close

केटी साथी

Trulli
ADVERTISEMENT

दस जोड दुई सँगै पढेकी साथी बिरामी  थिइन् । एकछिनको संवादपछि अर्काे  दिन बिहान भेट्ने कुरा गर्दै फोन राखें । भोलि कलेजमा भेट्ने पक्का भयो ।

भोलिपल्ट कलेजमा भेटघाट गरी हामी २ जना घर फर्किने क्रममा थियौं । बाटोमा एउटा बगैंचा पथ्र्यो । मीनाले बगैंचामा एकछिन विश्राम गर्ने प्रस्ताव राखिन् । अनि, मैले पनि घर फर्किन केही समय बाँकी रहेकाले बसौं न भनें ।

हामी प्लस टुदेखि सँगै पढेकाले पनि होला, एकआपसमा धेरै कुरा सेयर हुन्थ्यो । प्लस टु सकेर दुवै आ–आफ्नो काममा व्यस्त भएकाले लामो समयदेखि भेटघाट अनि कुराकानी भएको थिएन ।

त्यसैले एकछिन बगैंचामा बसेर सुख–दुःख साटासाट गर्ने अवसर मिल्यो । तर, हामी बगैंचामा बसेर गफिएको मेरो आफन्त पर्नेले देखेछन् । त्यसपछि परालको आगो सरी हामी त्यहाँ बसेको कुरा फैलियो । यतिसम्मकि विकास त केटीसँग पार्कपार्कमा जान्छ रे भनेर मेरो बुबाआमाको कानैसम्म पुगेछ ।

त्यही दिन साँझपख म खाना खाएर टिभी हेरिरहेको थिएँ । आमाले फोन गरेर भन्नुभयो, ‘छोरा, तेरो पढाइ चल्दै छ कि छैन ।’ छोराका बारेमा नानाथरी कुरा सुनेपछि उहाँले मन थाम्न सक्नु भएनछ । रुँदै भन्नुभयो, ‘तेरोबारेमा के–के कुरा सुनाउँछन् । भएको के हो ?

एकछिन त उहाँको कुरा बुझिनँ । पछि आमाले ‘तँलाई फलानोले पार्कमा देखेको रे’ भन्दै अझ रुन थाल्नुभयो ।

मैले फेरि प्रश्न गरें, ‘कसले देख्यो र मलाई । नचाहिँदो कुरा कसले सुनायो ?’ आमाले कुनै जवाफ दिनुभएन । आमालाई मैले सबै कुरा सुनाएँ, सम्झाएँ, बुझाएँ र उहाँको मनलाई शान्त बनाएँ ।

दुई–चार दिनपछि दाइ–भाउजु अनि दिदी–भेनासँग पनि भेट भयो । उहाँहरुले पनि त्यही कुरा कोट्याउनुभयो । साथीभाइ, अंकल–आन्टीलगायतका नातेदारहरुले फेसबुक च्याट, फोनमा पनि त्यही कुरा सोध्न थाले । कोहीलाई त ऊ मेरो मन मिल्ने केटी साथी हो भनेर सम्झाएँ । तर, केहीले गर्लफ्रेन्ड भन्दै जिस्काए ।

यो घटनापछि म सोचमग्न भएँ । केटा र केटी सँगै हिँड्न नहुने, सँगै हिँडेको विषयलाई लिएर नकारात्मक धारणा बनाउने, टीका–टिप्पणी गर्ने अधिकार अरुलाई कसले दियो ?

बिहेअघि पनि केटा र केटीबीचमा आफ्नै सम्बन्ध हुन्छ, निकटता हुन्छ, साथीको रुपमा सुखदुःख साटासाट, सर–सहयोग, मनोरन्जन, भेटघाट, कुराकानी आदान प्रदान हुन सक्छ । त्यो हुनुपर्छ । 

यो समाजको माग पनि हो । बस्, हाम्रो मूल्य–मान्यता, संस्कार, परम्पराको ख्याल गरिदिए हुन्छ ।

यो कुराले मलाई त्यति चिन्तित बनाएन किनकि मेरोबारे कसले के भन्छ भन्दा पनि आफू ठीक हुनुपर्छ । सही बाटोमा हिँड्नुपर्छ भन्ने मान्यताको मान्छे हुँ म । यस कुराले हाम्रो समाजको चरित्र कस्तो रहेछ, हामी कुन मानसिकताबाट गुज्रिरहेका छौं, हाम्रो सोच कति संकुचित रहेछ भन्ने कुराको भने राम्रो ज्ञान भयो ।

म त्यतिबेला झनै बढी झस्किएँ, जतिबेला मलाई पार्कमा देख्ने आफन्त शिक्षक थिए भन्ने कुरा थाहा पाएँ ।

एक शिक्षित व्यक्तिले यसरी कुरा काट्दा उचित ठानिनँ मैले । म केटा हुँदा यस कुराले त्यति गहिरो रुप लिएन । तर, मेरो स्थानमा मेरी केटी साथीका आफन्तले देख्थे र सोही कुरा प्रचार गर्थे भने उनलाई कस्तो प्रभाव पथ्र्यो होला ! फलानो कि छोरीको त लभ परेको थियो, पार्क–पार्कमा केटासँग टाँसिएर बसेकी थिई, उसको चरित्र ठीक छैन भन्ने आरोप केटी साथीलाई लाग्न सक्थ्यो । 

साथी भएर गफ गरेर बस्दा पनि समाजको संकुचित नजरले उसलाई सधैंका लागि दोषी ठान्न सक्थ्यो ।

हामीले वास्तवमै पुरातनवादी सोच बदल्न सकेका छैनौं । जबसम्म सक्दैनौं, तबसम्म केटा र केटीको सम्बन्धलाई लिएर यस्ता टीका–टिप्पणी भइरहनेछन् । समस्या थुप्रै छन् ।

एक दिनको कुरा हो, हामी ५–६ जना साथीहरु घुम्न जाने भयौं । घुमघामका क्रममा साथीहरु कमल र पूजाले त्यही  केटी साथीको कुरा काट्न थाले । अझ कमलले त मलाई छुपारुस्तमको बिल्ला भिराउनसमेत भ्याइसकेछ । कमललाई लागेछ, पार्कमा बस्ने केटी मेरो गर्लफ्रेन्ड हो भन्ने ।

उसले यो कुरा अन्य साथीहरुलाई सुनाउन भ्याइसकेछ । अझ उसले त हाम्रो फोटो कक्षामा पनि लुकेर खिचेको रहेछ । त्यो फोटो हेरेर अन्य साथीहरुले मलाई बधाइ दिइरहेका रहेछन् । त्यो देखेर अचम्म लाग्यो ।


दिदी–भाइ, दाजु–बहिनी, मामा–भान्जी, केटा साथी, केटी साथी मात्र होइन, बुबा–छोरी सँगै हिड्ँदा पनि कुरा काट्न पछि पर्दैन होला, हाम्रो समाज । देश, समाज परिवर्तन भएन, भ्रष्टाचार मौलायो, राजनीतिक स्थिरता भएन, समाजमा असमनाताले खाडल बनायो, मानिसको विचार, दृष्टिकोण, व्यवहार परिवर्तन भएन भनेर रातदिन अरुको आलोचना गरेर समय खर्चने हामीले आफूचाहिँ कति सकारात्मक र परिवर्तनशील रहेछौं ? हामीले आफैंलाई मूल्यांकन गर्न जरुरी छ ।

खगेन्द्र विक 
सुनसरी, दुहबी