close

साकेलामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

साकेलामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको साकेला गाउँपालिकामा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना गरिएको छ । सर्वसाधारणलाई उपचारात्मक सेवा दिनेदेखि स्वस्थ जीवनशैलीबारे जनचेतना बढाउने उद्देश्यले आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले साकेलाको मानेभञ्ज्याङमा नागरिक आरोेग्य सेवा केन्द्र विस्तार गरेको हो ।

 

गत २८ वैशाखमा ऐँसेलुखर्क गाउँपालिकाको ऐँसेलुखर्क र २४ वैशाखमा केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना गरेको आयुर्वेद स्वास्थ्य केन्द्रले बुधबार साकेलामा सोही प्रकृतिको सेवा केन्द्र विस्तार गरेको हो ।

 

साकेलामा स्थापना गरिएको नागरिक आरोेग्य सेवा केन्द्र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले उद्घाटन गरे । 


कार्यालयमा १ जना वैद्य र १ जना कार्यालय सहयोगी नियुक्त गरेर गाउँपालिकाले उपलब्ध गराएको स्थानबाट नागरिक आरोग्य सेवा केन्द्रको सेवा सुरु गरिएको हो । नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ्य जीवन कार्यक्रम, योग, पञ्चकर्म, स्तनपायी आमालाई दुग्ध प्रवर्द्धक औषधी वितरण, ज्येष्ठ नागरिकको स्वास्थ्यसम्बन्धी औषधि वितरण उपलव्ध गराइने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख अजयकुमार झाले बताए । ‘विशेषतः नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा उपलब्ध हुन्छ,’ झाले भने, ‘त्यससँगै स्वस्थ रहनेबारे जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम पनि सञ्चालन गरिन्छ ।’ 


साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का, उपाध्यक्ष सरिता खड्का, प्रमुख प्रशासकीय अधिकृत रविन मगरलगायतको उपस्थितिमा आरोग्य सेवा केन्द्र उद्घाटन गरिएको हो । कोभिड–१९ महामारीका बेला भीडभाड गर्न रोक लगाइए पनि स्वास्थ्यसम्बन्धी कार्यालय भएकाले मापदण्ड पालना गर्दै आरोग्य सेवा केन्द्र उद्घाटन गरिएको हो ।

 

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश १ स्वास्थ्य निर्देशनालयअन्तर्गत आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाका ३ स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरेको जनाएको छ ।