close

बजार अनुगमनमा निस्कियो चन्दननाथ

कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने छ्याप्छ्याप्ती

बजार अनुगमनमा निस्कियो चन्दननाथ

कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने छ्याप्छ्याप्ती

Trulli
ADVERTISEMENT

जुम्ला- कोरोना महामारीको कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी बढेको पाइएको छ । खाद्य वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको र अखाद्य वस्तु किनबेच भइरहेको उपभोक्ताको गुनासो छ ।

 

व्यापारीले खाद्य वस्तु तथा खुद्रा सामग्रीमा मनपरी मूल्य लिएको गुनासो बढेपछि चन्दननाथ नगरपालिकाले बजार अनुगमन गरेको छ । उपप्रमुख अप्सरादेवी न्यौपानेको नेतृत्वमा निस्किएको अनुगमन टोलीले होलसेल, खुद्रा पसल र हार्डवेयरमा अनुगमन गरेको थियो । 

 

अनुगमनका क्रममा बजारमा म्याद नाघेका खाद्यन्न सामग्री किनबेच भइरहेको भेटिएको थियो । ‘कोरोनाका नाममा बढेको कालोबजारी रोक्न र मूल्यमा एकरूपता ल्याउन अनुगमन गरेका थियौँ’, उपप्रमुख न्यौपानेले भनिन्, ‘नागरिकको ढाड सेक्ने गरी कालोबजारी भएपछि अनुगमनमा निस्केका हौँ । कालोबजारी र मूल्यवृद्धि रोक्न आग्रह गरेका छौँ ।’


खानेतेल, चिनी, चामल, दाललगायत दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएपछि नागरिक मर्कामा परेका छन् । न्यौपानेले भनिन्, ‘कालोबजारी नगर्न र मूल्यमा एकरूपता ल्याउन भनेका छौँ । अटेर गरे कानुनअनुसार अघि बढ्नेछौँ ।’

 

नगरपालिकाको टोलीले खलंगामा रहेका ५ वटा ठूला डिलर, तरकारी र हार्डवेयर पसल अनुगमन गरेको थियो । अनुगमनका क्रममा उद्योग बवाणिज्य संघका पदाधिकारीले नै म्याद सकिएको सामान बेच्ने गरेको भेटिएको छ । 

 

डिलरले मूल्यमा एकरूपता भएको बताए पनि खुद्रा व्यापारी डिलरले महँगोमा बेच्ने गरेकाले उपभोक्तालाई सोही मूल्य पर्ने सुनाउँछन् । अनुगमनमा होलसेल र खुद्रा व्यापारीबीचको तालमेल नमिलेको भेटिएको थियो । टोलीले अनुगमनका क्रममा विपिन टेड्रस जुम्लाबाट ४४ वटा म्याद गुज्रिएको इनामेल बरामद गरेको थियो ।


कैलाश जनरल स्टोरबाट १ डिब्बा इनामेल, जुम्ला हार्डवेयरबाट पनि म्याद नाघेका वस्तु बरामद गरिएको थियो । ‘कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कानुनी कारबाही गरिने नगर उपप्रमुख न्यौपानले बताइन् ।


अनुगमनमा अनुगमन समिति संयोजक न्यौपाने, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, उपभोक्ता हकहित संरक्षण मञ्च, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि सहभागी थिए ।