close

महासचिव हार्दै, मुख्यमन्त्रीको जीत

बुटवलमा विरोध, दाङमा खुसीलायली

महासचिव हार्दै, मुख्यमन्त्रीको जीत

बुटवलमा विरोध, दाङमा खुसीलायली

Trulli
ADVERTISEMENT

 


रुपन्देही- प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा बनाउन प्रदेशसभामा प्रस्ताव पेस भएपछि बुटवलमा विरोध प्रदर्शन सुरु भएको छ ।

 

प्रदेशसभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी र नामसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

 

प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी हुने र स्थायी राजधानी दाङको देउखुरीमा हुने निर्णय गरेको थियो । सोहीअनुसार प्रदेशसभामा प्रस्ताव पेस भएको हो ।

 

प्रदेशसभामा प्रस्ताव पेस भएपछि प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ विरोध प्रदर्शनमा उत्रिएको छ ।

 

नेविसंघ कार्यकर्ताले प्रदेशसभा भवनअगाडि टायर बालेर विरोध प्रदर्शन गरेका थिए । केहीले सरकारी गाडीमा तोडफोड गरेका छन् । नेविसंघको प्रदर्शनमा स्थानीयसमेत स्वतःस्फूर्त सहभागी छन् ।

 

प्रदेश ५ को राजधानी बुटवल हुने कि दाङ भन्नेमा विवाद थियो । सत्तारुढ नेकपाभित्रै पनि दुई पक्षको टकराव थियो । मुख्यमन्त्री शंकर पोखरेल दाङमा स्थायी राजधानी बनाउन चाहन्थे भने महासचिव विष्णु पौडेल बुटवलमै राख्न चाहन्थे ।

 

स्रोतका अनुसार केन्द्रमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच नाममा सहमति भएपछि प्रदेश ५ मन्त्रिपरिषद्ले निर्णय गरी प्रदेशसभामा प्रस्ताव पेस गरेको हो ।

 

कोरोना कहर र नजिकिँदो चाडपर्वका कारण व्यस्त बुटवलमा प्रदेश राजधानीको विषय सार्वजनिक भएपछि माहौल तातेको छ ।

 

धेरैले सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिक्रिया जनाएका छन् । सडकमा विरोध प्रदर्शन हुन थालेपछि ठूलो संख्यामा प्रहरी खटाइएको छ । प्रदेश राजधानीको विषयलाई लिएर धेरै बहस चल्दै आएको छ ।

 

राजधानीको विषयले बढ्न सक्ने असन्तुष्टि र विरोध प्रदर्शनको सम्भावनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको र थप सुरक्षाकर्मीको प्रबन्ध गरिएको जनाइएको छ । ७ प्रदेशध्ये ४ वटाले नाम र राजधानी टुंगो लगाइसकेका छन् ।

 

तर, प्रतिपक्ष कांग्रेस र यस क्षेत्रका नागरिकले दाडमा राजधानी बनाउने प्रस्तावको विरोध गरेका छन् । विरोध गर्नेमा सत्तारुढ दलका कार्यकर्तासमेत छन् ।

 

कांग्रेस सरकारले बुटवलमा अस्थायी राजधानी तोकेको थियो । प्रदेश ५ सरकारको राजधानी सार्ने प्रस्तावप्रति विरोध जनाउँदै कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ । उक्त प्रस्ताव संसद्मा टेबल भएलगत्तै कांग्रेस कार्यकर्ताहरूले सडकमा उत्रिएर विरोध जनाए ।

 

रुपन्देही पार्टी सभापति अब्दुल रजाकले शुक्रबार नै प्रेस विज्ञप्ति जारी गरेर आन्दोलनमा उत्रिने घोषणा गरेको छ । उक्त विज्ञप्तिमा पार्टी कार्यकर्तादेखि रुपन्देही तथा छिमेकी जिल्लाका सर्वसाधारणलाई आन्दोलनमा सहभागी हुन अपिल गरिएको छ ।
 

बहुसंख्यक जनताको केन्द्र पूर्वाधारका हिसाबले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णयप्रति आन्दोलन सुरु भएको कांग्रेसले जनाएको छ । सत्तारुढ दलकै पालिका प्रमुख भन्छन्ः सार्नु थियो भने बुटवलमा किन संरचना बनाइयो ?’

