close

सामाजिक सुरक्षा भत्ताः याद गर्नुहोस्, फिर्ता गर्नुपर्ला !

भत्ताबारे जान्नेपर्ने यी हुन् २० तथ्य

सामाजिक सुरक्षा भत्ताः याद गर्नुहोस्, फिर्ता गर्नुपर्ला !

भत्ताबारे जान्नेपर्ने यी हुन् २० तथ्य

Trulli
ADVERTISEMENT

काठमाडौं- २०५१ सालमा तात्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालका बेला अर्थमन्त्री भरतमोहन अधिकारीले सुरु गरेको सामाजिक सुरक्षा भत्ता अहिले पनि लोकप्रिय हुँदै आएको छ । 

 

० वर्ष कटेका वृद्धवृद्धालाई १ हजार रुपैयाँ दिएर सुरु गरिएकाे यस्तो भत्ता अहिले मासिक ४ हजार रुपैयाँ पुगिसकेको छ । संघीय शासन लागू भइसकेपछि स्थानीय तहले भत्ता वितरणको अधिकार पाएका छन् । 

 

यस्तो भत्ता वितरणमा अनियमितताका शृंखला बढेपछि सरकारले बैंकिङ प्रणालीमा लगिसकेको छ । तर, अहिले पनि कुनै स्थानीय तहले नगदै बाँडिरहेका छन् । पछिल्लो समय नुवाकोटको पञ्चकन्या गाउँपालिकामा वृद्धावृद्धालाई बाँड्न भनेर बैंकबाट झिकिएको भत्ता गोलमाल भएपछि यसको वितरण प्रणाली थप व्यवस्थित गर्नुपर्ने देखिएको छ । यस्तो भत्ता सरकारी नोकरीबाट अवकाश भएकाले भने पाउँदैनन् । 

 

सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाई व्यवस्थित बनाउन सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७२ जारी भई सोहीअनुसार यो कार्यक्रम सञ्चालन भइरहेको छ ।

 

यस्तो भत्ता पाउने समूह र वितरण प्रक्रियाबारे बुझौँ 

 

सामाजिक सुरक्षा भत्ता कुन कुन वर्ग र उमेरका व्यक्तिले पाउँछन् ?
नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लिखित उमेरलाई आधार मानिन्छ । 


कसले पाउँछन् सामाजिक सुरक्षा भत्ता ?
ज्येष्ठ नागरिकः यस्तो भत्ता कर्णालीमा ६० वर्ष पुगेको व्यक्तिले पाउँछन् भने दलित समुदायले पनि ६० वर्ष कटेपछि पाउँछन् । 

 

एकल महिलाः विवाह नगरी वसेका र ६० वर्ष कटेकाले यस्तो भत्ता पाउँछन् । त्यसैगरी विवाह गरेका तर सम्बन्ध बिच्छेद भएका ६० वर्ष माथिकालाई पनि यो भत्ता दिइन्छ । तर भत्ता लिन थालेपछि विवाह भएमा भने यो भत्रा स्वत काटिने व्यवस्था छ ।

 

विधवाः पतिको मृत्यु भएका जुनसुकै उमेरका नेपाली नागरिकताधारी महिलालाई यो भत्ता वितरण गरिन्छ । तर विवाह भएमा त्यस्ता व्यक्तिले पाउँदै आएको भत्ता स्वतः कटौती हुन्छ । 

 

पूर्ण अपाङ्गता भएका व्यक्तिः ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकले यो भत्ता पाउँछन् ।

 

अति अशक्त अपाङ्गता भएकाः ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिक ।

 

लोपोन्मुख आदिवासी/जनजाति: बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया (पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया) जातिका नागरिक ।

 

बालबालिकाः पाँच वर्ष उमेर ननाघेका कर्णालीका एक आमाका बढीमा २ जना बालबालिका, देशभरीका दलित परिवारका एक आमाका बढीमा २ जना बालबालिकाले यस्तो भत्ता पाउँछन् ।


नागरिकतामा जन्मेको वर्ष र महिना खुलेको तर गते नखुलेको अवस्थामा भत्ता दिदाँ केलाई आधार मानिन्छ ?

जन्मिएको वर्ष र महिना खुलेको तर गते नखुलेको भए उल्लिखित महिनाको मसान्त र वर्ष मात्र खुलेको वा उमेर मात्र उल्लेख भएको भए सम्बन्धित वर्षको चैत मसान्तलाई आधार मानी जन्ममिति गणना गरिन्छ । 

 

गाउँपालिका वा नगरपालिकाले जारी गरेको जन्मदर्ता प्रमाणपत्रलाई आधार मान्नुपर्छ । 

 

कुन-कुन अवस्थामा दोहोरो भत्ता लिन पाइँदैन ?

