close

रम्भामा गुड्यो कृषि एम्बुलेन्स

रम्भामा गुड्यो कृषि एम्बुलेन्स

Trulli
ADVERTISEMENT

पाल्पा- पाल्पाको रम्भा गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ । रम्भाबासीको कृषि उपज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । रम्भामा उत्पादित लिचीको प्रवर्द्धन र स्थानीय उत्पादन बिक्री गरेर किसानको मिहिनेतको प्रतिफल दिलाउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । 

 

एक साताअघिबाटै कृषि एम्बुलेन्स सञ्चालन गर्ने गाउँपालिकाको तयारी भए पनि करिडोरको ठाउँ-ठाउँमा गएको पहिरोले केही दिन ढिला भएको उनको भनाइ छ । सामाजिक सञ्जालमा लिची बिकेन भनेर हल्ला आएजस्तो नरहेको र हुँगीबासीको लिची घरघरबाटै बिक्री भइरहेको दाबी गाउँपालिका अध्यक्ष भण्डारीको छ ।

 

किसानले वर्षैभर मिहिनेत गरेर उत्पादन गरेको लिचीको बजार प्रवद्र्धनमा गाउँपालिकाले ग्यारेन्टी लिएको उनले जानकारी दिए । गाउँपालिकाको वडा नम्बर १ अर्सेदीमा सुरु गरिएको कृषि एम्बुलेन्स सेवाले स्थानीय कृषि उपज बिक्रीमा सघाउनेछ । रेफर इन्टरनेसनल र उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा कृषि एम्बुलेन्स चलाउन थालिएको हो ।

 

कृषि एम्बुलेन्स मार्फत बेँसीको उत्पादन लेकमा र लेकको उत्पादन बेँसीमा ल्याएर बजार सन्तुलन कायम गर्ने लक्ष्यअनुरूप रम्भाको हुँगी, फोकसिङकोट, ताहुँ, पीपलडाँडा, अगाहा खोलालगायत स्थानीय बजारमा कृषि एम्बुलेन्सले कृषि उपज पुर्‍याउनेछ । 


गाउँघरमा उत्पादित तरकारी, फलफूललगायत कृषि उत्पादन घरबाटै बिक्री भई राम्रो मूल्य पाउन थालिएको वडा नम्बर १ हुँगीकी कृषक कुविजा बस्याल अर्यालले बताइन् । गत वर्षसमेत सामान्य अवस्थामा उत्पादन बिक्रीका लागि छिमेकी स्याङ्जाको मालुंगगा, गल्याङलगायत बजारमा डोकोमा बोकेर लैजानुपर्ने बाध्यता रहेकामा निषेधाज्ञाको समय कृषि एम्बुलेन्स सुरु हुँदा घरबाटै उत्पादनले बजार पाउन थालेको उनी सुनाउँछिन् ।

 

गत वर्ष कोरोना महामारीका बीचमा समेत रम्भाले कृषि एम्बुलेन्स सुरु गरेको थियो । कृषको माग र कृषि कर्ममा निरन्तरता दिने उद्देश्यले कृषि एम्बुलेन्स प्रभावकारी भएको वडा नम्बर १ हुँगीका वडाध्यक्ष कृष्ण प्रसाद रेग्मीले बताए । कृषि एम्बुलेन्समार्फत लिची, आलु, कुरिलो, बन्दागोबी, खुर्सानी, सिमी, भान्टा, सागलगायत उपज संकलन गरी बिक्री हुँदै आएको छ ।