 

प्रदेशको राजधानी दाङ लैजाने प्रदेश सरकारको निर्णयप्रति सत्तारुढ दलका यस क्षेत्रका नगरप्रमुखहरूले जुगाको लडाइँ नगर्न आग्रह गरेका छन् । उनीहरूले अस्थायी राजधानी भएको ठाउँमा पूर्वाधार  बनिसकेको हुँदा स्थानीय रुप दिएर बुटवल नै कायम गर्नुपर्ने माग गरेका छन् । प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा प्रदेश सरकारका लागि विभिन्न भौतिक संरचना बनिसकेका छन् ।

 

तिलोत्तमाकै प्रमुखको विरोध

 

तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले सामाजिक सञ्जालमा आखिर राजधानी दाङ नै लैजानु थियो भने किन दर्जनांै कार्यालय र सामुदायिक संस्थाहरूलाई विचल्ली बनाएको ? कठै प्रदेश ! उल्लेख गरेका छन् ।

 

उनले भनेका छन्, ‘बुटवलमा केही संरचना बनिसकेका  छन् । यदि राजधानी सार्नु नै थियो भने यहाँ बनेका संरचनालाई किन बेवारिसे बनाउनु परेको ?

 

देवदेहका नगरप्रमुख पनि आक्रोसित

 

केसीले प्रदेशको राजधानी दाङ निर्णय गर्नु नै थियो भने प्रदेशको निर्वाचन सम्पन्न भएपछि राजधानीका लागि बुटवललगायत छिमेकी नगरपालिकाहरूमा समेत थुप्रै संरचना बन्ने गरी योजना अगाडि बढाउनुको औचित्य के हो भनेर प्रश्न गरेका छन् । केसीले नेताको जँुगाको लडाइँले जनता लडाउने काम भएको  बताए ।

 

नगरप्रमुख केसीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजधानी मागेर पाइने विषय पक्कै हैन तर ३ माघ २०७४ मै प्रदेशको केन्द्र बुटवल घोषणा भएको सबैलाई जानकारीमै थियो ।

 

राजधानी दाङ निर्णय गर्नु नै थियो भने प्रदेशको निर्वाचन सम्पन्न भएछि बुटवललगायत छिमेकी नगरपालिकामा समेत थुप्रै संरचना बन्ने गरी योजना अगाडि बढाउनुको औचित्य के ? प्रदेश सरकारले यो ३ वर्षको अवधिमा आवश्यकता र औचित्य पुष्टि हुने गरी राजधानी तोकेको भए सबैले मान्नैपथ्र्यो । यो निर्णयले जनता लडाउँछ ।

 

धुर्कोट गाउँपालिका अध्यक्ष भालुवाडको पक्षमा

 

गुल्मीको धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल प्रदेश राजधानी भालुवाङ र बुटवलसम्म धुर्कोटदेखिको दूरीअनुसार भालुवाड नै नजिक भएको बताए । 'बर्बोट–पुर्कोट १४ किमि पुर्कोट–भालुवाङ १ सय किमि गरी ११४ किमि बर्बोट–तम्घास १९ किमि, तम्घास–बुटवल १ सय १७ किमि गरी जम्मा १ सय ३६ किमि छ । धुर्कोटका लागि कुनचाहिँ उचित ?' उनकाे प्रश्न छ ।

 

दाडका विभिन्न पालिका प्रमुखहरूले भालुवाडमा राजधानी कायम गरिएका खुसी भएको बताएका छन् । सत्तारुढ दलकै अन्य पालिका प्रमुखले केही टिप्पणी गरेका छैनन् । उनीहरूले आफूहरू पर्ख र हेरको अवस्था रहेको बताउँछन् ।