नेपाल सरकार वा सरकारको मान्यता प्राप्त संघ-संस्था तथा कम्पनीबाट तलब, भत्ता, पेन्सन वा यस्तै अन्य नाममा मासिक रूपमा रकम प्राप्त गर्नेहरूले सामाजिक सुरक्षा भत्ता लिन पाइँदैन । 

 

कुनै व्यक्ति एकभन्दा बढी लक्षित समूहमा परे त्यस्तो व्यक्तिले रोजेर कुनै एक समूहको मात्र भत्ता वा वृत्ति पाउँछन्। 

 

सामाजिक सुरक्षा भत्ता पाउनका लागि ज्येष्ठ नागरिकको हकमा हरेक आर्थिक वर्षको १५ मंसिरभित्र सम्बन्धित गाउँपालिका वा नगरपालिका कार्यालयमा निवेदन दिनुपर्दछ । तर, अन्य लाभग्राहीको हकमा जहिलेसुकै निवेदन दिन पाइन्छ । 

 

चालू आवको असार मसान्तसम्म उमेर पुग्ने नागरिक र आगामी आवको फागुन मसान्तसम्म उमेर पुग्ने ज्येष्ठ नागरिकले समेत अनिवार्य रूपमा आवश्यक कागजातसहित चालू आवको १५ मंसिरभित्र निवेदन पेस गरेको हुनुपर्दछ । १५ मंसिरभित्र निवेदन पेस नगरेमा त्यस्ता व्यक्तिले आगामी आर्थिक वर्षमा भत्ता पाउँदैनन् ।

 

कुनै व्यक्तिको प्राप्त निवेदनउपर छानबिन गरी गाउँ वा नगर सामाजिक सुरक्षा समन्वय समितिको सिफारिसमा सम्बन्धित गाउँपालिका वा नगरपालिका कार्यालयले परिचयपत्र दिने व्यवस्था छ । 

 

परिचयपत्र नभएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउन सक्दैनन् ।


सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिकले हरेक आवको १५ मंसिरभित्र आफ्नो परिचयपत्र नवीकरण गर्नका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्दछ । नवीकरण नगरे पछिल्लो आवमा भत्ताबाट वञ्चित हुनुपर्छ । 

 

सामाजिक सुरक्षा भत्ता वर्षमा कति पटक वितरण हुन्छ ? 
हरेक चौमासिकमा १ पटक अर्थात् वर्षमा ३ पटक भत्ता वितरण गरिन्छ । असोज, माघ र १ देखि १५ जेठभित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ । 

 

कुनै एक चौमासिकमा भत्ता वितरण गर्दा उपस्थित हुन नसकेको खण्डमा त्यस्तो व्यक्तिले अर्को चौमासिकमा भत्ता लिँदा पहिलाको चौमासिकको भत्ता लिन पाउँछ कि पाउँदैन ?

अघिल्लो चौमासिकको भत्ता रकम दोस्रो वा तेस्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ । तर, एक आर्थिक वर्षको भत्ता अर्को आर्थिक वर्षमा लिन सकिँदैन । 


एक आर्थिक वर्षको भत्ता अर्को आर्थिक वर्षमा वितरण गर्न नमिल्ने अर्थात् फ्रिज हुने भएकाले अघिल्लो आवको भत्ता पाउँदैनन् । त्यस्ता व्यक्तिले २० असारसम्म रकम नबुझे त्यस्तो रकम सरकारी ढुकुटी (राजस्व) मा फिर्ता हुन्छ । 

 

सामाजिक सुरक्षा भत्ता कसरी वितरण गरिन्छ ?
सामाजिक सुरक्षा भत्ता वितरण गर्ने दिन र समयमा लाभग्राही स्थानीय निकायले तोकेको मिति र स्थानमा परिचयपत्रसहित उपस्थित भई भत्ता लिनुपर्दछ । सरकारले गत वर्षदेखि सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लिने प्रावधान बसाएको छ ।

 

बैंकमा जान नसक्ने लाभग्राहीलाई भने सम्बन्धित वडा कार्यालयको सिफारिस र निजको दस्तखत/औँठाछापा प्रमाणित गराएर आफन्त वा जनप्रतिनिधिले घरमै पुर्‍याउन सक्छन् । यसमा दुरुपयोग नहुने ग्यारेन्टी भने लिनुपर्ने प्रावधान छ ।

 

बैंकमार्फत भत्ता वितरण गर्नु भनेको के हो ?

