close

बुटवलमा २२ करोडको अत्याधुनिक वधशाला बन्दै

बुटवलमा २२ करोडको अत्याधुनिक वधशाला बन्दै

Trulli
ADVERTISEMENT

रुपन्देही - बुटवलमा व्यवस्थित वधशाला निर्माणको डेढ दशकदेखिको पहल अब साकार हुने भएको छ । बुटवल उपमहानगर–१० रामनगरमा केही संरचना निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको वधशालालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन लागिएको हो । जनप्रतनिधि निर्वाचित भएसँगै प्राथमिकतामा परेका आयोजनामध्येको बुटवल वधशाला पनि एक हो । 


करिब ३ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्डसहित उक्त अत्याधुनिक पशु वधशाला निर्माण हुनेछ । यसअघि निर्माण भएका संरचनाले मात्रै आधुनिक वधशाला सञ्चालन हुन नसक्ने ठहर भएपछि बुटवल उपमहानगरले उच्च स्तरको प्राविधिक अध्ययन गराएको थियो ।


सोही आधारमा नयाँ मापदण्डको वधशालाको गुरुयोजना नै बनाएर काम सुरु भएको हो । अहिले बन्न लागेको वधशाला २२ करोड १३ लाख ३५ हजार ९ सय ९६ रुपैयाँ लागतमा निर्माणको ठेक्का सम्झौता भएको छ । 


निर्माण सुरु भएको १६ महिनामै सक्ने गरी सम्झौता भएको हो । बुटवल उपमहानगरले किसान, व्यवसायी,  सहकारीसमेतलाई साझेदारीमा लिएर काम सुरु गरेकाले वधशाला निर्माणलाई प्रदेश सरकारले आवधिक योजनामा समावेश गरेको छ ।


बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले वधशाला तोकिएको समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । ‘सार्वजनिक निकाय, किसान, व्यवसायी र उपभोक्ता सबैको साझा सहकार्यबाट वधशाला निर्माणको काम अगाडि बढेको छ’, प्रमुख सुवेदीले भने । 


उनले नगरबासीलाई स्वच्छ तथा गुणस्तरीय मासु उपभोग सहज बनाउन निर्माण गरिन लागेको वधशालालाई बजेट अभाव हुन नदिइने बताए । ४ पी मोडलअनुसार वधशाला सञ्चालन गरिने भएकाले यो परियोजना दिगो हुनेमा सबै पक्ष ढुक्क हुनुपर्ने उको भनाइ छ । 


अहिले निर्माण सुरु भएको वधशालामा पहिलो चरणमा खसी–बोका मात्रै वध गर्न मिल्ने बनाइनेछ । प्रदेश सरकार, बुटवलका मासु व्यवसायी, पशुपालक किसान र सहकारीको सहकार्यमा निर्माण हुन लागेको वधशालामा प्राविधिक तहको साझेदारी अन्तर्राष्ट्रिय संस्था हेफर इन्टरनेसनलले गरिरहेको छ । 

 

२० वर्षपछिको पहल साकार हुँदै


बुटवलमा वधशाला निर्माणको पहल झन्डै २० वर्ष अघिदेखि भएको थियो । लामो समयदेखि प्रतीक्षा गरिएको वधशाला निर्माण बिहीबार शिलान्यास भएसँगै अहिले निर्माणको चरणमा प्रवेश गरेको छ । 
उपमहानगर प्रमुख, उपप्रमुखसामु निर्माण कम्पनी श्री शिवशक्ति कन्स्ट्रक्सन प्रालिका प्रभाकर लामिछानेले तोकिएको अवधिभन्दा अगावै निर्माण सक्ने गरी काम गरिने प्रतिबद्धता जनाए । भुक्तानी प्रक्रिया र साइट क्लियरेन्सका काममा झन्झट नहुने हो भने तोकेको समयभन्दा अगावै काम सकिने निर्माण कम्पनीको भनाइ छ ।


वधशालाका लागि पहिलो चरणमा प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७ करोड, बुटवल उपमहानगरको ३ करोड गरी आव ०७६/७७ मा १० करोड बजेट विनियोजन भइसकेको छ । 


परियोजनाका लागि तय गरिएको बजेटबाट साइट निर्माणमा १ करोड २२ लाख, भवन निर्माण तथा सिभिल वर्कमा ६ करोड ७० लाख, मुख्य प्लान्ट तथा उपकरणमा ६ करोड ६२ लाख, अन्य उपकरण तथा औजार ३ करोड ५७ लाख, सञ्चालन पूर्व खर्च तथा कन्टिजेन्सी २ करोड ९० लाख खर्च हुने प्रस्तावित बुटवल मासु प्रशोधन तथा उत्पादन केन्द्रको लागत विवरण रहेको उपमहानगरका वरिष्ठ इन्जिनियर एवं उक्त परियोजनाका साइट इन्चार्ज इन्जिनियर गौतम रौनियारले जानकारी दिए ।

 

यस्तो बन्नेछ वधशाला


दैनिक १ हजार खसीबोका वध गर्न मिल्ने गरी वधशाला बन्नेछ । यहाँ बाख्रा चरन, होल्डिङ, पशु स्वास्थ्य चेकजाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैंचा निर्माण गरिनेछ । 


यहाँबाट निस्किने फोहोरलाई प्रशोधन गरेर वायोग्यास निकालिनेछ भने पानीलाई पुनर्प्रयोग गर्न मिल्ने गरी प्रशोधन गरिनेछ । वधशालामा दैनिक ५ सयदेखि १ हजारसम्म खसीबोकाको वध गर्न सक्ने संरचना तयार गरिनेछ । 

 

साझेदारी मोडल


टहरा निर्माण भएर अलपत्र अवस्थामा रहेको वधशालालाई बुटवल उपमहानगरको प्रस्तावमा सार्वजनिक–निजी साझेदारीको मोडलबाट सञ्चालन गर्न लागिएको हो । 


वधशाला निर्माण तथा सञ्चालनको प्राविधिक तथा सामाजिक परिचालनको जिम्मा लिएको हेफर र उपमहानगरको सम्झौताअनुसार वधशाला निर्माणपछि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले उक्त वधशाला सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए । 


बुटवल वधशालामा करिब १२ हजार खसीबोका उत्पादक महिला किसान र ३ सय मासु व्यवसायी सहभागी हुने हेफरका कार्यकारी निर्देशक डा. तीर्थराज रेग्मीले बताए । उनले साना किसानलाई सशक्तीकरण गराउँदै आएको बताउँदै बुटवलसहति कोहलपुर, विराटनगर, भरतपुर र पोखरामा वधशाला निर्माणका लागि हेफरले सहकार्य गरिरहेको जानकारी दिए । 


हालसम्म करिब ७ हजार उद्यमी महिला र १ सय मासु व्यवसायी विभिन्न इन्भेस्टमेन्ट कम्पनीमार्फत सहभागी भएका छन् । परियोजना निर्माण र सञ्चालनका लागि हालसम्म उद्यमी महिला सदस्यबाट करिब ७ करोड तथा मासु व्यवसायीबाट ३ करोड ७८ लाख रुपैयाँ संकलन गर्ने प्रतिबद्धता आइसकेको हेफरका कार्यक्रम संयोजक अनन्त सिलवालले वताए ।