close

रम्भाले सुरु गर्‍यो स्मार्ट कृषि गाउँ कार्यक्रम ( भिडियो खबर) 

रम्भाले सुरु गर्‍यो स्मार्ट कृषि गाउँ कार्यक्रम ( भिडियो खबर) 

ADVERTISEMENT

पाल्पा- पाल्पाको रम्भा गाउँपालिका स्मार्ट कृषि गाउँ कार्यक्रम तर्फ आकर्षित भएको छ । रम्भावासीलाई आधुनिक कृषि प्रविधि हस्तान्तरण गरि पालिकामा कृषि मार्फत समृद्धि हासिल गर्न स्मार्ट कृषि कार्यक्रमलाई गाउँपालिकाले जोड दिएको हो ।

 

सँधै परम्परागत र निर्वाहमुखी कृषि गरेर जीविका चलाउँदै आएका रम्भाका कृषकलाई गाउँपालिकाले आधुनिक कृषि मार्फत कृषकको जीवनस्तर परिवर्तनमा जोड दिएको छ । कृषि उत्पादन वृद्धि गर्दै व्यावसायिक कृषिमा कृषकलाई प्रोत्साहन गर्ने लक्ष्य पालिकाले लिएको छ ।

 

प्रदेशको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानीमा लुम्बिनी प्रदेश सरकारको कृषि प्रर्वद्धन एवं विस्तार कार्यक्रम मार्फत स्मार्ट कृषि कार्यक्रम ल्याइएको हो ।  गाउँघरमा निर्वाहमुखी कृषि गरेर जीविकोपार्जन गर्दै आएका कृषकलाई स्मार्ट कृषि कार्यक्रमले फाइदा पुगेको छ ।  

 

अहिले स्र्माट कृषि गाउँ कार्यक्रम लागु भएको रम्भा गाउँपालिका वडा नं १ को हुँगी, अर्सेदी लगायतको गाउँमा कृषिका लागि आवश्यक पर्ने पूर्वाधार बनेका छन् । खोलाबाट कृषकको खेतबारीसम्म सिँचाईको व्यवस्था गर्न पक्की सिँचाई नहर बनेको  छ ।

 

प्लाष्टिक टनेल, कृषि उपज संकलन केन्द्र लगायतका भौतिक संरचना निर्माण भएका छन् । कृषकलाई सामूहिक खेतीतर्फ आकर्षण बढाई कार्य वर्गीकरण मार्फत सामूहिक भावनाको विकासमा स्मार्ट कृषि कार्यक्रमले जोड दिएको छ । अहिले रम्भा  गाउँपालिकामा इलमको अभावमा गाउँघरमा फुर्सदिला बनेका कृषक बढी लाभान्वित भएका छन् ।

 

कार्यक्रम मार्फत कोभिडका कारण वैदेशिक रोजगारीबाट फर्केका युवालाई अझ बढी प्रोत्साहन मिलेको छ । गाउँपालिकाले उत्पादित कृषि उपजलाई बजारीकरण गर्न भने विशेष सहयोग गर्दै आएको छ । स्थानीय सरकारले चाहे के हुन सक्दैन भन्ने गतिलो उदाहारण अहिले रम्भाको स्मार्ट गाउँ कृषि कार्यक्रमले पेश गरेको छ । कृषकलाई यस्तो खालको कार्यक्रमले अझ बढी कृषि कर्ममा लाग्न प्रोत्साहन मिलेको छ ।