close

क्वारेन्टाइन बसेकालाई मनोसामाजिक परामर्श दिँदै खोटेहाङ 

क्वारेन्टाइन बसेकालाई मनोसामाजिक परामर्श दिँदै खोटेहाङ 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको खोटेहाङ गाउँपालिकामा कोभिड-१९ बाट संक्रमित भएपछि क्वारेन्टाइनमा बसिरहेका संक्रमितलाई मनोसामाजिक परामर्श दिन थालिएको छ ।

 

संक्रमण पुष्टिपछि खोटेहाङ गाउँपालिका वडा नम्बर ७ खोटाङबजारस्थित स्वास्थ्य चौकीमा बनाइएको क्वारेन्टाइनमा बसिरहेका स्थानीयलाई सुरक्षित आप्रवासन परियोजना (सामी) ले मनोसामाजिक परामर्श दिन थालेको हो ।

 

क्वारेन्टाइनमा बसिरहेका संक्रमितमा डर, त्रास, चिन्तालगायतका मनोसामाजिक समस्या देखिएपछि गाउँपालिकाको आयोजनामा परामर्शकर्ता पठाएर मनोसामाजिक परामर्श प्रदान गरिएको सामीका खोटाङ संयोजक सन्तोष राईले बताए ।

 

क्वारेन्टाइनमा बसिरहेको अवस्थामा संक्रमितलाई डर, त्रास, भय र चिन्तामुक्त बनाउन मनोसामाजिक परामर्शको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । 

 

गाउँपालिकाको आग्रहमा पुगेका मनोसामाजिक परामर्शकर्ता प्रमोद श्रेष्ठ र नागेन्द्र यादवले क्वारेन्टाइनमा बसिरहेका संक्रमितलाई सामूहिक मनोसामाजिक परामर्श दिएका हुन् । 

 

खोटाङ बजारका वडाध्यक्ष शिवप्रसाद फुयालका अनुसार स्वास्थ्य चौकीको तल्लो र माथिल्लो तलामा बनाइएको क्वारेन्टाइनमा संक्रमित र पालिकाबाहिरबाट आएका स्थानीयलाई राख्ने व्यवस्था मिलाइएको छ । 

 

‘कोभिड-१९ महामारीमा नागरिक चिन्तामा छन् । कोरोना संक्रमितमा झनै बढी पीर, चिन्ता, डर, त्रासजस्ता मनोसामाजिक समस्या पाइएको छ,’ संयोजक राईले भने, ‘यो बेला कोरोनासँग लडिरहेका संक्रमितलाई उच्च मनोबल जरुरी हुन्छ । सोही कारण मनोसामाजिक परामर्श दिन लागेका हौँ ।’