close

हल्दीबारीले गर्‍यो गाउँगाउँमा इन्टरनेट विस्तार (भिडियो खबर) 

हल्दीबारीले गर्‍यो गाउँगाउँमा इन्टरनेट विस्तार (भिडियो खबर) 

ADVERTISEMENT

झापा- अहिलेको समय भनेकै प्रविधिको हो । प्रविधिका लागि आवश्यक पहुँचको आवश्यकता अपरिहार्य जस्तै भइसकेको छ । विश्व जगतलाई इन्टरनेटका माध्यमबाट साँघुरो बनाउन सफल इन्टरनेटलाई सहज र सुलभ ढंगमा प्रयोगमा ल्याउनुपर्ने समय आइसकेको छ । विद्यार्थीका लागि अहिले महामारीमा पनि इन्टरनेटबाटै वैकल्पिक शिक्षा दिने काम भइरहेको छ ।

 

सायद यसैको आवश्यकता देखेर होला झापाको हल्दीबारी गाउँपालिकाले इन्टरनेटको पहुँच विस्तार गरेको छ । पालिकाको ८० प्रतिशत लगानी र स्थानीयको २० प्रतिशत लगानीमा इन्टरेनटको पहुँच पुर्‍याएको हाे । स्थानीयलाई पनि अपनत्व महसुस गराउन गरिएको सहभागिताबाट प्रत्यक्ष लाभान्वित हुनेको संख्या पनि बढेको छ ।

 

विद्यार्थी, अभिभावक र स्थानीय पनि पालिकाको पहलप्रति निकै खुसी छन् । वडामा बिनियोजित बजेटबाट वडा नम्बर २ का ७२ समूहमा इन्टरनेट जडान गरिएको छ । गाउँपालिकाका खबर स्थानीय माझ सहजै पुर्‍याउने र विद्यार्थीलाई अनलाइन कक्षा लिन सहज होस् भन्ने उद्देश्यका साथ इनटरनेटको पहुँच विस्तार गरिएको हो । कोरोनाको त्रासका कारण सम्पूर्ण विद्यालय बन्द छन् । विद्यार्थीले आर्थिक अवस्था कमजोर भएका कारण अनलाइन कक्षा दिन नपाएका बेला गाउँपालिकाको यो कार्य प्रति स्थानीय हर्षित भएका छन् ।

 

जनप्रतिनिधि निर्वाचित भएको दोस्रो वर्ष १० वटा विद्यालय र संघसंस्थामा इन्टरनेट जडान गरेको पालिकाले तेस्रो आर्थिक वर्षमा १८ ठाउँमा जडान गरेको थियो । हाल समुह बनाएर आएका ७२ ठाउँमा इन्टरनेट जडान गरिएको छ । ‘एक गाउँ एक वाइफाइ’ नाम दिइएको उक्त कार्यक्रममा रकमान्तर गरेर योजना भन्दा बढी ठाउँमा जडान गरिएको छ । 


शुरुमा टेन्डर आह्वान गरेकोमा ३ वटा कम्पनीले आवेदन दिएका थिए । पालिकाले ३ वटालाई नै दामासाहीमा इन्टरनेट जडानको जिम्मा दिएको थियो । जसका लागि पालिकाले ४ लाख ४० हजार रुपैया बजेट बिनियोजन गरेको छ । जडानको क्रममा एउटा समूहमा ५ घर समेट्न अनिवार्य गरिएको छ । गाउँपालिकाको ८०-२० कार्यक्रम अन्तर्गत स्थानीय उपभोक्ताले २० प्रतिशत र गाउँपालिकाले ८० प्रतिशत खर्च बेहोर्ने छन् । सबै खर्च स्थानीय तहले बेहोर्दा स्थानीयको अपनत्व नहुने भएर भागबण्डा गरिएको पालिकाले जनाएको छ । 

 

कोरोनाको जोखिमका कारण घरमै बसेका स्थानीयलाई मनोरञ्जन साथै सूचनाको पहुँच पुर्‍याउन हल्दीबारीले गरेको यो काम सराहनीय छ । तर, यसको सही सदुपयोग र निरन्तरताका लागि पनि पालिकाले केही योजना बनाउन जरुरी  देखिएको छ ।