close

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: स्वास्थ्य, शिक्षा, रोजगार, पर्यटन, कृषि र पूर्वाधार केन्द्रित 

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: स्वास्थ्य, शिक्षा, रोजगार, पर्यटन, कृषि र पूर्वाधार केन्द्रित 

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । सरकारले तयार पारेको नीति तथा कार्यक्रम लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथप्रसाद यादवले प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, रोजगार, पर्यटन, कृषि र भौतिक पूर्वाधारलाई केन्द्रित गरेर नीति तथा कार्यक्रम ल्याएको हो । 

 

प्रदेशको समृद्धिका लागि पूर्वाधार विकासमा जोड दिइएको नीति तथा कार्यक्रममा लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्षमा १ सय १ वटा सडक, पुल निर्माण गर्ने, बुटवल, दाङ र बाँकेमा औद्योगिक क्षेत्र स्थापना गर्ने, प्रदेश यातायात गुरुयोजना सम्पन्न गर्ने, अभिभावकविहीन अति विपन्न बालबालिकालाई आवासीय शिक्षा प्रदान गर्ने, एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम, एक स्थानीय तह एक खेलकुद मैदानलगायत कार्यक्रम समावेश छन् । 

 

‘समृद्ध प्रदेश खुसी जनता’ नारा बनाएको प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र व्यापारलाई समृद्धिको मूल आधार मानेको छ । प्रदेशका बिभिन्न जिल्लालाई परम्परागत उत्पादनका आधारमा पकेट जोन बनाउनेलगायत कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

 

नीति तथा कार्यक्रममा कतिपय क्रमागत योजनाको निरन्तरता र केही नयाँ कार्यक्रम समावेश गरिएको छ ।

 

प्रदेशका कर्मचारीलाई छुट्टै अस्पताल, छोराछोरीलाई छुट्टै विद्यालय 

लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीका छोराछोरीका लागि प्रदेश सरकारले छुट्टै निजामती विद्यालयको व्यवस्था मिलाउने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवले प्रदेशमा कार्यरत कर्मचारीका छोराछोरीले अध्ययन गर्न निजामती विद्यालयको व्यवस्था मिलाइने बताए । 

 

यस्तै, कर्मचारीको स्वास्थ्योपचारका लागि प्रदेश राजधानीमा निजामती कर्मचारी अस्पतालको पनि व्यवस्था गरिनेछ । उनले भने, ‘राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेशमा कार्यरत कर्मचारीका लागि प्रदेश राजधानीमा निजामती कर्मचारी अस्पताल, कर्मचारीका छोराछोरीले अध्ययन गर्न निजामती विद्यालय एवं कर्मचारी आवासको व्यवस्था मिलाइनेछ ।’ 

 

उनले नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमबमोजिम प्रदेशमा कार्यरत निजामती कर्मचारीका लागि निःशुल्क लागू गरिनेसमेत बताए । 

 

उत्कृष्ट किसानलाई पुरस्कृत गरिने 

लुम्बिनी प्रदेश सरकारले ‘म किसान, प्रदेशको शान’ नारासहित प्रदेशका उत्कृष्ट कृषिकर्मीलाई पुरस्कृत गर्ने भएको छ । नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवले कृषि क्षेत्रमा संलग्न उत्कृष्ट कृषक, कृषि उद्यमी तथा सहकारीलाई मुख्यमन्त्री उत्कृष्ट उद्यमी, कृषि सहकारीलगायत पुरस्कारबाट पुरस्कृत गरिने बताएका हुन् ।

 

प्रदेश प्रमुख यादवले लुम्बिनी प्रदेशको नीति कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा १०० वटा सडक तथा पुल निर्माण सम्पन्न हुने बताएका छन् । सरकारबाट ससर्त अनुदानमा सञ्चालित ३५ वटा सडक पुल र प्रदेश सरकारले निर्माण गर्ने ११९ वटा सडक पुलमध्ये आगामी आर्थिक वर्षमा कम्तीमा १०१ वटा सडक, पुल निर्माण सम्पन्न गरिने भएको छ ।

 

प्रदेश यातायात गुरुयोजना सम्पन्न गरिने

प्रदेश प्रमुख यादवले प्रदेश यातायात गुरुयोजना तर्जुमा कार्य सम्पन्न गरिने बताएका छन् । प्रदेशसभामा नीति कार्यक्रम प्रस्तुत गर्दै उनले कृषि सडक, पर्यटन, पहुँच मार्ग, सीमा क्षेत्रका सडकलगायत प्रदेश स्तरीय सडक सञ्जालको विकास तथा व्यवस्थापन गरिने उनले जानकारी दिए ।

 

सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा क्षेत्रको वाइपासका लागि वैकल्पिक मार्गका रूपमा निर्माणाधीन धागो कारखाना–चरंगे–झुम्सा सडकमा आवश्यक पर्ने सडक पुल निर्माण गरिने भएको हो ।

 

प्रदेशको राजधानीे भालुवाङमा सुविधायुक्त अस्पताल स्थापना

लुम्बिनी प्रदेशको राजधानी घोषणा भएको राप्ती उपत्यकाको भालुवाङमा सुविधायुक्त अस्पताल स्थापना हुने भएको छ । प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवले भालुवाङमा अस्पताल स्थापना हुने बताए । 

 

प्रमुख यादवले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजनाको रूपमा समावेश गरिने जानकारी दिए । यी दुवै अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा विकास गर्ने घोषणासमेत गरे ।


उनले दाङको लमहीमा आधुनिक स्तरको ट्रमा सेन्टर स्थापना गरिने बताए । प्रमुख यादवले प्रदेशका पहाडी जिल्ला प्युठान तथा गुल्मी अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिने जानकारी दिए । 


विपक्षीको टिप्पणी: नीति तथा कार्यक्रम हावा भरिएको बेलुन

विपक्षी दलहरूले लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई हावा भरिएको आकर्षक बेलुनको प्रतिक्रिया दिएका छन् । सरकार अल्पमतमा परिसकेको र वैधानिकता गुमाइसकेकाले नीति तथा कार्यक्रम कार्यान्वयन हुने आधारै नभएको विपक्षीको टिप्पणी छ ।

 

कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले नीति तथा कार्यक्रम हावा भरिएको आकर्षक बेलुनजस्तो भएको टिप्पणी गरे । ‘हेर्दा हावा भरिएको आकर्षक बेलुनजस्तो छ तर कार्यान्वयन हुने आधार छैन,’ खानले भने, ‘यसअघि २ तिहाइको बहुमत हुँदा ल्याइएका नीति तथा कार्यक्रमसमेत देखिने गरी कार्यान्वयन भएका छैनन् । अहिले अल्पमतमा परेर आफ्नो आयु आज हो कि भोलिको अवस्थामा पुगेको सरकारले कार्यान्वयन गर्छ भन्ने विश्वासै छैन ।’

 

राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले नीति तथा कार्यक्रममा कुनै नयाँ विषय नभएको बताइन् । सरकार नै अल्पमतमा परेको र असंवैधानिक भएकाले नीति कार्यक्रम कार्यान्वयन हुन नसक्ने जिसीको दाबी छ ।