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नाममा बैंकमा व्यक्तिगत बचत खाता खोली सोही खातामा स्थानीय तहले भत्ताबापतको रकम पठाइदिने र सेवाग्राहीले आफ्नो इच्छाअनुसार रकम निकाल्न मिल्ने व्यवस्थालाई नै बैंकमार्फत भत्ता वितरण गर्नु भनिन्छ । 


लाभग्राहीले बैंकमा खाता खोल्ने क्रममा आफैं उपस्थित भई खाता खोल्नुपर्दछ । बैंक खाता खुलेपछि खातामा रकम पठाइने भएकाले रकम निकाल्न चाहेको समय बैंकमा उपस्थित हुनुपर्छ । तर, चेकमा सही गरी अन्य व्यक्तिलाई पठाएर पनि रकम प्राप्त गर्न सकिन्छ । 

 

बैंक खातामा जम्मा भएको रकम कति समयभित्र निकाली सक्नुपर्दछ ?

रकम निकाल्ने समयसीमा हुँदैन । तर, एक आर्थिक वर्षभरिमा एक पटक पनि रकम झिक्न नआउने लाभग्राहीको खाता बैंकले रोक्का गर्ने प्रावधान छ । 


बैंकमा खाता खोल्दा कुनै रकम तिर्नुपर्छ त ? 
स्थानीय तहले सम्बन्धित बैंकसँग समन्वय गरी शून्य मौज्दातमा खाता खोलिदिनुपर्दछ । तर, लाभग्राहीले आफ्नो खातामा थप सुविधा लिन चाहे बैंकको नियमानुसार हुन्छ । 

 

सामाजिक सुरक्षा कार्यक्रममार्फत प्राप्त भत्ता कुन प्रयोजनको लागि प्रयोग गर्न सकिन्छ ?

व्यक्तिले प्राप्त गरेको भत्तामाथि सम्बन्धित व्यक्तिकै अधिकार हुने भएकाले तिनले आफ्नो इच्छाअनुसार खर्च गर्न सक्छन् । तर, बाल पोषण भत्ताको रकम भने बालबालिकाका लागि आवश्यक पौस्टिक खानामा खर्च गर्नुपर्ने प्रावधान छ ।

 

कुनै व्यक्तिको भत्ता परिवारको सदस्य वा नजिकको कुनै अन्य व्यक्तिलाई हस्ते गरी दिन मिल्छ कि मिल्दैन ?

मिल्दैन । हस्ते गरी वा नगरी सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिलाई भत्ता रकम वितरण गर्न मिल्दैन । रातो कार्ड पाएका पूर्ण अपांगता भएका व्यक्तिको हकमा परिचयपत्रमा उल्लिखित निजको संरक्षकलाई तथा बालबालिकाको भत्ता निजको आमा वा अभिभावकलाई बुझाउन मिल्छ । 

 

कुन अवस्थामा भत्ता पाइरहेका व्यक्तिको लगत कट्टा हुन्छ ?
 

लाभग्राहीको मृत्यु भएमा ।
बसाइँसराइ गरी अन्यत्र गएमा ।
एकल र विधवा महिलाले अर्काे विवाह गरेमा ।
बालबालिकाको उमेर ५ वर्ष पूरा भएमा ।  झुटा विवरण पेस गरी भत्ता लिएको भन्ने पुष्टि भएमा ।
परिचयपत्र नवीकरण नगरेमा ।
स्वेच्छाले भत्ता लिन नचाहेमा (एक वर्ष भरिको कुनै पनि किस्ता रकम नबुझेमा ।

 

गलत व्यक्तिले सामाजिक सुरक्षाबापतको भत्ता रकम लिएमा वा गलत व्यक्तिलाई भत्ताका लागि सिफारिस गरेमा कुनै कारबाही हुन्छ कि हुँदैन ?

झुटो विवरण पेस गरी सामाजिक सुरक्षा भत्ता लिए निजबाट बिगोबमोजिम असुलउपर गरिन्छ । त्यसैगरी गलत व्यक्तिलाई भत्ता पाउनयोग्य भनी सिफारिस गरेमा त्यस्तो सिफारिस गर्ने पदाधिकारीलाई पनि कानुनबमोजिम कारबाही हुन्छ ।