close

गाउँबस्तीमा संक्रमण फैलिएपछि राँकागाउँ सिल

गाउँबस्तीमा संक्रमण फैलिएपछि राँकागाउँ सिल

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिकाले घरबस्तीमै कोरोना संक्रमण फैलिएपछि गाउँ नै सिल गर्न थालेको छ । गाउँ–गाउँमा कोरोना संक्रमणले भयावह रूप लिएपछि गाउँपालिकाले गाउँ नै सिल गर्न थालेको हो ।

 

गाउँपालिकाको वडा नम्बर १ राँकागाउँमा कोरोना संक्रमित बढेपछि गाउँ नै सिल गरिएको छ । पहिलो पटक मंगलबार २५ जनाको कोरोना परीक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएपछि मंगलबार बेलुकादेखि १० दिनका लागि राँकागाउँ सिल गरिएको हो । 

 

गाउँमा रुघाखोकी, ज्वरो आउने र खोकी लाग्ने समस्या देखिन थालेपछि गाउँपालिकाको स्वास्थ्य शाखाले कोरोना परीक्षण गरेको थियो । यसअघि सोही गाउँपालिकाको वडा नम्बर ६ रावतवाडा पनि १ साता सिल गरिएको थियो । १३६ को कोरोना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको थियो । 

 

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको टोलीले गाउँमै गएर एन्टिजेन परीक्षण गर्दा एकै दिनमा २३ जना संक्रमित भेटिएपछि गाउँ नै त्रसित भएको छ । स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईंले भने, ‘गाउँमा बिरामी धेरै छन् । १÷२ दिनभित्र सबैको टे«सिङ र टेस्टिङ गर्ने तयारी भइरहेको छ ।’


केही बिरामी भने परीक्षण गर्न आउन नमानेको उनले बताए । संक्रमित सबैलाई पहिले निर्माण गरिएको क्वारेन्टाइनमा आइसोलेसन बेड बनाएर राखिएको उनले जानकारी दिए । आइसोलेसनमा स्वास्थ्यकर्मी तथा चिकित्सकको निगरानी छ । संक्रमितमध्ये ३ जना दम र मुटु रोगी छन् । 


‘संक्रमण पुष्टि भइसकेपछि चिकित्सकले अक्सिजनको मात्रा जाँच गरेका थिए । अवस्था ठीकै थियो’, उनले भने, ‘अवस्था क्रिटिकल हुनेबित्तिकै कोभिड अस्पतालमा लैजाने तयारी भइरहेको छ । त्योभन्दा पनि गम्भीर अवस्था आए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिनेछ ।’

 

राँका गाउँमा बाहिरका व्यक्ति प्रवेश गर्न पाउने छैनन् । गाउँभित्रका व्यक्ति पनि बाहिरका गाउँ बस्तीमा जान पाउने छैनन् ।  तातोपानी गाउँपालिकाको संस्थागत आइसोलेसनमा ४७ जना संक्रमित छन् । ४ जना होम आइसोलेसनमा छन् । १९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । 

 

संक्रमितमध्ये ६० प्रतिशतको अवस्था सामान्य छ । संक्रमित थपिँदै गर्दा आइसोलेसन बेड थप्नुपर्ने अवस्था रहेको स्वास्थ्य शाखाले जनाएको छ । ‘पहिलो चरणमा माइकिङ गरेर स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्न सचेत गरिएको थियो’, चौलागाईंले भने, ‘त्यसले खासै प्रभाव पार्न सकेन । सम्बन्धित वडाले सचेत नगर्दासम्म केही हुनेवाला छैन ।’

 

तातोपानीको कोभिड अस्पतालमा १० वटा अक्सिजन सिलिन्डर छन् । पालिकाभित्रका गाउँमा कोरोना लक्षणका बिरामी भेटिनेबित्तिकै परीक्षण गराएर व्यवस्थापन गर्ने गरिएको संयोजक चौलागाईंले बताए ।

 

उनले भने, ‘गाउँमा कोरोना ह्वात्तै फैलिइरहेको अवस्था छ । स्थानीय सचेत हुन जरुरी छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आवश्यक छ ।’ तातोपानी गाउँपालिकाले कोभिड लक्षित कार्य गरिरहेकाले शंका लाग्नेबित्तिकै खबर गर्न आग्रह गरेको छ । 

 

‘यतिबेला गाउँमा रोपाइँ चलिरहेको छ । सरकारी विकास धमाधम भइरहेका छन् । न दूरी कायम छ, न त मास्क प्रयोग नै’, स्वास्थ्य संयोजक चौलागाईंले भने, ‘स्थानीयको लापर्वाहीले कोरोना संक्रमण बढ्दो छ ।’