्यक्ष विकास राईले बताए ।

 

वडा कार्यालयको पहलमा जनसेवा समाज नेपाल, फ्रेन्डस् अफ नेचर, स्टोरिज अफ नेपाल, विभिन्न व्यक्तिलगायतबाट किट जुटाइएको हो । 

 

नगरपालिका, स्वास्थ्य कार्यालयलगायतबाट वडागत रूपमा किट प्राप्त हुने अवस्था नभएपछि वडा कार्यालय आफैंले किट जुटाउन अग्रसरता देखाएको हो । वडाले जुटाएको एन्टिजेन किटबाट गरिएको परीक्षणका क्रममा हालसम्म जालपाका ५८ जनालाई कोभिड–१९ संक्रमण पूष्टि भइसकेको छ । 

 

स्वास्थ्यमा गम्भीर समस्या नभएकाले संक्रमितलाई होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको छ । नियमित आउजाउ हुने छिमेकी वडाबाट समेत संक्रमण भित्रिने त्रास भएकाले वडा नम्बर ११ खार्मीको साब्रु र रावाबेँसी गाउँपालिका वडा नम्बर ६ हौंचुरको राइसिंगेमा पनि एन्टिजेन परीक्षण तयारी गरिएको वडाध्यक्ष राईले जानकारी दिए ।

 

एन्टिजेन परिक्षणमा जालपा सामुदायिक अस्पताल र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीलाई परिचालन गरिएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा कार्यालय जालपाले जालपा सामुदायिक अस्पतालमा ५ बेडको अक्सिजनसहितको आइसोलेसन बनाएको छ ।

 

वडाभित्र संक्रमणबाट बिरामी गम्भीर भएको अवस्थामा संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्थाका लागि जालपा सामुदायिक अस्पतालमा अक्सिजनसहितको आइसोलेसन निर्माण गरिएको वडाध्यक्ष राईले बताए । आइसोलेसनमा ४० लिटरको अक्सिजन सिलिन्डर व्यवस्था गरिएको छ ।

 

स्वास्थ्य सामग्री जुटाउन वडा कार्यालयले पहल थालेपछि राष्ट्रिय आविष्कार केन्द्रले ४ थान अक्सिजन कन्सन्ट्रेटर, ३ थान अक्सिजन सिलिन्डर, पिपिईलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

 

यस्तै, केपिलासगढी गाउँपालिका वडा नम्बर २ खार्ताम्छा घर भई हाल बेलायती सेनामा कार्यरत विकास साम्पाङ राईले सामुदायिक अस्पताललाई ४७ लिटरका २ थान अक्सिजन सिलिन्डर उपलव्ध गराएका थिए । हाल जालपा सामुदायिक अस्पतालमा ८ थान अक्सिजन सिलिन्डर जुटिसकेको वडाध्यक्ष राईले बताए ।