close

नवलपुरका सबै स्थानीय तहको रकम बेरुजु

नवलपुरका सबै स्थानीय तहको रकम बेरुजु

Trulli
ADVERTISEMENT

नवलपुर– नवलपुरका सबै स्थानीय तहमा करोडौँको रकम बेरुजु भएको पाइएको छ । आर्थिक वर्ष २०७५–०७६ को स्थानीय पालिकाको महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा नवलपुरका सबै स्थानीय तहको रकम बेरुजु देखाएको हो ।

 

त्यसैगरी पालिकाहरूले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा प्रयोग गरी वित्तीय विवरण तयार गरेको नपाइएको समेत प्रतिवेदनमा उल्लेख छ । प्रतिवदेनमा उल्लेख गरिएअनुसार नवलपुरका सबै पालिकाको ५२ लाखदेखि ६ करोड ५० लाख रुपैयाँसम्म बेरुजु रहेको छ ।

 

सबैभन्दा बढी कावासोती नगरपालिकाको ६ करोड ५० लाख ३७ हजार रुपैयाँ बेरुजु देखिएको छ । कावासोतीका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बेरुजुमध्येको केही रकम फस्र्योट भएको र केही बाँकी रहेको बताए ।

 

कावासोतीपछि गैडाकोट नगरपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ । गैडाकोटको ५ करोड ९९ हजार रुपैयाँ बेरुजु देखिएको हो । ४ नगरपालिकामध्ये सबैभन्दा कम देवचुलीको बेरुजु देखिएको छ । देवचुली नगरपालिकाको २ करोड ७६ लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

 

देवचुलीका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल महालेखाले देखाएजस्तो बेरुजु नरहेको दाबी गरे । उनले भने, ‘टोली आएर हतारहतार टिपनटापन गरेर जानु र नगरपालिकाको कुरै नसुनेर आफ्नो ढंगको प्रतिवेदन बनाएको कारण बेरुजु देखिएको हो ।’

 

कुन पालिकाको कति बेरुजु

 

कावासोती

लेखापरीक्षणबाट ६ करोड ५० लाख ३७ हजार रुपैयाँ बेरुजु देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने २ लाख २९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १५ लाख ४१ हजार, नियमित गर्नुपर्ने ८३ लाख ९० हजार र पेस्की ५ करोड ४८ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

 

देवचुली

लेखापरीक्षणबाट २ करोड ७६ लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने २ लाख ५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड ९५ लाख ९२ हजार, नियमित गर्नुपर्ने ७० लाख ९६ हजार र पेस्की रकम ७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

 

मध्यबिन्दु

लेखापरीक्षणबाट ३ करोड ६१ लाख ५६ हजार रुपैयाँ बेरुजु देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने ८ लाख ४३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड ४९ लाख ८८ हजार, नियमित गर्नुपर्ने २८ लाख २२ हजार र पेस्की ७५ लाख ३ हजार रुपैयाँ रहेको छ ।

 

गैडाकोट

लेखापरीक्षणबाट ५ करोड ९९ हजार बेरुजु देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने ७९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ३ करोड ८ लाख १८ हजार, नियमित गर्नुपर्ने १ करोड १६ लाख २३ हजार र पेस्की ७५ लाख ८० हजार रुपैयाँ रहेको छ ।

 

हुप्सेकोट

लेखापरीक्षणबाट ३ करोड ९ लाख ५१ हजार रुपैयाँ बेरुजु देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने १ करोड ८० लाख ३३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ लाख, नियमित गर्नुपर्ने ९४ लाख १५ हजार र पेस्की ३४ लाख ३ हजार रुपैयाँ रहेको छ ।

 

बौदीकाली

लेखापरीक्षणबाट ५२ लाख २१ हजार बेरुजु रुपैयाँ देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने १४ लाख २१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ७० हजार, नियमित गर्नुपर्ने २ लाख र पेस्की बेरुजु ३५ लाख ३० हजार रुपैयाँ रहेको छ ।

 

बुलिङटार

लेखापरीक्षणबाट १ करोड ५२ लाख ५८ हजार रुपैयाँ बेरुजु देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने ४१ लाख ६६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ८ लाख २९ हजार, नियमित गर्नुपर्ने ९८ लाख ४८ हजार र पेस्की बाँकी ४ लाख १५ हजार रुपैयाँ रहेको छ ।

 

विनयी त्रिवेणी

लेखापरीक्षणबाट २ करोड ८७ लाख ८४ हजार रुपैयाँ बेरुजु देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने७ लाख १८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड २९ लाख, नियमित गर्नुपर्ने ५१ लाख ६६ हजार रुपैयाँ रहेको छ ।