close

बजेट, नीति तथा कार्यक्रमको तयारीमा तनहुँका स्थानीय तह

बजेट, नीति तथा कार्यक्रमको तयारीमा तनहुँका स्थानीय तह

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याइने बजेट नीति तथा कार्यक्रमको तयारी थालेका छन् । संघीय सरकारको बजेट नीति तथा कार्यक्रम आइसकेको छ । गण्डकी प्रदेश सरकारको प्रदेशसभामा प्रस्तुत हुन भने बाँकी छ । प्रदेशमा सार्वजनिक भएपछि त्यसैलाई आधार मानेर स्थानीय तहले आफ्ना बजेट नीति तथा कार्यक्रमलाई पूर्णता दिनेछन् । यतिबेला जिल्लाका सबै स्थानीय तहलाई बजेट नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न चटारो छ ।


सम्भवतः समयमै स्थानीय तहको निर्वाचन भए अर्को बजेट ल्याउनुअगावै अहिलेका जनप्रतिनिधि बिदाइ हुनेछन् । तसर्थ, चुनाव केन्द्रित हँदै अन्तिम बजेट जनताको चाहनाअनुसार ल्याएर मन र मत दुवै जित्ने दाउमा रहेका स्थानीस्य तहका जनप्रतिनिधि भर्चुअल भए पनि सुझाव संकलनमा जुटेका हुन् । 


१५ असारभित्र स्थानीय तहले बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार तयारी थालेको ऋषिङ गाउँपालिकाले मंगलबार भर्चुअल रूपमा सुझाव संकलन गरेको छ । जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि र पालिकाबासीलाई जुम मिटिङमा डाकेर सुझाव संकलन गरेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

 

‘भौतिक पूर्वाधारतर्फ ऋषिङको काम अग्रपंक्तिमा भएको पाइयो । शिक्षा, स्वास्थ्य र कृषितर्फको योजनालाई समेट्न सुझाव आएको छ’, उनले भने, ‘यसैलाई मनन गरेर आगामी वर्षको योजना बनाउँछौँ । जनताको आवाजलाई हामीले सुन्नुपर्छ । यी सुझाव समयसापेक्ष पनि छन् ।’ 

 

आगामी वर्षको बजेट टुक्रे योजना र चुनाव केन्द्रित नहुने उनको दाबी छ । ‘अघिल्ला वर्षमा कार्यन्वयन भएका अधुरा योजना पहिलो प्राथमिकतामा राख्छौँ । दोस्रो शिक्षा, स्वास्थ्य र कृषिसँग सम्बन्धित रहेर जे सुझाव आएको छ, त्यहीअनुसार गर्छौं,’ अध्यक्ष श्रेष्ठले भने ।

 

ऋषिङले यसअघि विषयगत शाखाका प्रमुखसँग सुझाव लिइसकेको छ । तेस्रो चरणमा शुक्रबार पालिकाबासीसँग भर्चुअल सुझाव संकलन गर्ने गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । स्थानीय विद्यालयका प्रधानध्यापकसँग पनि सुझाव लिने योजना रहेको उनले सुनाए ।


शुक्लागण्डकी र व्यास नगरपालिकाले बजेटमा समेट्नुपर्ने विषयमा इमेलमार्फत सुझाव पेस गर्न अनुरोध गरेका छन् । बन्दीपुर गाउँपालिकाले २० वर्षे एकीकृत विकास गुरुयोजनाअनुसार बिहीबारसम्म सुझाव दिने समय तोकेको छ । 

 

म्याग्दे गाउँपालिकाले भने आगामी वर्षमा ल्याउने बजेटको आकारसमेत तय गरिसकेको छ । ६५ करोड ६६ लाख ३१ हजार रुपैयाँको बजेट गाउँपालिकाले ल्याउने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

 

उनका अनुसार पालिकाबासीलाई इमेलमार्फत जेठ मसान्सम्म बजेटमा सुझाव दिन भनिएको छ । ‘इमेलमार्फत सुझाव मागेका छौँ । यस्तो अभ्यास पहिलो पटक भएकाले हालसम्म सुझावका इमेल प्राप्त भएका छैनन्’, उनले भने । 

 

अघिल्ला वर्षमा जनतालाई भेला गराएर स्थानीय तहले सुझाव संकलन र योजना माग्न लगाउँथे । यसपालि कोरोनाको दोस्रो लहर फैलिएकाले भर्चुअल सुझाव संकलनको अभ्यासमा छन् । वडा कार्यालयले टोल-टोलसँग योजना मागिरहेका छन् । 


आफ्नो कार्यकालको अन्तिम बजेट हुन सक्ने भएकाले कसरी उत्कृष्ट ल्याउन सकिने भन्नेमा जनप्रतिनिधि दबाबमा छन् । कार्यकर्ता पोस्ने बजेट ल्याउने कि जनताको मत जित्ने खालको ? उनीहरू अप्ठेरोमा छन् ।